August 4, 2026, Tuesday
२०८३ श्रावण २० बुधबार

कांग्रेसले बनायो विपद् व्यवस्थापनका लागि ‘एसआरटी’

Advertisement

भैरहवा– नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ ।

Advertisement

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तीनदिने पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापन समारोहमा एसआरटी टोली गठनको घोषणा गरिएको हो ।

प्रशिक्षणमा देशभरबाट सहभागी ४० जना युवालाई विपद्का बेला उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

समापन कार्यक्रममा प्रतिष्ठान प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपदमा परेका नागरिकको जीवन बचाउने अभियानको यो सुरुवात भएको उल्लेख गर्दै प्रशिक्षित युवाहरूलाई सेवाभावका साथ सक्रिय हुन आग्रह गरे । उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का समाचार सुन्ने र हेर्ने अवस्थाबाट अघि बढेर पीडितको उद्धार र पुनर्स्थापनामा प्रत्यक्ष योगदान दिने दक्ष जनशक्ति तयार भएको बताए ।

शर्माले नेपाली कांग्रेसले देशभर यस्ता एक हजार दक्ष विपद् स्वयंसेवक उत्पादन गर्ने लक्ष्य राखेको पनि जानकारी दिए । प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आबद्ध ११ जना विपद् विज्ञले सहजीकरण गरेका थिए ।

प्रशिक्षकका रूपमा पिताम्बर अर्याल, भोजराज घिमिरे, सुशील पण्डित, तिवेन्द्रराज बाँस्कोटा, रामप्रसाद भट्टराई, सुरेश पण्डित, भूपमणि दाहाल, कल्पना रावल, सौरभ निरौला र लक्ष्मण माली सहभागी थिए ।

कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाका अनुसार प्रशिक्षणमा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार र प्रतिकार्यसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको थियो ।