June 22, 2026, Monday
२०८३ असार ८ सोमबार

अफिमसहित बर्दियामा दुई महिला पक्राउ


बर्दिया–बर्दियाको बाँसगढी नगरपालिकाबाट दुई जना महिला लागूऔषध अफिमसहित पक्राउ परेका छन् । उनहिरुबाट १५ किलोग्राम ३४० ग्राम अफिम बरामद भएको छ ।

Advertisement

लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका-४ निवासी ३० वर्षीया सन्ध्या घर्ती र बाँसगढी नगरपालिका- ३ बस्ने ४२ वर्षीया मिना रोकाय रहेको प्रहरीले जनाएको छ । बाँसगढी नगरपालिका–३ उत्तरभकारीमा अफिमको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई अफिम सहित फेला पारेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेकामध्ये एक जनाले कोहलपुरबाट अफीम ल्याउने र अर्की महिलाले उक्त अफिम भारतसम्म पुर्‍याउने कार्यमा संलग्न रहँदै आएको अनुमान गरिएको छ ।

उनीहरूको साथबाट दुई थान मोबाइल र ३४ हजार नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाका बारेमा थप कानुनी अनुसन्धान अघि बढाएको र दुवै महिलालाई आवश्यक कारबाहीका लागि हाल इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको प्रहरीको भनाइ छ ।