प्रकृतिसँगै आतिथ्यको नयाँ गन्तव्य ‘टाइगर फरेस्ट होटल’


भैरहवा– रुपन्देहीको तिलोत्तमा–१३, चिल्हियामा टाइगर फरेस्ट होटल प्रालि संचालनमा आएको छ । प्रकृति, आतिथ्य र मनोरञ्जनलाई एउटै परिसरमा समेटेको यो होटल संचालनको केही समयमै पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । चिल्हिया जंगलसँग जोडिएको होटल परिसरमा प्राकृतिक वातावरण, कलात्मक काठका संरचना, स्वादिष्ट परिकार र मनोरञ्जनका विभिन्न सुविधाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँछ ।
यो होटलमा नेपालमै उत्पादित सल्लाको काठलाई कलात्मक ढंगले प्रयोग गरी निर्माण गरिएको छ । रुपन्देहीको तिलोत्तमा–५ का मिनराज भुसालको एकल लगानीमा सञ्चालित होटलमा हालसम्म करिब एक अर्ब रुपैयाँ लगानी भइसकेको छ । करिब ५ बिघा क्षेत्रफलमा फैलिएको होटललाई थप विस्तार गर्दै भविष्यमा २ अर्ब ५० करोड रुपैयाँसम्म लगानी गर्ने योजना संचालकको छ ।

होटल परिसरका करिब ९० प्रतिशत संरचना स्वदेशी सल्लाको काठबाट निर्माण गरिएका छन् । ‘चितवनको कुरिनटारमा जर्मनीबाट खरिद गरिएको बियर गार्डेन रेष्टुरेन्टको सेड संरचनाबाट प्रभावित भएर यहाँ पनि सोही अवधारणामा काठको संरचना निर्माण गरिएको हो’, सञ्चालक भुसालले भने । उनका अनुसार होटल निर्माणका लागि अष्ट्रेलियाबाट इन्जिनियरसमेत बोलाएर काठका संरचना डिजाइन गरी निर्माण गरिएको थियो ।
‘प्रकृति र काठको कलात्मक संयोजनले होटललाई अरुभन्दा फरक र आनन्दित बनाएको यहाँ आउने पाहुनाहरु बताउनहुन्छ’, उनले भने । होटल प्रवेश गर्नेबित्तिकै बाह्रसिंगे बियर गार्डेन तथा रेष्टुरेन्ट पुगिन्छ । यहाँ बाह्रसिंगे बियरका विभिन्न स्वादसँगै थकाली भान्सासहित विभिन्न परिकारको स्वाद लिन सकिन्छ । चिनियाँ रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत अन्तिम चरणमा पुगेको छ । परिसरको बीच भागमा आकर्षक गार्डेन निर्माण गरिएको छ, जहाँ लाइभ म्युजिकको व्यवस्था गरिँदैछ ।

‘गार्डेनबाट केही अगाडि किङलियो डान्स क्लब र स्पाको सुविधा उपलब्ध छ । स्पा बिहानदेखि खुल्छ भने क्लब साँझदेखि रातिसम्म संचालन हुन्छ’, होटलका प्रबन्धक क्षितिज विक्रम खनालले भने, ‘सबै सुविधा एकै थालोमा पाउउने भएकाले पनि धेरैको रोजाई होटल पर्ने गरेको छ ।’ उनका अनुसार करिब एक हजार जना क्षमताको रोयल बैंक्वेट हल निर्माणको अन्तिम चरणमा छ । ‘बैंक्वेट हलबाट केही कदम अघि बढेपछि चौतारी रेष्टुरेन्ट बार रहेको छ, जहाँ ग्राहकले लोकल चिकेन आफैं पकाएर खान सक्ने व्यवस्था गरिएको छ । यससँगै अन्य परिकारको स्वादसमेत लिन सकिन्छ’, उनले भने ।
होटल परिसरमा २० कोठाको भिल्लासमेत छ । सबै काठको संरचनाबाट बनेका भिल्ला कोठा लोभलाग्दा छन् । यहाँ पुग्ने जोकोही यही भिल्लामा एकरात बस्न रुचाउँछन् । भिल्लाका कोठा तथा रेष्टुरेन्टकासंरचना नेपालमै उत्पादित सल्लाको काठबाट निर्माण गरिएका छन् । होटल परिसरका न्यून संरचनामा मात्रै कंक्रिट प्रयोग गरिएको छ । जंगलसँग जोडिएको होटलको शान्त वातावरण, प्राकृतिक सौन्दर्य, कलात्मक डिजाइन र आकर्षक संरचनाले पाहुनालाई फरक अनुभव प्रदान गर्ने व्यवस्थापनको भनाइ छ ।

यद्यपि काठबाट निर्माण गरिएका संरचनाका लागि स्पष्ट कार्यविधि नहुँदा स्थानीय तहबाट होटल सम्पन्नता प्रमाणपत्र लिन समस्या भइरहेको होटलका संचलक भुसाल बताउँछन् । होटलका प्रबन्धक खनालका अनुसार पाहुनाको रोजाइमा परेको संरचनालाई कानुनी तथा प्रशासनिक प्रक्रियाबाट सहज रुपमा अघि बढाउन आवश्यक कार्यविधि स्पष्ट हुनुपर्ने देखिन्छ । ‘हामीले सम्पन्नता स्वीकृति दिन सबै ठाउँमा अनुरोध गरेका छौं । कार्यविधि नभएको भनेर रोकिएको छ’, उनले भने, ‘हस्पिटालिटी क्षेत्रमा यस्तो आकर्षक संरचना तयार छ, तर कार्यविधि छैन । यसमा तीन तहका सरकारले विशेष ध्यान दिन जरुरी छ ।’
होटलमा हाल ७० भन्दा बढीले रोजगारी पाएका छन् । होटलका कोठामा बस्न आउने पाहुनामध्ये भारतीय पर्यटकको संख्या उल्लेख्य छ भने बियर रेष्टुरेन्टमा नेपाली ग्राहक बढी आउने गरेका छन् । भारतसँगको सीमा नाका नजिक हुनुका साथै गौतम बुद्धको जन्मस्थल लुम्बिनी, गौतमबुद्ध विमानस्थल लगायतका पर्यटकीय पूर्वाधार नजिक रहेकाले होटलले रुपन्देहीको पर्यटन बजारमा थप सम्भावना देखेको छ ।

भविष्यमा क्यासिनोसहित होटल सञ्चालन गर्ने तथा डिस्को, डान्स, स्पा, बिच पुल र लामो स्वीमिङ पुललगायतका संरचना थप गर्ने योजना सञ्चालकको छ । पर्यटकको बसाइ लम्ब्याउने र एउटै परिसरबाट खाना, मनोरञ्जन, आराम तथा पारिवारिक समय बिताउने सुविधा उपलब्ध गराउने उद्देश्यसहित होटललाई विस्तार गरिँदैछ । ‘प्राकृतिक वातावरण, शान्त परिवेश र कलात्मक संरचनाले होटलमा आउने पाहुनालाई फरक अनुभव दिने गरेको छ’, खनालले भने ।
रुपन्देहीमा पर्यटन पूर्वाधार विस्तार भइरहेका बेला निजी क्षेत्रबाट भएको यस्ता लगानीले आतिथ्य क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ । प्रकृति, आतिथ्य र मनोरञ्जनलाई एउटै परिसरमा समेटेको टाइगर फरेस्ट होटलले चिल्हियाको प्राकृतिक सौन्दर्यलाई पर्यटन व्यवसायसँग जोड्दै रुपन्देहीको होटल तथा पर्यटन क्षेत्रमा नयाँ सम्भावना थपेको छ ।










लेखकको सम्वन्धमा