August 22, 2026, Saturday
२०८३ भाद्र ७ आईतवार

कथाः ऐना

Advertisement

आज बैठककोठा सफा गर्ने क्रममा कागजको त्यो प्याकेट हात परेको थियो । त्यसभित्र अनुहार मात्र देखिने एउटा बाटुलो ऐना थियो । हेर्दा साधारण जस्तो तर अलि पुरानो देखिन्थ्यो । विनयले त्यस्तो ऐना पनि के किनेर ल्याएको होला, आश्चर्य लाग्यो । मैले त्यसलाई बैठककोठाको साइड टेबुलमाथि राखें । पछि उसलाई सोध्दा थाहा भयो, उसको साथीले दिएको रे । दिएको भनेकोले थप केही सोधिनँ । त्यसमाथि, ल्याएदेखि उसले त्यसको खासै खोजखबर पनि राखेन ।

Advertisement

विनयसँग आफ्नै छुट्टै ऐना भएकोले ऊ यसको प्रयोग गर्दैनथ्यो । कहिलेकाहीँ त्यो ऐना राखेको ठाउँतिर उसका आँखा गए पनि ऊ तुरुन्तै नजर फेरिहाल्थ्यो ।

आज साँझ विनयले बाहिर खाना खाने भनेको थियो । त्यसैले त्यही ऐनासामु बसेर मेकअप गर्न थालें । ऐनामा आफूलाई अलि बढी राम्री देखिरहेकी छु जस्तो लाग्यो । आफ्नै रूपले सम्मोहित गरेझैँ ऐनाबाट अनुहार हटाउनै मन लागेन ।

निस्कने बेला विनय मतिर हेर्दै मुस्कायो, केही बोलेन । सोचेकी थिएँ, उसले मेरो सुन्दरताको खुब प्रशंसा गर्नेछ । ऊ तारिफ गर्ने मान्छे थिएन । यस्तो अवस्थामा मैले ऊबाट त्यसरी अपेक्षा गर्नु व्यर्थ थियो ।

डिनरबाट फर्केर उसले भन्यो, “भोलि मलाई जरुरी मिटिङका लागि पोखरा जानुछ । पर्सि साँझ मात्र फर्कन्छु ।”

उसका यस्ता अपर्झट मिटिङहरू परिरहन्थे । मैले यसलाई सामान्य रूपमा लिएँ । बरु भ्याएमा उसलाई पोखरामा दिदीकहाँ पनि जान भनें ।

ऊ गएपछि घरै एक्लो भयो । बिदाको दिन, त्यसै बस्नुभन्दा साथीको घर जाने सोचें । तयार भएर बैठककोठाको ऐनामा आफूलाई हेरें । आँखीभौंमाथि देखिएको दाग हटाउन खोजें तर छाम्दा केही थिएन । ऐनाको दाग ठानेर मैले कपडाले पुछें, त्यहाँ पनि केही लागेको थिएन । ऐनाको आफ्नो प्रतिबिम्बमा भने अझै पनि आँखीभौंमाथि दाग देखिन्थ्यो ।

छक्क पर्दै मैले बाथरुमको ऐनामा हेरें । त्यसमा अनुहार सफा थियो ।

ऐनाको खराबी हो कि केवल दृष्टिभ्रम छुट्याउनै सकिनँ । अन्यौलमा मैले फेरि बैठक कोठाको ऐना हेरें । यसपटक अनुहार दागरहित थियो ।

साथीकहाँ बसुन्जेल पनि दिमागमा त्यही कुरा घुमिरह्यो । मेरो अनुहार देखेर उसले दुई–तीन पटक के भयो भनी सोधी । मैले बताइनँ । बताइहाल्न पत्यारिलो कुरा पनि थिएन ।

घर फर्कंदै गर्दा विनयको फोन आयो ।

“के गर्‍यौ आज दिनभरि ?”

मैले साथीकहाँ गएर फर्केको बताएँ । उसले दिनभरिको आफ्नो मिटिङबारे सुनाउँदै भन्यो, “काम सकियो यता । म भोलि बिहानै आइपुग्छु । दिउँसो केही साथीलाई लन्चमा बोलाउँदैछु है ।”

उसको छिटै फर्किने कुराले खुशी भएँ । बस्दाबस्दै टेबुलमाथिको ऐनामा आफ्नो प्रतिबिम्बमाथि आँखा पर्यो । ऐनामा म आफ्नो उमेरभन्दा धेरै जवान देखिएकी थिएँ । आँखाछेउ देखिन थालेका मसिना धर्सा प्रतिबिम्बमा थिएनन् । आफूलाई हेर्दै मुस्काएँ ।

कस्तो अचम्म !

मेरो प्रतिबिम्ब मुस्काएन ।

हाँसो एक्कासि गायब भयो । निकै डर पनि लाग्यो, तर ऐनाभित्रको त्यो आकृति भने अहिले मुस्काइरहेको थियो । म बेडरुमतिर दौडें । खुट्टा कामिरहेका थिए । मुटु जोडले धड्किरहेको थियो । विनयलाई फोन गर्न लाग्दै थिएँ, औंलाहरू एक्कासि रोकिए । फोनको स्क्रिनतिर केहीबेर हेरिरहें ।

सोचें, के भनुँ उसलाई ? ‘ऐनाभित्रको मेरो प्रतिबिम्ब मभन्दा छुट्टै मुस्काइरहेको थियो’ भनी सुनाउँ ? यस्तो कुरा कसले पत्याउँथ्यो र ? फोन गरिनँ । आज एक रातको कुरा न हो । भोलि ऊ फर्केपछि यसबारे कुरा गरौंला भन्ने सोचेर पल्टिएँ ।

बिहान नौ बजेको फ्लाइटबाट विनय आइपुग्यो । दिउँसो उसका केही साथीहरू लन्चका लागि आएकाले त्यो अलमलमा विनयसँग खासै कुरा भएन ।

राति सुत्ने बेलामा उसलाई ऐनाले देखाएको अचम्मको व्यवहार सुनाएँ । ऊ हाँस्यो, “यो सबै तिमीले हेर्ने टीभी सिरियल र युट्युबहरूको असर हो । कुनै राम्रो कुरा हेर्ने र पढ्ने गर न ।” अनुमान गरेजस्तै उसले यो कुरामा अलिकति पनि विश्वास गरेन । उसको भनाइ केही हदसम्म ठीकै थियो । केही दिनदेखि यस्तै रहस्य र अलौकिक कथाहरू पढिरहेकी थिएँ । त्यसैले क्षणभरलाई आफ्नै सोचमाथि शंका लाग्यो ।

यो सोच आउनेबित्तिकै मन अनायासै शान्त भयो । मैले ऐनालाई त्यहाँबाट हटाएर किताबको र्‍याकमा राखें ।

त्यसपछिका दिनहरू सामान्य रहे । हामी दुवैको अफिस, व्यस्तता र दैनिक दिनचर्या पहिले जस्तै चल्दै गयो । र्‍याकमा राखेको ऐनाबारे न विनयले कुनै प्रश्न गर्‍यो, न मैले केही असामान्य महसुस गरें । प्रयोग गर्न छोडेकाले पछि त त्यो घटना बिर्सें पनि ।

महिना दिनपछि विनयले सुनायो, “यो शनिबार दातृसंस्थासँग नगरकोटमा मिटिङ छ । अप–डाउन गर्ने कि उतै बस्ने अप्सन छ, के गरूँ ?” राति लामो बाटो फर्कनुभन्दा मिटिङ सकेर उतै बस्न मैले उसलाई सुझाव दिएँ । मेरो कुरा सुनेर उसले उतै बस्ने निर्णय गर्‍यो ।

ऊ नगरकोटका लागि निस्केपछि मैले खाना खाएँ र बैठककोठामा टीभी हेर्न बसें ।

चलिरहेको सिरियलमा भन्दा मेरा आँखा र्‍याकमा रहेको ऐनातिर जान थाल्यो । यस्तो लाग्यो मानौं त्यसले मेरो ध्यान खिचिरहेको थियो । एक महिनादेखि पूर्ण रूपमा बिर्सिएको ऐना त्यहीँ थियो, निश्चल ।

अचानक एउटा कुरा ख्याल गरें । ऐनामा देखिएको दृश्य बैठककोठाभन्दा फरक थियो । त्यसले कोठाका सामानलाई प्रतिबिम्बित गरिरहेको थिएन । त्यहाँ फर्निचर, कुनै सामान अथवा पर्दाको प्रतिबिम्ब देखिनुको सट्टा आँगन देखिँदै थियो—यही घरबाहिरको आँगन ।

मैले टीभी बन्द गरें र डराउँदै ऐनातिर हेर्न थालें । त्यहाँ छुट्टै अर्कै संसार देखिन्थ्यो, सीसी क्यामेराले कैद गरेको जस्तै । स्तब्ध भएँ । केही सोच्न सकिनँ । ऐनामा केही धमिला छायाँजस्ता आकृति सल्बलाउन थाले । डरसँगै अब उत्सुकता पनि बढ्यो ।

म बिस्तारै ऐनासामुन्ने उभिएँ ।

अब त्यो सामान्य देखियो । त्यसमा म कोठाका सामानको प्रतिबिम्ब देखिरहेकी थिएँ । ऐनाभित्र देखिएको मेरो अनुहार अपरिचित लाग्यो । किनकि त्यो प्रतिबिम्बको ओठमाथि सानो कोठी थियो, मेरोमा थिएन ।

म एकोहोरो आफ्नै प्रतिबिम्बलाई हेरिरहेकी थिएँ । मेरो डर महसुस गरेर पहिलोपल्ट ऐनाभित्रबाट आवाज आयो—

“किन डराएकी ? कोही आफैंसँग पनि डराउँछन् र ?”

मेरा शब्द निस्किएनन् । तालु सुकेर बोल्न सक्ने अवस्थामा थिइनँ ।

“विनय नगरकोट गएको छ, हैन ?”

यो सुन्नासाथ मेरो मुटु एक्कासि रोकिएजस्तो भयो । म सपना, बिपना वा तन्द्रामध्ये कुन अवस्थामा थिएँ, भन्न सकिनँ । जडवत् उभिएकी थिएँ, शरीर भने थरथर काँपिरहेको थियो ।

“ऊ पोखराको मिटिङ सकेर छिटै किन फर्क्यो, थाहा छ ?” उसले हल्का हाँस्दै भनी ।

“तिमीलाई विनयबारे कसरी थाहा भयो ?” बल्लबल्ल सानो स्वर निस्कियो मेरो ।

ऊ मौन रही । जवाफ दिनुको सट्टा उसले उल्टै प्रश्न गरी, “के उसले पोखराबाट कुनै उपहार ल्यायो तिमीलाई ?”

मैले विनय पोखराबाट फर्केको दिन सम्झन खोजें । ऊसँग साथमा कुनै उपहार थिएन, न त उसले उल्लेख नै गरेको थियो ।

मैले ऐनामा पुनः ध्यान केन्द्रित गरें । अब ऐनाभित्र स्वाभाविक म थिएँ, बिना कोठीकी । एकछिन अघिसम्मको त्यो फरक प्रतिबिम्ब, संवाद र दृश्य मानौं एउटा कल्पना जस्तो मात्र भयो ।

डर र बेचैनीले त्यो रात राम्रोसँग सुत्न सकिनँ । प्रतिबिम्बको कुराले यो अनिँदो रातमा पहिलोपल्ट विनयका लागि एउटा शंकाको बीउ रोपियो मनभित्र ।

भोलिपल्ट विनयलाई फोन गरें । ऊ छक्क पर्‍यो । स्वाभाविकै थियो । बिहे भएको यत्तिका वर्ष भयो, ऊ बाहिर जाँदा म कहिल्यै फोन गर्दिनथें, ऊ नै फोन गर्थ्यो मलाई ।

“के भयो, सबै ठीक त छ ?”

उसको प्रश्नमा मैले त्यत्तिकै न्यास्रो लागेर फोन गरेको बताएँ ।

फोन राखेपछि आफैंलाई अचम्म लाग्यो । यत्तिका वर्षमा पहिलोपल्ट विनय बाहिर हुँदा मैले उसलाई फोन गरेकी थिएँ ।

मिटिङ सकेर विनय नगरकोटबाट फर्कियो । मलाई भने ऊ केही बदलिएजस्तो लाग्यो । ऊ मौन रहँदा पनि उसले केही लुकाइरहेको हो कि भन्ने शंका लाग्न थाल्यो ।

यता ऐनाले दुई–तीन दिन कुनै गतिविधि देखाएन ।

चौथो दिन, विनय बाहिर आफ्नो बाइक सफा गर्दैथियो । ऐनामा मेरो फरक प्रतिबिम्ब देखा पर्‍यो, कोठी भएको ।

उसले साउती गरेझैँ भनी, “विनयसँग फिल्मको दुईवटा टिकट छ, के तिमीलाई सँगै लैजाँदैछ ?”

बाइक सफा गर्न सकेपछि विनय माथि आयो ।

“आज मलाई सिनेमा हेर्न मन छ, लैजान्छौ ?” मेरो मुखबाट एक्कासि निस्कियो ।

ऊ छक्क परेर मलाई हेर्‍यो र अकमकाउँदै भन्यो, “आज घरमै बसेर जरुरी काम सक्नुपर्नेछ । बाहिर निस्कने समय नै छैन ।”

नभन्दै, त्यो दिन ऊ कतै गएन पनि ।

फेरि मलाई ऐनादेखि डर लाग्यो । मेरो प्रतिबिम्बले मलाई टिकटको कुरा किन सुनायो, बुझ्न सकिनँ ।

राति मैले ऐनाको प्रसङ्ग निकालें । “त्यो ऐना अलि अचम्मको डिजाइनको छ है,” मैले हाँस्दै भनें ।

“हुँ, मेरो साथीको उपहार, चानचुने कहाँ छ र ?” उसले मोबाइल खेलाउँदै त्यत्तिकै भन्यो ।

“साथीले केही भनेर दिएको थियो ? मतलब, त्यसको कुनै विशेषता ?”

“अहँ, किन र ?” विनयले नबुझेझैँ गरी मलाई हेर्‍यो ।

“ऐनामा आफ्नो होइन, अर्कै प्रतिबिम्ब पो देख्छु म त । अनि यसले मसँग कुरा पनि गर्छ ।”

उसले मोबाइल छाडेर छक्क परेर मलाई जिक्क्याउने तवरले हेर्‍यो ।

“कस्तो अनौठा कुरा गरेकी । तिमीलाई सन्चो त छ ? हैन भने केही दिन अफिसबाट छुट्टी लिनु ।”

उसले कुरालाई हाँसोमा उडाइदियो । त्यसपछि त्यो प्रसङ्ग त्यत्तिकै रोकियो ।

लाग्यो उसले खुलेर केही बताइरहेको थिएन । मैले अठोट गरें—अब ऐनासँग नै विनयको बारेमा बुझ्छु ।

त्यो दिन अफिस गइनँ । विनय निस्कनेबित्तिकै ऐनाअगाडि बसें । त्यहाँ आफ्नो स्वाभाविक प्रतिबिम्ब थियो ।

केही मिनेटपछि प्रतिबिम्ब बिस्तारै बदलियो । अब उसको ओठमाथिको कोठी देखा पर्‍यो ।

म विश्वस्त भएँ, यो मेरो भ्रम होइन, ऐनामा विशेष तत्व छ ।

“तिमीसँग केही सोध्नुछ ।”

प्रतिबिम्बसँग आफ्नो कुरा राख्न म हतारिएँ । ऊ बोलिन । केवल मुस्काई ।

“सुधा…..”

उसले बोल्दै गरेका बाँकी शब्द अस्पष्ट थिए । त्यसले मेरो जिज्ञासा झनै बढाइदियो ।

“को सुधा ?”

मभित्र शंका कुलबुलायो । “विनयसँगै सोध न । अनि हराएको सिक्री भेटियो त ?”

झसङ्ग भएँ । दुई महिनादेखि हराइरहेको सुनको सिक्रीबारे मैले विनयलाई समेत भनेकी थिइनँ । एकैछिनमा ऐनाभित्र बिना कोठीको मेरो आफ्नै प्रतिबिम्ब फर्कियो ।

विनयसँग सुधाको बारेमा सोध्ने आँट नै गर्न सकिनँ, किनकि उसले मलाई कहिल्यै शंका गर्नुपर्ने ठाउँ दिएको थिएन । अहिले त्यो प्रश्न राख्न मैले कुनै बहाना भेटिनँ । तर नसोधी मनको हुण्डरी शान्त होला जस्तो पनि लागेन ।

“सुधालाई चिन्छौ ? ऐनाले आज नाम लिँदैथियो ।”

विनयमा पहिलोपल्ट अविश्वास र असन्तुष्टिको भाव देखें । ऊ एकछिन रोकियो र झर्केझैँ गरी भन्यो, “अहँ, चिन्दिनँ । किन र ? त्यो पनि त्यो ऐनाले बताएको ? कस्तो नचाहिने कुरा गरेकी तिमीले ?”

त्यसपछि उसले ऐनामा आफ्नो अनुहार नियाल्दै मतिर अपत्यारिलो नजरले हेर्‍यो ।

अर्को दिन पनि अफिस जान मन लागेन । घरभित्रको वातावरण नमिठो लाग्न थाल्यो । खिन्न मनले दिउँसो कोठा बढार्दै थिएँ, हराइरहेको सिक्री दराजको कापमा भेटें ।

साह्रै खुशी लाग्यो । फोन गरेर त्यो कुरा विनयलाई सुनाऊँ जस्तो लाग्यो, तर सुनाइनँ । त्यही दिन प्रतिमाले फोन गरी । दुई–चारजना साथीहरू मिलेर केही दिनको सिक्किम घुम्न जाने योजना रहेकोले मलाई पनि जाऊँ भनी ।

मैले विनयलाई भनें । उसले सजिलै अनुमति दियो । “हुन्छ, तिमीलाई फ्रेश हुन मद्दत पनि होला ।”

पाँच दिनको प्याकेज प्रोग्राममा म साथीहरूसँग सिक्किम घुम्न गएँ । घर, व्यवहार र त्यो ऐनाको प्रभावबाट टाढा मैले त्यहाँ साँच्चिकै आनन्द उठाएँ ।

विनयले “के छ, कस्तो हुँदैछ” भनी बेलाबेला फोन गरिरहन्थ्यो । त्यो देखेर साथीहरूले निकै जिस्काए ।

“तिमीलाई मायाभन्दा पनि निगरानी गर्न खोजे जस्तो छ है!” सिक्किमबाट फर्किने अघिल्लो साँझ मैले विनयलाई फोन गरें । उसको आवाज सुस्त सुनिन्थ्यो, सायद ऊ निदाउन लागेको थियो ।

मैले सन्चो नभएको हो कि भनी सोधें ।

उसले हैन भन्यो, तर त्यो ‘हैन’मा केही कुरा थियो कि भन्ने लाग्यो । घर फर्केको दिन विनय गेटमै उभिरहेको थियो । ऊ थाकेको र अनिँदो जस्तो देखिन्थ्यो । परिचित र अपरिचितबीचको मिश्रित भावमा मलाई हेर्दै ऊ घरिघरि आँखा मिचिरहेको थियो ।

“के भयो आँखामा ?” प्रश्नको जवाफ नदिई उसले उल्टै सोध्यो, “कस्तो रह्यो यात्रा ?” मैले राम्रै रहेको बताएँ । “अनि तिमीले यता कसरी म्यानेज गर्‍यौ ? सबै ठीक छ ?” उसले केही बताउँछ कि भन्ने आशयमा मैले सोधें ।

उसले खाली टाउको हल्लायो ।

हामीले बीच बाटोमा खाना खाएका थियौं, त्यसैले फेरि खान रुचि भएन । विनयले कति बेला खाना खायो, थाहा पाइनँ । मचाहिँ थाकेकीले निदाइहालें । भोलिपल्ट अफिस जाने बेला र्‍याकमाथि आँखा गयो । त्यहाँ केही थिएन । ऐनाबारे खुल्दुली भयो, तर विनय हतारमा थियो । त्यसैले सोधिनँ ।

त्यसको लगत्तै दुई दिनसम्म माइतीमा पूजा भएकोले व्यस्त भएँ । पछि एक दिन मैले उसलाई सोधें, “ऐना खोइ ? देख्दिनँ त ?” ऊ बोलेन ।

“कि साथीलाई फिर्ता गर्‍यौ ?” मैले दोहोर्‍याएको प्रश्नले उसले मतिर पुलुक्क हेर्‍यो । त्यो दृष्टिमा मेरो प्रश्न उसलाई अनावश्यक लागेको जस्तो देखिन्थ्यो । एक्कासि उसको अनुहारको भाव बदलियो । ऊ शान्त देखियो ।

“ए, ऐना भनेकी ? राम्रो लागेन, त्यसैले मैले साथीलाई नै फर्काइदिएँ ।”

जवाफ दिँदा उसका आँखा मतिर थिएनन् । उसले साँचो बोलिरहेको थियो कि थिएन, ठम्याउन सकिनँ । थप केही सोध्नुअघि नै ऊ बाहिरिइसकेको थियो ।

म केहीबेर त्यहीँ उभिइरहें । र्‍याकमाथिको ऐनाले ओगटेको ठाउँमा धूलोको गोलो छाप थियो । अनायासै मेरा आँखा र्‍याकमुनि गए । त्यहाँ कागजको खाली प्याकेट कोचिएको थियो । त्यसको छेउमा ऐनाको एउटा सानो टुक्रा पनि थियो ।

मैले टुक्रा उठाएँ ।

हातमा समातेको त्यो चिसो टुक्रामा एकछिन आफ्नै अनुहार झल्कियो । तर त्यहाँ ओठमाथि सानो कोठी थिएन । –sahityapost