लुम्बिनी सांस्कृतिकले हटाएका कर्मचारीद्वारा अन्यायमा परेको गुनासो


भैरहवा– लुम्बिनी सांस्कृतिक नगरपालिकाले चालु आर्थिक वर्षबाट डेढ दर्जन कर्मचारीको करार नवीकरण नगरेपछि कर्मचारीले अन्यायमा परेको गुनासो गरेका छन् । चालु आर्थिक वर्षभन्दा पहिल्यै करारमा नियुक्त गरिएका कर्मचारीलाई सेवाबाट नहटाउन संघीय सरकारले निर्देशन दिए पनि नगरपालिकाले त्यस विपरित कामबाट हटाएको उनीहरुको भनाई छ ।
चार महिना अघिसम्म दरबन्दीमा रहेका कर्मचारीलाई रातारात सेवाबाट मुक्त गरिएको भन्दैं उनीहरुले न्यायका लागि गुहारेका हुन् । पीडित कर्मचारीका अनुसार ४ महिना अघिसम्म दरबन्दीमा नरहेका कर्मचारीलाई अहिले दरबन्दीमा पारेर नियमित गरिएको छ । यसले पाँच वर्षदेखि नगरपालिकामा रातदिन नभनी सेवा गरेका स्थानीय मर्कामा परेको पीडित कर्मचारीले सुनाए । पुराना करार कर्मचारीलाई सेवाबाट नहटाउन संघीय सरकारले निर्देशन गरिसकेको छ । तर, पालिकाले चालु आर्थिक वर्षबाट सेवामा नरहने गरि डेढ दर्जन कर्मचारी हटाएको थियो ।
‘हामी दरबन्दीमै थियौं, नियम अनुसार काम गरिरहेका थियौं,’ सेवाबाट हटाइएका एक कर्मचारीले भने, ‘तर, आफू निकट कर्मचारीलाई सेवामा निरन्तरता दिन हामीलाई पूर्वाग्रहसाथ हटाइयो । यसबाट हामीमाथि अन्याय भयो ।’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका निर्वाचित प्रमुख सजरुद्दिन मुसलमानको हृदयघातबाट निधन भएपछि उपप्रमुख कल्पना हरिजन अहिले कार्यबाहक मेयर छन् । अहिले हटाइएका कर्मचारी मुसलमान निकट मानिन्छन् । मुसलमान कांग्रेसबाट निर्वाचित थिए । उपप्रमुख हरिजन एमालेबाट निर्वाचित हुन् ।
निस्किाषित कर्मचारीले आफूहरुमाथि पूर्वाग्राह राखेर सेवाबाट निकालिएको आरोप लगाएका छन् । उनीहरुलाई गत असार ३२ गते राति सेवाबाट हटाएको जानकारी गराइएको थियो । ‘चार महिना पहिले दरबन्दीमा नरहेका कर्मचारीले भनसुन र प्रभावमा पारेर नियुक्ति लिन सफल भए,’ अर्का पीडित कर्मचारीले भने, ‘हामीलाई स्पष्टिकरणको अवसर पनि नदिएर सेवाबाट हटाइयो ।’ आफूहरु दरबन्दीमै रहेको भन्दैं ढृुक्क भएर बस्दा अन्यायमा परेको उनको भनाई छ ।
गत असार ३२ गते राति ८ बजेर ४० मिनेटमा नगरपालिकाबाट सेवामा नरहने जानकारी गराइएको ती कर्मचारीले सञ्चारकर्मीलाई बताए । अहिले पीडित कर्मचारी न्यायका लागि भौतारिरहेका छन् ।








लेखकको सम्वन्धमा