July 5, 2026, Sunday
२०८३ असार २१ आईतवार

लामो रस्साकस्सी पछि लुम्बिनी प्रदेशसभा बैठक बस्दै, कस्तो छ कार्यसूचि ?

Advertisement

भैरहवा– लामो रस्साकस्सी पछि आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै छ । असार १० मा सरकारले बजेट ल्याएको थियो । तर, बजेट मन्त्रीको क्षेत्र केन्द्रित गरिएको र आफू अनुकुलका क्षेत्रमा विनियोजन भएको भन्दै सांसदहरले विरोध जनाएका थिए । सत्ताघटक दलमै विवाद भएपछि पटकपटक सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित हुँदै आएको थियो ।

Advertisement

आज बस्ने बैठकमा लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल हुने छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमानमाथि प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएपछि यसअघि बजेटमाथिको छलफल नियमित रूपमा अघि बढ्न सकेको थिएन। बजेटको वितरण, योजना छनोट तथा स्रोत बाँडफाँटप्रति सत्तारुढ दलकै केही सांसदले असन्तुष्टि जनाएपछि प्रदेश सभाको कार्यसूची प्रभावित बनेको थियो।

विभिन्न चरणमा भएको आन्तरिक छलफल तथा सहमतिपछि आजको बैठकबाट बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढाइने भएको हो।

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार प्रदेश सभा सदस्यहरूले बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिनेछन्। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिनेछन्।

त्यसपछि मन्त्री कार्कीले विनियोजन विधेयक प्रदेश सभामा पेस गर्ने कार्यसूची छ। यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’ विषयगत समितिमा पठाउने प्रस्ताव पनि सभामा पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।