किसान सुक्खाको मारमा परेका बेला धान दिवसको रमझम


भैरहवा– लुम्बिनी प्रदेशका अधिकांश किसान मल, बीउ र सिंचाई अभावमा छट्पटिएका बेला सरकारी र निजी संस्थाले सोमबार धुमधाम धान दिवस मनाइरहेका छन् । प्रदेशका पश्चिम नवलपरासीदेखि बर्दियासम्म दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सोमबार बिहानबाट धान दिवस र महोत्सवका कार्यक्रम सुरु भइसकेका छन् । सोमबार प्रदेशमा वर्षा भइरहेको छ । त्यसले पनि दिवस मनाउन सहज भएको छ ।
प्रदेश सरकारले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा धान दिवस मनाउन लागेको हो । कृषि विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेले तीन तहकै सरकारको समन्वयमा सुनवल नगरपालिकामा धान दिवस मनाउन लागिएको बताए । ‘लुम्बिनी प्रदेशका तराईका पहाडी जिल्लामा प्यूठानमा सबै भन्दा धेरै धान रोपाईं भएको र पाल्पामा सबै भन्दा कम रोपाई भएको देखिएको छ,’ उनले भने, ‘धान दिवसका अवसरमा तिन तहकै सरकारको समन्वयमा सोमबार उत्साहसाथ सुनवलमा धान दिवस मनाउने कार्यक्रम छ ।’
संघीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा दिवस मनाउन लागिएको उनले बताए । रूपन्देहीको शुद्धोधन गाउँपालिकाको मानपकडीमा पनि धान दिवस मनाइँदै छ । लुम्बिनी प्रदेशका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा धान दिवस मनाईने कृषि ज्ञान केन्द्र रूपन्देहीका भाष्कर पौडेलले बताए । मानपकडीमा सहभागिता जनाएर मन्त्री चौधरी प्रदेश सरकारको धान दिवस मनाउन पश्चिम नवलपरासी पुग्ने भएकाले विहानै किसानको खेतमा पुग्ने गरी तयारी गरिएको उनले बताए ।
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले सोमबार गुलरिया–३, खैरीमा धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेको छ । कार्यालयको आर्थिक सहयोग र सुनौलो महिला सहकारीको समन्वयमा बिहान ८ बजेबाट महोत्सव आयोजना गरिएको छ । ‘पानी नपरेर समस्या छ,’ कार्यालय प्रमुख कमला अधिकारीले भनिन्, ‘समस्याको बापजुद धान दिवस त मनाउनै पर्याे, दिवस हाम्रो वार्षिक कार्यक्रम हो ।’ खैरी स्थित ३ कठ्ठा जमिनमा मोटरले भूमिगत जल तानेर सिंचाई गरेर रोपाई गरी दिवस मनाउने तयारी पूरा भएको प्रमुख अधिकारीले बताइन् । बर्दिया लगायत पश्चिम तराईका जिल्लामा आइतबारसम्म वर्षा भएको छैन । अत्यधिक गर्मी छ । चर्को गर्मीमा धानको ब्याड कसरी जोगाउने भन्ने चिन्तामा किसान छन् । ब्याड समेत सुक्ने स्थितिमा पुगेको गुनासो गर्छन् । एकातिर सिंचाईको समस्या छ ।
कपिलवस्तुमा सोमबार धान दिवस मनाउन भ्याई–नभ्याई छ । जिल्लाका १० स्थानीय तहमा १० वटै कार्यक्रम तय छन् । धान दिवसमा सहभागिताका लागि एक गैरसरकारी संस्थाले सोमबार बिहानैं प्रमुख जिल्ला अधिकारी नवराज गौतम सहितको टोलीलाई हरनामपुरमा निम्त्याएको छ । अपरान्ह कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रमले डुमरामा आयोजना गरेको जाने कार्यक्रममा सहभागी हुने तयारी छ । दिवस मनाउन मारामार चलिरहदा रोपाई गर्न नपाएर कृषक तनाब र छटपटिमा छन् ।
यशोधरा–२, भावपुरका अभिषेक पाण्डेले काला नमक र साभा मन्सुलीको उन्नत जातको बिउ रोपेको दुई साता भन्दा बढी भयो । ‘सुरुमा मल र बिउ नपाएर सास्ती भयो,’ उनले भने, ‘भारतीय बजारबाट सुरक्षाकर्मीको आँखा छलेर बीउ ल्याएर काम चलाए ।’ दुई बिघामा रोपाईका लागि सिंचाई छैन । पानी नपरेर खेत धाँजा फाटेका छन् । बिउ डढ्न थालेको छ । जोताई, गोडमेल, मल, ज्याला मजदुरी, सिंचाई गरि ५ हजार भन्दा बढी खर्च भइसक्यो । समयमा रोपाई नभएपछि लगानी खेर जाने जोखम छ ।
कपिलवस्तु–३, सड्वाका कृष्ण कोहारपनि अझै बिउ राख्न सकेका छैनन् । ‘रोप्नु पर्ने बेला बिउ नै राखेको छैन्,’ उनले भने, ‘ढिलो हुने निश्चित भयो । मनसुन सक्रिय नहुँदा वर्षा भएको छैन्, बिउ राख्न नपाउँदा छट्पटिएको छु ।’ शनिवार राति बुटवल आसपास वर्षा भयो । तर, सिमावर्ती क्षेत्रमा छिटा परेन् । खेतीपाती गरेर भएको उब्जनी बेचबिखन गरेर घर गर्जो टादै आएका उनलाई अब कसरी ८ जनाको परिवार ? पाल्ने चिन्ताले भोक न प्यास बनएको छ । ‘धान दिवशको तामझाम भन्दा सिंचाईको उचित ब्यवस्थातिर लाग्नुपर्छ,’ उनले भने, ‘दिनरात आकाशतिर टोलाउदा टोलाउदै आखा थाके तर, वादल लाग्दैन् ।’








प्रतिकृया दिनुहोस्