August 22, 2026, Saturday
२०८३ भाद्र ७ आईतवार

चैतन्य एकेडेमी र सिद्धार्थ गौतम बुद्ध क्याम्पसबीच समझदारी

Advertisement

बुटवल– चैतन्य एकेडेमी नेपाल, बुटवल शाखा र सिद्धार्थ गौतम बुद्ध क्याम्पस, हटिया, बुटवलबिच लोकसेवा, शिक्षक सेवा, बैंकिङ, सुरक्षा निकाय तथा सार्वजनिक संस्थानका विभिन्न सेवाका लागि तयारी कक्षा सञ्चालन तथा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

समझदारीपत्रमा चैतन्य एकेडेमी बुटवलका प्रमुख दीपक ढकाल र सिद्धार्थ गौतम बुद्ध क्याम्पसका प्रमुख गोपाल चापागाईंले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लोकसेवालगायत विभिन्न सेवाको तयारीमा प्रोत्साहन गर्न निःशुल्क छात्रवृत्ति तथा विशेष छुट प्रदान गरिनेछ । साथै समयअनुसार तालिम, सेमिनार तथा गोष्ठी सञ्चालन गर्ने सहमति भएको छ ।

कार्यक्रममा चैतन्य एकेडेमी नेपालका संस्थापक एवं प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद
जोशीले नेपालमै बसेर देशको सेवा गर्दै वृत्ति विकास गर्ने प्रशस्त अवसर रहेको बताउँदै युवाविद्यार्थीलाई आफ्नो लक्ष्यप्रति संवेदनशील भएर तयारीमा लाग्न आग्रह गरे । उनले प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन निरन्तर अध्ययन, अनुशासन र सही मार्गदर्शन आवश्यक रहेको बताए ।

त्यसैगरी उपसचिव विष्णु पन्थीले निजामती सेवा तथा शिक्षक सेवा प्रवेशका लागि अपनाउनुपर्ने तयारीका विधि, उपलब्ध अवसर र चुनौतीका विषयमा अभिमुखीकरण दिएका थिए ।

क्याम्पस प्रमुख गोपाल चापागाईंले चैतन्य एकेडेमीसँगको सहकार्यबाट विद्यार्थीको वृत्ति विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले विद्यार्थीले आफ्नै स्थानमा रहेर लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको प्रभावकारी तयारी गर्न सक्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख शेषकान्त अर्यालको सञ्चालन तथा समन्वयमा सम्पन्न भएको थियो ।

चैतन्य एकेडेमी नेपालको बुटवल शाखाले विगत दुई वर्षदेखि बुटवलमा रहेर नायब सुब्बा, खरिदारदेखि शाखा अधिकृतसम्मका विभिन्न तहका तयारी कक्षा सञ्चालन गर्दै आएको छ । साथै हप्ताको तीन दिन तयारी परीक्षासमेत सञ्चालन गर्दै आएको एकेडेमीले स्थापना भएको छोटो अवधिमै खरिदारदेखि उपसचिव तहसम्मका परीक्षामा विद्यार्थीलाई सफल बनाउन उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।