समृद्ध क्षेत्र नम्बर १ मेरो प्राथमिकताः राप्रपा उम्मेदवार बोहरा


धकधई– राष्ट्रिय पजातन्त्र पार्टी (राप्रपा), रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त)ले समृद्ध क्षेत्र आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । लामो समयदेखि क्षेत्रगत राजनीतिमा सक्रिय बोहराले सम्भावना भएर पनि पर्याप्त विकास हुन नसकेको क्षेत्र नम्बर १ लाई हरेक हिसावले अग्रणी बनाउने योजनासहित आफू निर्वाचनमा होमिएको बताए ।
आफ्नो बुवा स्वर्गीय दीपक बोहराले क्षेत्रमा गरेको विकास स्मरण योग्य रहेको जनाउँदै उनले थप विकास र जनअपेक्षा पूरा गर्न आफू लागि परेको जनाए । उनले क्षेत्रमा सबैभन्दा समस्या पूर्वाधारको रहेको बताए । ‘यहाँका सडक संजाल ध्वस्त छन्, धेरै ठाउँमा कालोपत्रे नै छैन, भएका ठाउँमा पनि उप्किएको छ’, उनले भने, ‘यी समस्याले गर्दा क्षेत्रका बासिन्दाले निकै कष्ट ब्यहोर्नु परेको छ । म यो समस्या समाधान गर्न चाहन्छु ।’
उनले जहाँ जाँदा पनि आफ्ना बुवा दीपक बोहरालाई सम्झिने मतदाता भेटिने गरेको सुनाए । ‘भैलोभुज होस् वा सडक पूर्वाधार, शिक्षा होस् वा स्वास्थ्य बुवाले यो क्षेत्रमा काम गर्नु भएको छ । विद्यालयका भवन निर्माणमा योगदान दिनुभएको छ’, उनले भने, ‘बुवाले यो क्षेत्रलाई थप समृद्ध बनाउने सोंच राख्नुभएको थियो, म त्यो सोंच पूरा गर्न चुनावमा होमिएको हुँ ।’
बोहराले यो क्षेत्रमा राप्रपाको संगठन समेत बलियो भएकाले आफूहरुलाई निर्वाचन परिणाम पोल्टामा पार्न समस्या नहुने आँकलन गरिएको जनाए । ‘यहाँबाट यसअघि जितेकाले झुटा आश्वासन बाँडे, अहिले पनि धेरैले यस्तै आश्वासन बाँडिरहेका छन्’, उनले भने, ‘म झुटा कुराहरुमा विश्वास गर्दैनँ । जे गर्न सकिन्छ, जति सकिन्छ त्यो भन्ने हो बुझाउने हो र गर्ने पनि हो ।’
उनले आफूले निर्वाचन जितेमा कुनै पार्टी विशेषलाई काखा र पाखा नगराउने प्रतिबद्धता समेत व्यक्त गरे । ‘निर्वाचनमा कुनै पार्टीबाट उम्मेदवार बन्छौं’, उनले भने, ‘जितेपछि सबै एक ठाउँ भएर क्षेत्रगत विकासमा लाग्नुपर्छ ।’ मतदाताको घरघरमा पुग्दा आफूमा दैनिक रुपमा झनपछि झन खुशी थपिँदै गएको उनले जनाए ।








प्रतिकृया दिनुहोस्