कथाः रातले बिर्सिएको बालापन


रात फेरि झरेको थियो तर त्यो रात सामान्य थिएन । आकाशबाट शान्त अँध्यारो झरेको थिएन, बरु धुवाँ, बारुद र डरले भरिएको एउटा जीवित घाउ थियो । हावा पनि शान्त थिएन, कराइरहेको थियो । कहिले टाढा, कहिले नजिक । जस्तो आकाश आफैँ टुक्रिँदै रोइरहेको हो । चन्द्रमा देखिँदैनथ्यो, उसले आफ्नो अनुहार ढाकेको थियो । ताराहरू चम्किन छाडेका थिए । शायद उनीहरू पनि युद्धको आवाजले डराएर आकाशको कुनै कुनामा लुकिरहेका थिए ।
सिरियाको त्यो सानो गाउँ, नक्सामा कहिल्यै ठूलो अक्षरमा लेखिएको थिएन । तर आज त्यो गाउँ संसारको पीडाको केन्द्र बनेको थियो । त्यहाँ घरहरू थिए, तर घरजस्ता थिएनन् । भत्किएका पर्खालहरू, चिरा परेका छाना, आधा जलेका ढोका सबै कुरा मृत्युको स्मारकजस्तै उभिएका थिए । हरेक ढुंगाले केही भन्न खोज्थ्यो, तर शब्दहरू विस्फोटको आवाजमा हराइसकेका थिए ।
त्यही भग्नावशेषका बीचमा एउटा बालक बसेको थियो । नाम थियो युसुफ । उमेर केवल नौ वर्ष । तर आँखामा समयभन्दा भारी अनुभूति थियो जसले बालापन होइन, विनाश पढेको थियो । उसका आँखामा खेल मैदान थिएन, त्यहाँ धुवाँ थियो । कानमा लोरी होइन, विस्फोटको गर्जन थियो । हातमा कापी होइन, डरको धुलो थियो ।
उसले कहिल्यै बाल्यकाललाई चिनेको थिएन । उसको पहिलो स्मृति आमाको हाँसो होइन, बरु आकाश च्यातिने आवाज थियो । वर्णमाला सिक्नुभन्दा पहिले उसले “बच” शब्द चिनेको थियो । र “दौड” शब्द उसको जीवनको पहिलो आदेश बनेको थियो ।
त्यो गाउँमा हावा पनि बदलिएको थियो । पहिले त्यो हावाले जैतुनको बोटको सुवास ल्याउँथ्यो । अब त्यो हावाले जलेको काठ, धुवाँ र रगतको गन्ध ल्याउँथ्यो । युसुफले धेरै पटक नाक थुनेको थियो, तर गन्ध नरोकिने कुरा उसले धेरै पहिले बुझिसकेको थियो । युद्ध केवल कानले सुन्ने कुरा होइन, त्यो त शरीरभित्र पस्ने गन्ध हो ।
उसको घर कहिल्यै यस्तो मौन थिएन । पहिले बिहान आमा रोटी पकाउँथिन् । तन्दुरको तातोले घरलाई जीवन दिन्थ्यो । बुबा पुरानो रेडियोमा समाचार सुन्थे । बहिनी सानो स्वरमा गीत गाइरहन्थी । घर सानो थियो, तर जीवन ठूलो थियो । आँगनमा कबूतरहरू आउँथे । जैतुनको रुखले छाया दिन्थ्यो ।
तर त्यो संसार अब छैन ।
अब तन्दुर चिसो छ । रेडियो मौन छ । हाँसो हराएको छ । जैतुनको रुख आधा जलेको छ । र कबूतरहरू ? शायद उनीहरू पनि शान्ति खोज्दै टाढा उडिसकेका छन् ।
त्यो बिहान युसुफले अझै सम्झन्छ । आकाश अचानक कराएको थियो । पहिलो विस्फोट, दोस्रो, तेस्रो… अनि पूरा संसार टुक्रिएको जस्तो भयो । धुलो यति बाक्लो थियो कि सूर्य पनि हरायो ।
उसले आमाको आवाज सुनेको थियो
“युसुफ… दौड…”
तर त्यो आवाज पूरा हुन पाएन ।
भित्ताहरू ढले । घर भत्कियो । आकाश खस्यो ।
जब धुलो बसेको थियो, संसार उस्तै थिएन ।
उसले आमालाई खोज्यो । बुबालाई खोज्यो । बहिनीलाई खोज्यो । तर भेटियो केवल एउटा रातो स्कार्फ ।
त्यो स्कार्फमा पहिले फूल थिए । अब रगत छ ।
त्यो दिनदेखि युसुफले आँशु गन्न छोड्यो । किनकि आँशु पनि सीमित हुन्छन् । तर पीडा सीमित हुँदैन । भोक सकिँदैन । डर सकिँदैन । युद्ध सकिँदैन । र सम्झना… सम्झना त अझै गहिरो हुँदै जान्छ ।
अब ऊ भग्न घरको कुनामा सुत्थ्यो । आधा आकाश उसको छाना थियो । आधा धुवाँ उसको ओढ्ने । रातभर मुसाहरू दौडिन्थे । हावा चिसो भएर भित्र पस्थ्यो । हरेक आवाज उसका लागि मृत्युको संकेत थियो । निद्रा आउँथ्यो, तर सपना आउँदैनथ्यो । युद्धले बालबालिकाबाट सबैभन्दा पहिले सपना चोर्छ ।
बिहान ऊ भग्न विद्यालयतिर जान्थ्यो । त्यो विद्यालय अब विद्यालय थिएन । त्यो एउटा मौन समाधि थियो । भित्तामा अझै लेखिएको थियो “शान्ति ।”
तर त्यही शब्दको तल गोलीको प्वाल थियो ।
युसुफले त्यो शब्द छोयो । उसलाई लाग्यो—मानिसहरूले शब्द त बनाउन सक्छन्, तर अर्थ जोगाउन सक्दैनन् ।
ऊ हरेक दिन एउटा पुरानो कापी बोकेर आउँथ्यो । त्यहाँ गणित थिएन । इतिहास थिएन । भूगोल थिएन । त्यहाँ केवल नामहरू थिए ।
उसका आमाबुबा । बहिनी । छिमेकीहरू । हराएका गाउँका मानिसहरू ।
हरेक नाम एउटा चिहान थियो । हरेक अक्षर एउटा चिच्याहट ।
एक दिन सहायता संस्था आयो । उनीहरूले रोटी बाँडे । औषधि बाँडे । कम्बल बाँडे ।
एक विदेशी महिलाले सोधिन्,
“तिमीलाई के चाहिन्छ ?”
युसुफले लामो समय केही बोलेन । उसले रोटी हेरेन । कम्बल हेरेन ।
उसले आकाश हेर्यो ।
अनि बिस्तारै भन्यो—
“मलाई एउटा रात चाहिन्छ… जुन रातमा आकाश नकराओस् ।”
त्यो शब्द सुनेर महिला रोइन् । तर युसुफ रोएन । किनकि धेरै रोएको मानिससँग आँशु बाँकी हुँदैन ।
त्यस साँझ सूर्य रगतजस्तै रातो भएर अस्तायो ।
युसुफ भग्न जैतुनको रुखमुनि बस्यो । माटो चिसो थियो । धुवाँ अझै आकाशमा तैरिरहेको थियो । उसले आफ्नो सानो हातले जमिन खन्यो । अनि एउटा सानो बीउ गाड्यो ।
किन ? उसलाई पनि थाहा थिएन ।
शायद युद्धभन्दा गहिरो केही कुरा उसको हृदयमा बाँकी थियो ।
आशा । र आशा सधैँ सानो नै त हुन्छ, बीउजस्तै । तर त्यो बीउले कहिल्यै चिच्याउँदैन । त्यो चुपचाप बढ्छ ।
त्यो रात आकाश फेरि करायो । तर युसुफले पहिलो पटक त्यो आवाजलाई मात्र सुनेन, त्यसलाई पार गरेर केही देख्यो टाढा, धेरै टाढा, एउटा हरियो संसारको सम्भावना ।
र पहिलो पटक, धुवाँभित्र पनि उसको मनले बिस्तारै फुसफुसायो, “शायद, बिहान अझै मरेको छैन ।”
-sahityapost








प्रतिकृया दिनुहोस्