July 9, 2026, Thursday
२०८३ असार २५ बिहीबार

गुणस्तरहीन पाइएपछि गुल्मीमा चार सय किलो मह नष्ट

Advertisement

गुल्मी– गुल्मीमा करिब ४०० किलो मह नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको भन्दै मह नष्ट गरेको हो ।

Advertisement

गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले उक्त स्थानबाट करिब ४०० किलो महजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएको पदार्थको वास्तविक गुणस्तर यकिन गर्न खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय, तानसेन, पाल्पामा नमूना परीक्षणका लागि पठाएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा परीक्षण गरिएका मापदण्डका आधारमा उक्त नमूना नेपाल सरकारले तोकेको महको गुणस्तर मापदण्डअनुसार नरहेको उल्लेख भएपछि त्यसलाई अखाद्य पदार्थका रहेको निष्कर्ष सहित नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्कर्माले जनाए ।

गुणस्तरहीन पुष्टि भएको उक्त महजस्तो देखिने पदार्थ जिल्ला प्रशासन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका, पत्रकार तथा उद्योग वाणिज्य संघ गुल्मीका प्रतिनिधिहरूको रोहवरमा जिल्ला प्रहरी कार्यालय गुल्मीको परिसरभित्र खाडल खनी नष्ट गरिएको हो ।