July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

यस क्षेत्रका ठूला योजना प्रभावकारी संचालनमा पहल गर्छुः उपाध्यक्ष शर्मा

Advertisement

भैरहवा– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले रुपन्देही लगायत आसपास क्षेत्रमा निर्मित ठूला परियोजनाको प्रभावकारी सञ्चालनका लागि पहलकदमी गरिने बताएका छन् ।

Advertisement

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले ती परियोजनाको सञ्चालनका लागि सवै व्यवसायीको सुझाव पनि समेटिने बताए ।

बिशेष आर्थिक क्षेत्र (सेज), एकीतृत जाँचचौकी (आईसीपी) तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका ठूला परियोजनाको प्रभावकारी सञ्चालनका लागि व्यवसायीहरुको सुझावलाई समेटेर आफूले सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

‘विजय भएर मात्रै खुसी हुने अवस्था छैन, काम धेरै छन् र ती चुनौती समयमै समाधान गर्न आवश्यक छ’, उनले भने, ‘ती परियोजनाहरुको समयमैं प्रभावकारी ढंगले सञ्चालन गर्नु अहिलेको प्रमुख चुनौती र आवश्यकता हो ।’

महासंघको निर्वाचनमा आफ्नो विजयीप्रति टिप्पणी गर्दै उनले विजयहासिल गर्नु मात्रै उपलब्धि नभई अब उद्योगी व्यवसायीका समस्या समाधान गर्न थप जिम्मेवारी बढेको बताए ।

महासंघको एसोसिएटतर्फ निर्बाचित केन्द्रीय कार्यकारिणी समिति सदस्य सुरज उप्रेती, यज्ञप्रसाद भट्टराई, हरिप्रसाद अर्याल, मोहन श्रेष्ठ, केशव भण्डारी तथा उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतले बोल्दै उद्योगी व्यवसायीहरु एकढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

उनीहरुले सरकारसँग सहकार्य गर्दै उद्योग व्यवसायका समस्या समाधानका लागि एकजुट भएर पहल गर्नुपर्नेमा जोड दिए । बलियो सरकार बनेकाले निजी क्षेत्रको मनोबल उकास्नु पर्ने उनीहरुको भनाई छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सबैको मिहिनत र एकताका कारण निर्वाचनमा सफलता हासिल गर्दै इतिहास रच्न सम्भव भएको बताए । आगामी दिनमा पनि व्यवसायीहरुको हकहितका लागि साझा प्रयास आवश्यक रहेको उनले औंल्याए । संघका महासचिव कृष्णप्रसाद घिमिरेले केन्द्रीय नेतृत्वका रुपन्देही र आसपासका छिमेकी जिल्लाहरुबाट धेरैजनाको प्रतिनिधित्व भएकाले यस क्षेत्रका समस्या बढी मात्रामा उठान हुने विश्वास व्यक्त गरे ।