लक्जरी पर्यटनका लागि ‘क्यासिनो’ले कस्तो भूमिका खेल्नुपर्छ ?


भैरहवा– मुलुकका सिमावर्ती सहर अहिले क्यासिनो हब बनिरहेका छन् । पश्चिम महेन्द्रनगरदेखि पूर्व मेचीसम्म सीमा क्षेत्रमा रहेका सहरमा अहिले क्यासिनो खोल्ने लहर छ । एउटा क्यासिनो सञ्चालन गर्न करोडौं लगानी हुन्छ । नाकाका सहरमा ‘क्यासिनो थाप्ना’साथ हवारह्वार्ती आम्दानी हुन्छ त ? सधैं यस्तै आम्दानी भइरहला ? वा क्यासिनो सञ्चालन परिपाटी र ग्राहक आकर्षित गर्न थप भूमिका जरुरी छ ? पर्यटन व्यवसायीबीच यही विषयमा बहस भइरहेको छ ।
लक्जरी पर्यटनको आधारका रुपमा रहेका क्यासिनोलाई उद्योग मानिन्छ । ठूलो लगानी गरिने क्यासिनोले रोजगारी पनि बृद्धि गरिरहेका छन् । त्यसो भए क्यासिनो भन्नासाथ सबै अन्तर्राष्ट्रिय स्तरकै छन् ? त्यो पनि सत्य लाग्दैन । नाका नजिक सञ्चालित अधिकांश मिनी क्यासिनो हुन् । कम्प्युटर गेमिङको अनुमति लिएका यस्ता क्यासिनोको नाम ‘मिनि’ भए पनि यिनले ठूला क्यसिनो सरह नै खेल खेलाइरहेका छन् । जुन कानून विपरीत हो । यस विषयमा सम्बन्धित नियमन निकायले ध्यान जालानजाला, त्यो एउटा पाटो रह्यो ।
अहिले बहस क्यासिनोमा आउने ग्राहकबारे केन्द्रित छ । यहाँ क्यासिनो खेल्न को आइरहेका छन् ? नेपाली नागरिकलाई प्रवेश अनुमति नभएकाले पक्कै सिमावर्ती भारतीय नागरिक क्यासिनाका मुख्य ग्राहक हुन् । अझ भन्दा नाकाबाट नजिक रहेका भारतीय सहर र गाउँबाट क्यासिनो खेल्न आउने धेरै छन् । यसबाहेक भारतका ठूला सहरबाट पनि आउँछन् । अहिले ग्राहक आउने भारतीय सहरमा वाराणसी, लखनउ, दिल्ली, सिक्किम, कोलकाता, गोरखपुर, कानपुर, पटना, बहराइच, लखिमपुर, पिलिभित मुख्य छन् ।
क्यासिनोमा आउने सबैं ग्राहक आर्थिक रुपमा सम्पन्न नरहेको स्थानीय पर्यटन व्यवसायी र नागरिक सरोकारवाला बताउँछन् । भारतका सहरमा दिनभर मजदूरी गर्ने र बेलुका सिमावर्ती नेपाली सहरमा आएर क्यासिनो प्रवेश गर्ने ग्राहक धेरै हुने गरेको स्थानीय बासिन्दा सुनाउँछन् । ‘नेपाली क्यासिनोको ध्यान सिमाबाट नजिकका भारतीय ग्राहकमा मात्र केन्द्रित भइरहेको छ,’ भैरहवाका एक पर्यटन व्यवसायीले भने, ‘भारतकै ठूला सहरबाट महंगा ग्राहक ल्याउन प्रचार–प्रसार छैन । अहिले क्यासिनोको संख्या बृद्धि भइरहेको हेर्दा नेपालमा क्यासिनो खेल्न मकाउ, दुबई, अमेरिकाबाट पनि ग्राहक आउनु पर्ने हो । त्यतापट्टि हाम्रो ध्यान पुगेको छैन ।’
रुपन्देहीलाई लक्जरी पर्यटनको हब बनाउने हो भने क्यासिनो लगायत मनोरञ्जनका क्षेत्रमा आउने ग्राहकको स्तरबृद्धि जरुरी रहेको पर्यटन व्यवसायी बताउँछन् । नेपालमा विदेशी पर्यटक लक्षित गरेर लक्जरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तत्कालीन राजा वीरेन्द्रको शासनकालमा पहिलो पटक क्यासिनो सञ्चालनको अनुमति मिलेको थियो । काठमाडौंमा सञ्चालन गरिएका क्यासिनोको उद्देश्य अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्नु रहेको पर्यटन अगुवा बताउँछन् ।
पछिल्लो समय क्यासिनो सञ्चालनको उद्देश्य स्तरीय पर्यटक आकर्षित गर्नमा सिमित रहेन । क्यासिनो सम्बन्धी कानुन, नियमावली तथा सञ्चालन प्रणालीमा गरिएका परिवर्तनले यस उद्योगको मूल अवधारणामै परिवर्तन आएको पर्यटन सरोकारवाला सुनाउँछन् ।
२०७० सालमा क्यासिनो नियमावली आएपछि निश्चित मापदण्ड पूरा गर्ने निजी क्षेत्रलाई क्यासिनो सञ्चालनको बाटो खुला भएको थियो । तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारीको कार्यकालमा इलेक्ट्रोनिक गेमिङ मेसिन (इएमजी) सेन्टर सञ्चालनको अवधारणा ल्याइएको थियो । जस अन्तर्गत करिब १० लाख रुपैयाँ दस्तुर तिरेर इजाजतपत्र लिन सकिने तथा एउटै इजाजतपत्रबाट धेरै स्थानमा गेमिङ मेसिन सञ्चालन गर्न मिल्ने व्यवस्था लागू गरिएको थियो । अगुवा पर्यटनकर्मीका अनुसार यहीँ व्यवस्थाको आडमा प्रारम्भिक उद्देश्य भन्दा बाहिर गएर ‘मिनी क्यासिनो’ सञ्चालन गर्न थालियो । पर्यटन सरोकारवाला ‘मिनी क्यासिनो’ र ‘बिग क्यासिनो’को वर्गीकरण नीतिगत रूपमा स्पष्ट नभएको र यसले बजारमा असमान प्रतिस्पर्धा रहेको बताउँछन् ।
२०८१ सालमा लागू गरिएको क्यासिनो नियमावलीमा भारतसँग जोडिएका क्षेत्रमा क्यासिनो सञ्चालन गर्न सकिने व्यवस्था छ । यसरी नाका नजिक क्यासिनो स्थापना अनुमति प्रदान गर्दा सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा सीमापार अपराध नियन्त्रणका पक्ष अध्ययन गरिएको थियो कि थिएन भन्ने प्रश्न उब्जिएका छन् । क्यासिनो सञ्चालनका लागि पहिले संघीय सरकारको प्रत्यक्ष नियन्त्रण थियो । अहिले स्थानीय सुरक्षा समितिको सिफारिसको व्यवस्था गरिएको छ ।
पर्यटन सरोकारवालाले लक्जरी पर्यटन प्रवद्र्धनका लागि स्थापना गरिएका क्यासिनोले मूल उद्देश्य अनुरुप काम गरेका छन् कि छैनन्, सीमावर्ती क्षेत्रमा क्यासिनो विस्तार गर्दा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय दायित्वबारे पर्याप्त अध्ययन गरिएको छ–छैन ? राजस्व र क्यासिनो भित्रका खेलको स्वतन्त्र अडिट किन नगर्ने ? पर्यटन ऐन तथा क्यासिनो नियमावली संशोधन गर्दा उद्योग, सुरक्षा, वित्तीय नियमन तथा अन्तर्राष्ट्रिय कानुनका विज्ञसँग पर्याप्त परामर्श गरिएको थियो कि थिएन भन्ने प्रश्न उठाइरहेका छन् ।
पर्यटन बिज्ञका अनुसार क्यासिनो उद्योग विदेशी मुद्रा आर्जन गर्ने, पर्यटन प्रवद्र्धन गर्ने तथा हजारौँलाई रोजगारी दिने क्षेत्र हो । नीतिगत सुधार, पारदर्शी नियमन, समान प्रतिस्पर्धा, सुरक्षा संवेदनशीलताको मूल्यांकन लगायतका अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना सुनिश्चित गर्नु राज्यका लागि अत्यन्त आवश्यक देखिन्छ । क्यासिनो सम्बन्धी नीति दीर्घकालीन राष्ट्रिय हित, पर्यटन विकास, राजस्व वृद्धि र अन्तर्राष्ट्रिय विश्वसनीयतालाई केन्द्रमा राखेर निर्माण गरिनुपर्ने आवाज क्यासिनो उद्योग र समग्र पर्यटन क्षेत्रमा उठिरहेको छ ।
जानाकारहरु अहिले सीमा क्षेत्रमा रहेका क्यासिनोले अधिकांश नेपाली ग्राहक प्रवेश गराउने, मिनी क्यासिनोले ठूला क्यासिनो सरह सुविधा दिएर कर छली गर्ने, लक्जरी पर्यटक भित्र्याउनुको सट्टा सीमावर्ती भारतीय बजारका गरिब तथा किसानहरु भित्र्याएर क्यासिनो खेलाउने गरेको बताउँछन् । यसबाट क्यासिनोको लक्ष्य पूरा हुने भन्दा क्षणिक लाभलाई बढवा दिइएको पर्यटन विज्ञहरु बताउँछन् । यसैले क्यासिनो नियमन गरी लक्जरी पर्यटक भित्र्याउन भूमिका खेल्नुपर्ने विज्ञको तर्क छ ।








लेखकको सम्वन्धमा