June 11, 2026, Thursday
२०८३ जेष्ठ २९ शुक्रबार

चुस्त व्यवस्थापन र नियमित खेलले क्रिकेटको उभार

Advertisement

मैले करिब एक दशकयता नियमित रुपमा रुपन्देही क्रिकेट संघले आयोजना गर्ने क्रिकेट प्रतियोगिता, सिद्धार्थ रंगशालाको निर्माणको कार्यप्रगती, खेलाडी तथा यहाँ हुने राष्ट्रिय क्रिकेट खेलहरुबारे रिपोर्टिङ गर्दै आएको छु । यसले मलाई क्रिकेट मात्रै बुझाएको छैन, क्रिकेट संघसँग आबद्ध विभिन्न पदाधिकारी तथा सदस्यहरुको व्यवस्थापकीय क्षमता, लगाव र पारदर्शिता यावत् कुरा बुझ्न पाएको छु । त्यो भन्दा बढी सिद्धार्थ रंगशाला र रुपन्देही क्रिकेट संघको परिवर्तन नियाल्न पाएको छु ।

Advertisement

पूर्वाधार निर्माणदेखि खेलाडी उत्पादनसम्म संघले खेलेको भूमिका अहिले प्रशंसनीय बन्दै गएको छ । संघका अध्यक्ष हरिबहादुर थापा र उनको टिमले पछिल्ला वर्षहरुमा रुपन्देही क्रिकेटको विकासलाई व्यवस्थित, अनुशासित र दीर्घकालीन बनाउने प्रयास गरेका छन् । वर्तमान नेतृत्वले मात्र होइन, पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारीहरुले पनि रुपन्देही क्रिकेटको जग बसाल्न महत्वपूर्ण योगदान दिएका छन् । उनीहरुले सीमित स्रोतसाधनका बीच क्रिकेटलाई निरन्तरता दिँदै अहिलेको अवस्थामा ल्याउन भूमिका खेलेका थिए । वर्तमान कार्यसमितिले त्यही आधारलाई थप सुदृढ बनाउँदै आधुनिक व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिएको देखिन्छ ।

नेपालमा पछिल्लो समय क्रिकेटप्रतिको आकर्षण तीव्र रुपमा बढिरहेको छ । राष्ट्रिय टोलीको सफलतासँगै जिल्ला स्तरमा पनि क्रिकेटको संरचना विस्तार हुँदै गएको छ । यही परिवेशमा रुपन्देही क्रिकेट संघले रुपन्देहीलाई क्रिकेटको उर्वर भूमि बनाउने दिशामा उल्लेखनीय काम गरिरहेको छ भन्न मलाई कुनै कन्जुस्याइँ गर्नु पर्दैन ।

मलाई याद छ, मैदानमा खेलिरहेका खेलाडीलाई पिउने पानी नभएर आफ्नो खल्तीबाट पैसा निकालेर पानी किन्न पठाएर ल्याएर दिने काम पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले गर्नुभएको थियो । सबै ठाउँ हात जोडेर हारगुहार गर्दै संरचनागत सुधार मात्रै होइन्, उहाँले खेलाडी उत्पादनमा समेत टेवा दिनुभयो । यस्तै जगका कारण सिद्धार्थ रंगशाला र क्रिकेट संघ दरिलो हुँदै गयो । अहिले धेरै नै मजबुत भइसकेको छ ।

हरिबहादुर थापा नेतृत्वको टीमले मैदानको संरक्षण र स्तरोन्नतिमा विशेष ध्यान दिएको मैले पाएको छु । मैदानलाई व्यवस्थित बनाउने, खेल सञ्चालन योग्य राख्ने तथा दीर्घकालीन उपयोगका लागि संरक्षण गर्ने कामले जिल्लाको क्रिकेट वातावरणलाई थप सकारात्मक बनाएको छ । विशेषगरी पिच निर्माण, संरक्षण र व्यवस्थापनमा गरिएको सुधारले खेलाडीहरुलाई गुणस्तरीय अभ्यास गर्ने अवसर प्रदान गरेको छ । आकर्षक र व्यवस्थित पिच निर्माणले प्रतियोगिताको स्तर पनि उकासिएको छ । यही कारण यहाँ लगातार प्रधानमन्त्री कप जस्ता राष्ट्रिय प्रतियोगिता भएका छन् । पाकिस्तान, बंगलादेश, भारत जस्ता देशका क्लबहरु पनि यही मैदानमा आएर क्रिकेट खेलेका छन् । यसले रंगशालाको गरिमा र क्रिकेट संघको व्यवस्थापनलाई थप उचाईमा पुर्याएको छ ।

मैदानको सुरक्षाका लागि तारबार तथा गेट निर्माण गरिएको छ । यसले खेल मैदानलाई सुरक्षित राख्नुका साथै व्यवस्थित वातावरण सिर्जना गर्न सहयोग पुगेको छ । क्रिकेट मैदान अब केवल खेल्ने ठाउँ मात्र नभई खेल संस्कृतिको केन्द्रका रुपमा विकास हुँदै गएको अनुभूति गर्न सकिन्छ । यसको श्रेय पूर्वपदाधिकारीहरुलाई जान्छ नै, त्यो भन्दा बढी वर्तमान अध्यक्षसहितको कार्यसमितिलाई ।

म पछिल्लो दुई वर्षदेखि संघको सल्लाहकार भएर काम गरिरहेको छु । मेरो अनुभवले भन्छ, नेपालमै जिल्लास्तरमा यतिधेरै प्रतियोगिता गराउने, चुस्त व्यवस्थापन, पारदर्शिता र कुशलता भएको नेतृत्व रुपन्देही मात्रै हुनुपर्छ । पछिल्लो कार्यकालमा रुपन्देही क्रिकेट एकेडेमी संचालनमा ल्याइएको छ, जसले जिल्लामा क्रिकेट प्रतिभा उत्पादनको काम गरिरहेको छ । अहिले एकेडेमीमा १ सय ५० भन्दा बढी प्रशिक्षार्थी नियमित प्रशिक्षणमा आबद्ध छन् । बालबालिका र युवाहरुलाई सानै उमेरदेखि व्यवस्थित प्रशिक्षण दिने उद्देश्यले नियमित कोचको व्यवस्था गरिएको छ । प्रशिक्षकमार्फत आधारभूत सीपदेखि प्रतिस्पर्धात्मक क्रिकेटको तयारीसम्म गराइने भएकाले रुपन्देहीबाट भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन हुने सम्भावना बलियो बन्दै गएको छ । विपन्नलाई निःशुल्क प्रशक्षिणको व्यवस्था समेत छ । यसले संघको गरिमा झन माथि उठाएको छ ।

एकेडेमी सञ्चालनमा नियमितता र अनुशासन कायम गर्न संघले व्यवस्थापकीय पक्षलाई पनि मजबुत बनाएको छ । संघको कार्यालयमा सीसी टिभी जडान गरिएको छ, जसले कार्यालय व्यवस्थापनलाई पारदर्शी र सुरक्षित बनाउन सहयोग पु¥याएको छ । आधुनिक व्यवस्थापन प्रणालीको प्रयोगले खेल प्रशासनप्रति विश्वास बढाएको छ । रुपन्देही क्रिकेट संघले खेलाडीहरुको मनोबल बढाउन आर्थिक प्रोत्साहनलाई पनि प्राथमिकतामा राखेको छ । नियमित खेलाडीहरुलाई पारिश्रमिक उपलब्ध गराउने व्यवस्थाले खेलाडीहरुलाई थप व्यावसायिक रुपमा क्रिकेटमा केन्द्रित हुन प्रेरित गरेको छ । नेपालजस्तो देशमा जिल्ला स्तरमै खेलाडीलाई पारिश्रमिक उपलब्ध गराइनु चानचुने कुरा होइन्, यो सकारात्मक र साहसिक हो जस्तो मलाई लाग्छ । यसले अभिभावक र खेलाडी दुवैमा क्रिकेटप्रति भरोसा बढाएको छ । यतिमात्र होइन्, रुपन्देही क्रिकेट संघको गरिमा र नेतृत्वको पहिचान स्थापित समेत गरेको छ ।

जिल्लामा क्रिकेट संस्कृतिलाई विद्यालय र कलेज तहसम्म विस्तार गर्न नियमित प्रतियोगिताहरु आयोजना गरिँदै आएको छ । विद्यालयस्तरीय, कलेजस्तरीय तथा सुपरलिग प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न ठूलो भूमिका खेलेका छन् । प्रतिस्पर्धात्मक वातावरणले खेलाडीहरुमा आत्मविश्वास, अनुशासन र खेलप्रतिको समर्पण बढाएको छ । स्थानीय स्तरका प्रतियोगिताले दर्शकको आकर्षण समेत बढाएको छ ।

महिला क्रिकेटको विकासमा पनि रुपन्देही क्रिकेट संघको सक्रियता उल्लेखनीय छ । महिला खेलाडीहरुलाई प्रशिक्षण, अवसर र प्रोत्साहन उपलब्ध गराउँदै महिला क्रिकेटलाई अघि बढाउने प्रयास गरिएको छ । अझ महिला खेलाडीहरुलाई प्रशिक्षण तथा खेलका लागि आउजाउ गर्न गाडी भाडासम्म सुविधा उपलब्ध गराइएको छ । यसले महिला खेलाडीहरुलाई सहज वातावरणमा क्रिकेट खेल्न प्रेरणा दिएको छ । ग्रामीण क्षेत्रका प्रतिभावान खेलाडीहरुका लागि यस्तो सहयोग निकै महत्वपूर्ण मानिन्छ ।

रुपन्देही क्रिकेटको वर्तमान अवस्था हेर्दा यो केवल एउटा जिल्ला खेल गतिविधिमा सीमित नरही समग्र नेपाली क्रिकेट विकासको आधार क्षेत्र बन्दै गएको देखिन्छ । नेतृत्वको सक्रियता, पूर्वाधार विकास, खेलाडीमैत्री वातावरण, नियमित प्रशिक्षण तथा प्रतियोगिताले रुपन्देहीलाई राष्ट्रिय रुपमा दरिलो तरिकाले स्थापित गरिसकेको छ, अझ भन्ने हो भने रुपन्देही क्रिकेटमा उभारै ल्याइरहेको छ ।

स्थानीय, प्रदेश र संघ सरकारको ध्यान खिच्ने काम गरिरहेको संघले पछिल्लो समय निजी क्षेत्रको पनि राम्रो साथ पाएको छ । जसले गर्दा वर्षा यामबाहेक अन्यत्र समयमा नियमित प्रतियोगिता भइरहेका छन् । सिंगो कार्यसमितिले यसमा निरन्तर मिहिनत गरिरहेका छन् । जसले गर्दा आज रुपन्देहीको क्रिकेटको गरिमा मुलुकमै एक नम्बरमा छ । जिल्लामा क्रिकेटप्रतिको बढ्दो मोह, संघको दूरदृष्टि र खेलाडीहरुको मिहिनतले रुपन्देहीको क्रिकेटलाई नयाँ उचाई प्राप्त भएको छ । यही कारण जिल्लाले कयौं अब्बल खेलाडी उत्पादन गरिरहेको छ ।
(साभारः रुपन्देही क्रिकेट संघको विशेषांकबाट ।)