July 5, 2026, Sunday
२०८३ असार २१ आईतवार

वन्यजन्तुु रोक्न ४० किलोमिटर क्षेत्रमा तारजाली

Advertisement

बर्दिया– बर्दिया निकुञ्जबाट बस्ती प्रवेश गर्ने वन्यजन्तु रोक्न ४० किलोमिटर तारजाली गरिएको छ । डिभिजन वन कार्यालय र सामूदायिक वन उपभोक्ता समूहले वनको सिमानामा तारजाली लगाउन थालेका हुन् । हालसम्म ४० किमी वनक्षेत्रमा तारजाली लगाइसकेको डिभिजन वन कार्यालय, बर्दियाले जनाएको छ ।

Advertisement

अतिक्रमित क्षेत्र माचड, ओराली बजार लगायतका अतिक्रमण हटाइएका वन क्षेत्रमा तारवार गरिएको छ । तारजाली लगाइएको वन क्षृत्र सुरक्षित बन्दै गएको वन कार्यालयले जनाएको छ । तारजाली मधुवन, बारबर्दिया लगायत पालिकाको वन क्षेत्रमा लगाइएको छ । मधुवन–३ को भारतसँग जोडिएको कतरनियाघाट आरक्षबाट आउने वन्यजन्तुले बस्ती पसेर धनजनको क्षती गरिएको दशगजा क्षेत्रमा तारजाली लगाइएको छ ।

मधुवन–३, धनौराका किसान प्रकाश चौधरीले तारजाली लगाएपछि वन्यजन्तु आतंक ज्यूनिकरण भएको बताए । विगतमा यस क्षेत्रमा वन्यजन्तुबाट मानविय क्षती हुनाका साथै अन्नवाली सखाफ हँुदै आएको उनले जनाए ।

एक वर्ष यता सामुदायिक वनबाट निस्केको चितुवा, बाघ र हात्तीबाट एघार जनाको ज्यान गई सकेको छ । चितुवाबाट नौ जना र एकजना बाघ र एकजनाको हात्तीको आक्रमणमा परि ज्यान गएको छ । वर्षेनि मानव मात्र नभई किसानले लगाएको अन्नवाली समेत वन्यजन्तुले क्षती पुराउँदै आएको छ । तारजाली लगाएपछि मधुवन नगरपालिका–३ का बासिन्दा वन्यजन्तुबाट सुरक्षित महशुस गरेको मधुवन–३ का रामशंकर थारुले बताए । ‘नेपाल भारत सीमा नाकमा लगाएको तारजालीले भारतीय सीमाबाट आउने चितुवा, बदेल लगायतका वन्यजन्तु नेपालतर्फ आउन रोकिएको छ,’ उनले भने, ‘यसबाट मानविय, पशु र अन्नवाली क्षती भएको छैन ।’

मधुवन–५ मा पनि तारजाली वन क्षेत्रमा लगाइएको छ । तारजाली लगाउने मुख्य उद्देश्य मानव र वन्यजन्तु न्यूनिकरण हुने त्रिवेणी सामूदायिक वनकी अध्यक्ष कृष्णा गुरुङले बताइन् । ‘यसले वन्यजन्तु बस्तीमा प्रवेश गर्दैनन्,’ उनले भनिन् ‘यसका साथै वन अतिक्रमण, पशु र अन्नवालीलाई क्षती पुराउँदैन ।’ मानव वन्यजन्तुको द्वन्द्व न्यूनिकरण गर्न वन र आवादी बस्तीको बीचमा तारजाली लगाइएको छ । ४० किलोमिटर बढी तारवार लगाइसकेकाले अन्य सामुदायिक वनमा लगाउन वन प्रशासनले निर्देशन दिएको डिभिजन वन कार्यालय, बर्दियाका प्रमुख विजयराज सुवेदीले बताए । तारजालीले वन अतिक्रमण पनि रोकिने उनले जनाए ।