मर्चवारका बासिन्दा भन्छन्- चुनावमा ‘झुटा वाचाको नवीकरण’


मर्चवार– रुपन्देहीको मर्चवारबाट चुनाव जित्ने जनप्रतिनिधिले सधैं धोका दिने गरेको स्थानीय बासिन्दाले दुखेसो पोखेका छन् । प्रत्येक निर्वाचनमा उम्मेदवारले गर्ने वाचा सधैं अधुरै हुने उनीहरुको भनाई छ । प्रत्येक निर्वाचनमा उम्मेदवार फेरिए पनि मर्चवारका चुनावी मुद्दा एउटै छन् ।
मर्चवारका बासिन्दाले यसपाली पनि घरदैलोमा आएर उम्मेदवारले झुटा वाचा गर्ने बताउँछन् । उम्मेदवारका लागि निर्वाचन ‘झुटा वाचा’ नविकरण गर्ने अवसर भएको उनीहरुको भनाई छ । स्थानीयदेखि अहिलेसम्मका संसदीय चुनावमा उम्मेदवार बनेका व्यक्तिले मतदान हुने दिनसम्म आधारभूत आवश्यकतादेखि गाउँको आधुनिक बिकास गर्ने वाचा गरे पनि पूरा नगरेको दुखेसो उनीहरुले पोखे । यसपटक पनि त्यस्तै वाचा दोहोरिने भएकाले उम्मेदवारप्रति खासै चासो नलागेको उनीहरुको भनाई छ ।
‘मर्चवार पहिले जस्तो थियो, अहिले पनि त्यस्तै छ,’ कोटहीमाई–५, का ७५ वर्षीय प्रेम हरिजनले भने, ‘बहुदल आएको ३० वर्षमा पटकपटक मर्चवारको बिकास गर्छौं भनेर नेताले भोट खाए, तर अहिलेसम्म हाम्रो हालत खराब छ ।’ शुक्रबार मध्यान्ह उनी कोटहीमाई गाउँपालिकाको केन्द्र मझगाँवाको पान पसलमा बसेका थिए । मर्चवारको मुख्य सडकसित पसल जोडिएको छ । राणा र पञ्चायकालदेखिको प्रमुख सडक अहिले पनि जीर्ण छ । एक दशक अघि पिच गरिएको एक लेन सडक भत्किएर धुजा–धुजा भइसकेको छ । बुङ–बुङ धुलो उड्छ ।
यो सडक मर्चवारको अवस्था बताउने ऐनाका रुपमा छ । सडक दायाँ–बायाँ प्रशस्त खेतियोग्य जमिन छ । अहिले गहुँ हुर्किरहेको छ । स्थानीयले तोरी भित्र्याइरहेका छन् । ‘खेतीपाती गरेर वर्षमा ६ महिना गुजारा चलाउछौं,’ उनले भने, ‘नेताले खेति गर्ने मल र सिंचाई व्यवस्था गर्छौ भनेको वर्षौ भयो, अहिलेसम्म पूरा गर्न सकेका छैनन् ।’ प्रत्येक निर्वाचनमा उम्मेदवारले मल, बीउ र सिंचाई समयमै उपलब्ध गराउने विषयलाई एजेण्डा बनाउँदैं आएका छन् । अहिलेसम्म यहाँका स्थानीय बासिन्दा चोरेर ल्याएको भारतीय राससायनिक मलमा निर्भर छन् ।
मर्चवारको सम्मरीमाई–६, बेलहवाका ३२ वर्षीय अर्जुन यादव आफू जान्ने भएदेखि मर्चवारको मूल सडकको अवस्था ज्यूाका त्यूँ रहेको बताउँछन् । उनका अनुसार अहिले सडकको अवस्था झन खराब भएको छ । एक दशक अघि पिच गरिएको थियो । पिच गरिएको केही समयमै भत्कियो । ‘सडक साँघुरो छ,’ उनले भने, ‘दिनदिनैं दुर्घटना भइरहेका छन् ।’ प्रत्येक निर्वाचनमा प्रचारको एजेण्डा बनाउन पनि जनप्रतिनिधिले बाटो सुधार नगरेका हुन कि भनेर शंका लाग्न थालेको उनले बताए । ‘गाउँमा शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था छैन,’ उनले भने, ‘कोही बिरामी पर्यो भने उपचार गर्न बुटवल र भैरहवा लैजानुपर्छ ।’
मर्चवारीमाई–३, मधुवनियाका अवकाश प्राप्त शिक्षक मोतिलाल यादव नेताले हरेक चुनावमा मर्चवार पिछडिएको भन्दैं भोट माग्ने गरेको बताउँछन् । ‘बिकास किन नगरेको हो भनेर मतदाताले उम्मेदवारलाई सोध्दैनन्,’ उनले भने, ‘नेता पनि यहाँ बिकास गर्नुपर्छ भनेर गम्भीर छैनन् ।’ निर्वाचनका बेला सुरुमा प्रचार गरे पनि अन्तिममा ‘पैंसा बाँडेर’ चुनाव जित्ने परम्परा रहेको उनले बताए । प्रभाव र प्रलोभनका कारण मतदाताले बुथमा गएपछि मात्रै अह्राए अनुसार मतदान गर्दै आएको उनले बताए । ‘मर्चवारमा कल, कारखाना, उद्यम केही छैनन्,’ उनले भने, ‘अनि नेताले कहाँ रोजगारी दिउन, यहाँका युवा जति मजदूरी गर्न बिदेश गएका छन् ।’
उनका अनुसार मर्चवारको सबैभन्दा ठूलो समस्या सडक हो । जनसंख्याको चाप बढे पनि अहिलेसम्म सडक एक लेन मात्र छ । ‘गतिलो स्कुल र अस्पताल छैन,’ उनले भने, ‘कोही बिरामी पर्यो भने कि बुटवल–भैरहवा लैजानु पर्छ । नत्र भारतको कोल्हवी र गोरखपुर पुर्याउनु पर्छ ।’ यहाँबाट चुनाव जितेपछि जनप्रतिनिधि काठमाडौंमै बस्छन् । संघीय राजधानीसम्म यहाँका बासिन्दाको पहुँच नभएको उनले बताए । ‘नेताले वाचा पूरा गर्दैनन्,’ उनले भने, ‘हामी नेतासम्म पुग्न सक्दैनौं ।’ यसपटक उम्मेदवारप्रति आशा भन्दा पनि धेरै गुनासा रहेको उनले बताए ।








प्रतिकृया दिनुहोस्