खेतीपाती गरेर विद्यालयमै आम्दानी


गुल्मी– गुल्मीको चन्द्रकोट–५, ग्वाघास्थित ग्वाघा माध्यमिक विद्यालयमा विद्यार्थी पढाइसँगै कृषि कर्ममा तल्लिन छन् । उक्त विद्यालयका छात्रछात्रा कृषिमा रमेका छन् । उनीहरुले नयाँ सिकाइको आभ्यास गरिरहेका छन् । यसका साथैं आम्दानीमा पनि जोडिएका छन् । विद्यालय परिसरमा अहिले दुई रोपनी जग्गामा खेती भइरहेको छ । उक्त जग्गा मध्ये केही व्यक्तिगत भए पनि विद्यालयलाई निःशुल्क भोकचलन गर्न दिइएको छ । कक्षा ८ देखि १० सम्मका ९० जना विद्यार्थी कृषिमा संलग्न छन् ।
आलोपालो, बिदाको दिन, खाली पिरियड र विद्यालय समयभन्दा अघिपछिको समयमा विद्यार्थी खटिने गरेका छन् । जसमा शिक्षकको सक्रियता र समुदायस्तरबाट साथ रहेको छ । तीन वर्षदेखि थालिएको कृषि कर्मबाट विद्यालयले आठ लाख रुपैयाँ आम्दानी गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश थापाले बताए । जसमध्ये दुई लाख रुपैयाँ विद्यार्थीको शैक्षिक भ्रमण र छात्रवृत्ति वितरण भएको छ । भने ६ लाख रुपैयाँ ‘विद्यार्थी कल्याणकारी कोष’ मा बचत रहेको छ । मल्चिङ प्रविधिबाट अकबरे खुर्सानी खेती, अदुवा, च्याउ, स्कुस र सिमी लगायतका तरकारीजन्य खेती रहेका छन् ।
कुनै प्राविधिक नभई सामान्य साधारण ग्रामीण विद्यालय भए पनि विद्यार्थीका लागि सिकाइ र विद्यालयका लागि नयाँ अभ्यासका रुपमा कृषि कर्म सुरु गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए । ‘खाली समयमा विद्यार्थीले नपढ्ने, कुलतमा फस्ने र मोबाइलमा गेम मात्रै खेल्ने समस्या ब्यापक थियो’, उनले भने, ‘विद्यार्थीका सिकाइका रुपमा खाली पिरियड, बिदाको दिन र अघिपछिको समय सदुपयोगका लागि सुरु गरेका हौं ।’ विद्यालय पसिरमा कृषि योग्य जमिन नभएपनि खरबारीका रुपमा रहेको बाँझो बारीमा खेतीपाती गरेको उनले बताए ।
गतवर्ष अकबरे खुर्सानी बिक्रीबाट मात्रै डेढ लाख रुपैयाँ आम्दानी भएको थियो भने छ क्विन्टल भन्दा बढी अदुवा बिक्री भएको थियो । अहिले पनि विद्यालयबाट अकबरे खुर्सानी प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री भइरहेको छ । विद्यार्थीका लागि निःशुल्क बिरुवा वितरण गर्दै त्यसको अवस्था शिक्षककले रेखदेख गर्दै आएका छन् । ‘विद्यार्थीको मेहनत, हाम्रो सक्रियता र समुदायको साथमा कृषिबाट सिकाइसँगै आम्दानी पनि भइरहेको छ’, प्रधानाध्यापक थापाले थपे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लिलबहादुर रानाले विद्यालयमा समुदायबाट ब्यापक मात्रामा सहयोग पाएको र विद्यालयले सोंचेअनुसार काम गर्न पाएको बताए । ‘समुदाय स्तरबाट निःशुल्क जग्गा पाएका छौं, मल पनि सहयोग भइकरहेकै छ’, उनले भने, ‘विद्यालयको रेखदेखसहित आर्थिक सहयोगमा पनि समुदाय एकजुट छ ।’ देशविदेशमा रहेका सबै यहाँका स्थानीयले विद्यालय राम्रो बनाउन सहयोग गरिरहेको बताए ।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले ग्वाघा माविले ग्रामीण क्षेत्रमा रहेर पनि उत्कृष्ट कर्म गरिरहेको बताए । ‘गाउँबस्तीमै भए पनि विद्यालयले कृषि अन्तर्गत अकबरे खेती उत्कृष्ट रुपमा गरेको छ’, उनले भने, ‘पढ्दै कमाउँदै कार्यक्रममा जोडेर प्रोत्साहन स्वरुपमा सहयोग गरेका छौं ।’ विद्यालयलाई गत वर्ष ७५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।








प्रतिकृया दिनुहोस्