June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

भीम अस्पताललाई स्तरोन्नती गरेर दुई सय बेडको बनाइने छः नेकपा उम्मेदवार खाँन

Advertisement

भैरहवा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही–३, का उम्मेदवार फैंज अहमद खाँनले यस क्षेत्रको स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै उनले भैरहवास्थित भीम अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउने योजना सुनाए । अहिलेको ५० शय्याबाट विस्तार गरी दुई सय पुर्याउने उनले प्रतिवद्धता जनाए ।

Advertisement

भीम अस्पतालमा रुपन्देहीका विभिन्न पालिकाबाट दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेकाले यसको स्तरोन्नती जरुरी रहेको खाँनले बताए । पछिल्लो समय बिरामीको चाप अत्यधिक बढे पनि आवश्यक जनशक्ति, उपकरण र व्यवस्थापनको अभावले सेवा प्रभावकारी हुन नसकेको उनको भनाई छ । ‘बिरामीले पाउनुपर्ने उपचार, सुविधा र सम्मानजनक सेवा अहिलेको अवस्थामा सम्भव हुन सकेको छैन,’ उनले भने, ‘दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको कमी छ ।’

अस्पताल व्यवस्थापन सुधार गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनले स्पष्ट पारे । प्रसुति गृहदेखि आकस्मिक सेवासम्म सुधार गर्दै अनुभवी चिकित्सक भित्र्याउने योजनामा रहेको उनल बताए । ‘दुर्घटना हुँदा घाइतेहरू सबैभन्दा पहिले भीम अस्पताल नै आउँछन् । तर कर्मचारी अभावका कारण आकस्मिक सेवा सुस्त छ,’ उनले भने, ‘त्यसैले जनशक्ति वृद्धि गरी छिटो र प्रभावकारी सेवा प्रवाहमा मेरो जोड रहनेछ ।’

भरपर्दो स्वास्थ्य सेवाका लागि आधुनिक उपकरण, प्रयोगशाला परीक्षण सुविधा विस्तार, सुलब दरमा उपचार व्यवस्था तथा औषधि उपलब्धता सुनिश्चित गर्ने उनले प्रतिबद्धता जनाए । साथै अस्पतालमा बेड संख्या वृद्धि, इमर्जेन्सी सेवा सुदृढीकरण र स्वास्थ्य पूर्वाधार सुधारलाई आफ्नो चुनावी एजेन्डामा समेटिएको उनले बताए ।

स्वास्थ्य नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै खाँनले भने, ‘जनताले सहज, सुलभ र गुणस्तरीय उपचार पाउनुपर्छ । त्यसका लागि म जनताको बीचमै रहेर काम गर्नेछु ।’ यही उद्देश्यसहित आफूले रुपन्देही–३ बाट उम्मेदवारी दिएको उनले स्पष्ट पारे । चुनावी माहोल तातिँदै जाँदा खाँनको स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी एजेन्डाले मतदाता माझ सकारात्मक सन्देश गएको पार्टीको दावी छ ।

सरकारी विद्यालय सुधार गरेर भैरहवालाई शैक्षिक हव बनाइनेछ: फैज अहमद खान

‘भैरहवालाई अन्तर्राष्ट्रिय सहर बनाउँछु’