विपद रोकथामका लागि परम्परागत तयारी


रुपन्देही – पश्चिम तराईस्थित कपिलवस्तु लगायत जिल्लामा यस वर्ष विपदको कुनै तयारी छैन । जिल्ला प्रशासनले यस वर्ष पनि विपद् प्रतिकार्यको परम्परागत ढंगले तयारी गरिरहेको छ । जिल्लामा छलफल र बैठक बाहेक स्रोत जुटाउने काममा खासै ध्यान गएको पाइँदैन् ।
बुधबार बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले जिल्लाभर सतर्कता अपनाउने निर्णय गरेको छ । त्यस्तै यस वर्षका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार योजनाको प्रस्तावित मस्यौदा स्विकृत गरेको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रजिअ जनार्दन गौतमले बताए । गत वर्ष बनाइएको विपद् पूर्व तयारी तथा प्रतिकार योजनालाई परिमार्जन सहित स्विकृत गरेको छ । त्यस्तै जिल्लाका सरोकारवाला संघसंस्था र स्थानीय तहका प्रमुखसँग बसेर छलफल गरेर विपद् ब्यवस्थापनका लागि स्रोत जुटाएर तयारी अवस्थामा बस्ने निर्णय भएको छ ।
जिल्ला ठूल्ठूला नदी र खोला कारण बाढी र डुवानको उच्च जोखिममा छ । सीमामा भारतले बनाएको र बनाउन लागेको बाँधका कारण पनि वर्षाका बेला धेरै नेपाली भूभाग डुबानमा पर्छ । स्थानीय तह र सरोकारवाला कार्यालयहरुले विपद् क्षेत्र जोखिम पहिचान गरि जोखिमबाट मानवीय र भौतिक क्षति हुन नदिन पूर्व तयारी र सतर्कता अपनाउने निर्णय गरिएको छ । तर, योजना बनाईएको छैन् ।
कुन कुन ठाउँ र बस्ती उच्च जोखिममा छन् । त्यसको पहिचान पनि छैन् । बढी प्रभावित हुने ठाउँ पहिचान गरेर पूर्व सतर्कता पनि अपनाइएको छैन् । बाढी पहिरो आइहाले प्रभावितलाई कहाँ पुनःस्थापना गर्ने पनि योजना छैन् ? सतर्कता अपनाउन पूर्व तयारीका लागि प्रजिअ संयोजक रहेको जिल्ला विपद् व्यवस्थापन समितिसँग बजेट छैन् ।
‘हामी सतर्कता अपनाउँदै तयारी अवस्थामा छौं’, सहायक प्रजिअ भविश्वर घिमिरेले भने, ‘सबै सुरक्षा निकाय, स्थानीय तह र विषयगत कार्यालयलाई निर्देशन दिएका छौं ।’ मन्त्रालयबाट दैनिक र साप्ताहिक मौसम सम्बन्धी जानकारी आउँछ, जोखिम हुने अवस्था आउना साथ संचार माध्यमबाट समुदायलाई सचेत बनाउने योजना बनाएको उनले सुनाए । विपद्को समयमा खोज, उद्धार, राहत र पुनर्लाभ सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन र विपद्को समय हुन सक्ने जनधनको क्षतिलाई न्यूनिकारण गर्न सबै स्थानीय तहलाई आआफ्नो विपद् विपद् ब्यवस्थापन कोषमा रहेको मौज्दात रकम र चालु आवमा विनियोजित रकमलाई जिल्ला भित्र विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्ने कार्यलाई प्रभावकारी बनाउने निर्देशन गरेको उनले बताए ।
विपद्को ब्यवस्थापनका लागि प्रभावकारी योजना बनाएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । उद्धारदेखि पुनःस्थापनालाई प्राथमिकता दिएर एक्सनमा जाने रणनीति बनाएको उनले सुनाए । वाणगंगा, गुडरुङ, सुरई र चिरई यहाँका निक्कै संवेदनशील खोला हुन् । वाणगंगा खोला किनारका नदी तटिय क्षेत्रमा दर्जनौ गाउँ बस्ती उच्च जोखिममा छन् । कतिपय गाउँ त खोलासँग सटेरै छन् । अर्घाखाँचीदेखि कपिलवस्तु हुँदै भारतीय सिमासम्मका नदी तटीय क्षेत्र बढ्दो जोखिममा छन् ।
पाल्पामा राजमार्ग अवरोध र विपद्जन्य घटनाको क्षति न्यूनिकरण गर्न विपद् व्यवस्थापन समितिले मनसुनजन्य प्रतिकार्य योजना बनाएको छ । मनसुन सुरु भैसकेकाले मनसुनबाट हुने बाढी पहिरोबाट धनजनको क्षति हुन सक्ने र सडक, राजमार्गहरुसमेत अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै पूर्व तयारी र प्रतिकार्यका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना, २०८३ स्वीकृत गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराज सुवेदीले बताए । चुनौतीका रुपमा रहेको सिद्धार्थ राजमार्गको सिद्धबाबा, दोभान, हिउँदेखोला, चर्चरे, २४ माइल, पिपलडाँडा साथै तानसेन गुल्मी सडक लगायतका स्थानमा पहिरो जान सक्ने भएकाले तत्काल सडक खुलाउने तयारी गरिएको छ ।
सहायक प्रजिअ सुवेदीका अनुसार कार्ययोजना वमोजिमका कार्य सबै सरोकारवाला निकायहरुले कार्यान्वयन गरिनेछ । सिद्धार्थ राजमार्गको दोभान–राम्दी खण्ड र वर्तुङ्ग–रिडी खण्डको हकमा सडक डिभिजन कार्यालय, पाल्पाले कम्तिमा चार स्थानहरुमा डोजर तथा एक्जाभेटर तयारी अवस्थामा राखिने उनले बताए ।
सडक पूर्वाधार विकास कार्यालयले आर्यभन्ज्याङ्ग–ताहूँ–रामपुर सडक खण्ड र हार्थोक छहरा खण्डमा पहिरो गई सडक अवरुद्ध भएमा सम्बन्धित पालिकासँग समन्वय गरी सडकहरुको पहिरो यथाशक्य छिटो हटाउने गरी तयारी अवस्थामा रहने विपद् व्यवस्थापन समितिबाट निर्णय भएको छ । मनसुनजन्य विपद व्यवस्थापनको लागि स्थानीय तहको मुख्य भूमिका रहने पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । प्रत्येक वडा एवं समुदायस्तरमा विपद उद्धार टोली गठन गरी विपदजन्य घटना घटेको ठाउँमा तत्कालै खटाउन सकिने गरी तयारी अवस्थामा राखिनेछ ।
जिल्लाका १० वटै स्थानीय तहले विपद् जोखिम न्यूनीकरण, खोज, उद्धार राहत तथा पुनर्निमाण र पुनस्थापना एवम् स्थानीय विपद व्यवस्थापन कोषमा पर्याप्त वजेट प्रस्ताव र विनियोजन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले बताए । विपदजन्य घटनामा तत्काल उद्धार गर्न जिल्ला स्थित सुरक्षा निकाय नेपालीसेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले आ–आफ्नो जनशक्ति र उपलब्ध श्रोत साधन तयारी अवस्थामा रहने गरी आवश्यक व्यवस्था मिलाइने उनले बताए । सिद्धार्थ राजमार्गको दोभान सिद्धवावा खण्डमा रातीको समयमा भारी वर्षा भएमा परिस्थिती आँकलन गरी केही समयको लागि सवारी साधन आवागमनमा रोक लगाउने व्यवस्था मिलाइने प्रजिअ पाण्डेयले बताए ।
सबै स्थानीय तहका एम्बुलेन्स तथा दमकल जस्ता साधनलाई तयारी अवस्थामा राख्न लगाइएको र विपदमा परेका बेलामा तत्काल उद्दार गर्न वडा तहमै आम नागरिक समाज, राजनैतिक दल तथा अन्य नागरिकको सहभागितामा स्वय्सेवी टीम बनाउने तयारी गरिएको छ । विपद्जन्य घटना घटेमा दिने राहत स्थानीय तहमार्फत् एकद्धार प्रणालीबाट दिइने भएकाले स्थानीय विपद् व्यवस्थापन कोषमा रकम राख्न आग्रह गरिएको उनले बताए । रुपन्देही, पश्चिम नवलपरासी, बाँके, दाङ, बर्दिया लगायतका जिल्लामा पनि विपद पूर्वतयारीका बैठक बाहेक खासै तयारी छैन । परम्परागत शैलीको तयारीले ठूलो संकट आए राहत र उद्धार प्रभावकारी हुन नसक्ने विपद विज्ञहरु बताउँछन् ।








प्रतिकृया दिनुहोस्