July 24, 2026, Friday
२०८३ श्रावण ९ शनिबार

धानमा काँढादार खपटे रोग फैलिएपछि किसान चिन्तित

Advertisement

पाल्पा– पाल्पाको पूर्वखोला गाउँपालिकामा धानमा काँढादार खपटे रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । पालिकामा रहेका खेतमा काँढादार खपटे किरा फैलिएर पातमा सेतो धर्सा र धब्बा देखिने समस्या छ ।

Advertisement

पूर्वखोलाको लाबेदेखि खैरेनी, मन्दिडाँडा, पुल, आठबिसे र विर्ता नजिकको क्षेत्रसम्मका खेतको धानमा यो किराको प्रकोप देखिएको स्थानीयले बताए । टाढाबाट घुन जस्तो देखिने हातमा लिएर मिच्दा घोच्ने खालको किरा लागेको छ । धान रोपेको २० देखि २५ दिनमा हरियो हुनुपर्ने खेत पँहेलो देखिएको स्थानीयले बताए । असार अन्तिम सातातिर रोपेको धानमा संक्रमण नदेखिएपनि त्यसअघि रोपेको अधिकांश खेतमा धान पँहेलै भएको पूर्वखोला गाउँपालिकाका सहायक कृषि प्राविधिक शीरबहादुर बुढाले बताए । हरियो हुने समयमा खेत पँहेलै भएपछि यस क्षेत्रका किसानले यो किरा नियन्त्रणका लागि स्थानीय सरकार गुहारेका थिए ।

स्थानीयले धानका बोटमा सेतो धर्सा र सेतो धब्बा देखिएपछि पूर्वखोला गाउँपालिकाका कृषि प्राविधिकलाई जानकारी गराएका हुन् । खेतमै पुगेर अवलोकन गर्दा उस्तै प्रकृतिको समस्या जतासुकै देखिएको सहायक कृषि प्राविधिक बुढाले बताए । धानमा देखिएको बयस्क खपटे किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुने र यसले नोक्सान पुर्याएको पातमा सेता धर्सा र धब्बा देखिने गरेको उनले बताए ।

आर्थिक वर्षको सुरुआतमा भएकाले पालिकाले किरा नियन्त्रणका लागि विषादी खरिद गरेर वितरण गर्न नसकेको उनले बताए । खेत अवलोकन गरेपछि किसानलाई छर्कने तरिका र विषादी सिफारिस गरिएको उनले बताए । कतिपय किसान आफैंले किटनाशक औषधि ल्याएर खेतमा प्रयोग गरिरहेको उनले बताए । चैतमा रोपेको धानमासमेत देखिएको यो किराले धेरै आक्रमण गरेकाले पूरै खेतको रङ सेतो देखिएको स्थानीय किसान बताउँछन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई पाल्पाका प्रमुख सन्तोष चौधरीले यो रोग नभई वातावरण अनुकुल भएपछि किरा फैलने बताए । ‘यो नियमित देखिने किरा होइन,’ उनले भने, ‘हुर्कने वातावरण मिल्नासाथ देखिने गर्छ ।’ यसले पातको हरियो भाग पुरै खाने भएकाले पँहेलै बनाउने उनले बताए । व्यापक भएपछि बिरुवाले खाना बनाउन सक्दैन । किटनासक विषादी छर्ने हो भने पुनः मुना आउने उनले बताए । यसलाई नियन्त्रणमा लिन सकियो भने उत्पादनमा खासै असर नगर्ने प्रमुख चौधरीले बताए ।

पालिकाबाट किरा नियन्त्रणका लागि प्राविधिक सल्लाहबाहेक अन्य सहयोग नपाएपछि स्थानीयले पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानालाई पनि गुहारेका थिए । ‘गाउँपालिकाले बजेट छैन भने पछि प्रतिनिधिसभा सदस्य रानासित गुनासो गर्दा किटनासक औषधि १ हजार ७ सय मिलिलिटर र स्प्रे तथा मास्क उपलब्ध गराउनुभयो,’ स्थानीय किसान मेघराज न्यौपानेले भने । सांसद रानाले पालिकाका कृषि प्राविधिक र रामपुरबाटसमेत कृषिविज्ञलाई लगेर किसानका खेतमा देखिएको समस्या समाधानको प्रयास गरेको जनाए ।

पूर्वखोला क्षेत्रमा रैथाने धान पोखरेली जेठोबुढो, झिनुवा, काठेसहित हाईब्रिड धानमा किराले क्षति गरेको स्थानीयले बताएका छन् । गत असार २९ मा भएको गाउँसभाको बैठकमा पनि यस विषयमा जानकारी गराएको पूर्वखोला–३ रिङनेरहका वडासदस्य बासुदेव न्यौपानेले बताए । पाल्पामा ७ हजार २ सय ८७ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुन्छ ।