भैरहवा नाकाबाट भारतीय पर्यटकको आगमन बढ्दो, मुख्य गन्तब्य पोखरा–मुस्ताङ–कोरला


भैरहवा–भैरहवा नाका हुँदै पछिल्लो समय भारतीय पर्यटक नेपाल भ्रमणमा आउने क्रम बढेको छ । बिशेषगरी बिदा भएको बेला पारिवारिक भ्रमण र साथीभाइसंग छुट्टी मनाउन अधिकाँश भारतीय पर्यटक आफ्नै सवारी साधान सहित यस नाकाबाट नेपाल आउने गर्छन् ।
भैरहवा नाका नेपालकै मध्यभागमा अवस्थित हुनु र यस नाकाबाट पोखरा, मुक्तिनाथ, चितवन, काठमाडौं लगायतका पर्यटकीय स्थल जान सडक सञ्जालको विकास, बस्न खान स्तरीय होटल र आवश्यक परेमा हवाइजहाजको सुविधा रहेकाले नेपाल आउनका लागि भारतीय पर्यटकलाई भैरहवा नाका रोजाइमा परको हो ।
भैरहवा भन्सार कार्यालयको तथ्याकं अनुसार, भैरहवा नाकाबाट नेपाल भ्रमणका लागि आउने भारतीय पर्यटकको गाडी दैनिक ५ सय भन्दा धेरै भित्रिने गर्छ । कहिलेकाही यो संख्या दैनिक १ हजार २ सय भन्दा पनि धेरै पुग्ने गर्छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भैरहवा नाकाबाट गाडी सहित नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्न थालेपछि उनीहरुको सहजिकरणका लागि भन्सारमा अनलाइन सिस्टम लागू गरिएको बताए । ‘बिशेषगरी बिदाको वेला छुट्टी मनाउन भारतीय पर्यटक नेपालमा आउने गरेका छन्’, पौडेलले भने, ‘भैरहवा नाकाबाट नेपाल आउने अधिकाँश भारतीय पर्यटकको गन्तब्य भनेको मुस्ताङको मुक्तिनाथ र कोरला, पोखरा र चितवन हो ।’
उनका अनुसार, भैरहवा नाकाबाट भारतको केरला, मध्यप्रदेश, दिल्ली, उत्तरप्रदेश, पंजाव लगायतका ठाउँबाट आउने गर्छन् । कतिपय भारतीय पर्यटक भैरहवादेखि करिव १ सय किमी पर भारतको गोरखपुरसम्म रेलमा यात्रा गरेरपनि भैरहवा नाकाबाट नेपाल आउने गरेका छन् ।
भारतीय पर्यटक नेपालमा सरदर तीन दिनसम्म बिताउने गरेको भन्सारको तथ्यांकले देखाउने गरेको पौडेलले जनाए । भारतीय साना गाडी नेपाल ल्याउँदा प्रतिदिन प्रतिगाडी दैनिक ६ सय रुपैयाँ महशुल लाग्ने गर्छ । मोटरसाइकलको २ सय रुपैयाँ । जरिवाना तिर्नु परेमा गाडीको प्रतिदिन २ हजार ५ सय र मोटरसाइकलको १ हजार २ रुपैयाँ । पहिला भारतीय सवारीसाधान सहित फर्किदा भन्सारमा सामान्य चेकजाँज गरे हुनेमा अहिले सवै कागजात सहित अनलाइनमा दर्ता हुनु पर्ने प्रावधान छ ।
भैरहवा नाकाबाट भारतीय पर्यटक बढि नेपाल भित्रिनुमा पोखरा लगायत् नेपाली पर्यटन व्यवसायीहरुले भारतका विभिन्न सहरमा गर्ने गरेको पर्यटन प्रबद्र्दनात्मक प्रचार प्रशारका कार्यक्रमको परीणाम रहेको भैरहवाका पर्यटन व्यवसायी तथा नेपाल होटल एशोसीयसनका केन्द्रिय सदस्य चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् ।
तर, भारतीय पर्यटकले नेपालको नियम जानकारी नभएर बढि नगद पैसा ल्याएमा सुरक्षा निकायबाट जफत सहित कारवाही हुने नियमले उनीहरु समस्यामा पर्ने गरेको श्रेष्ठले बताए । ‘नगद पैसा ल्याउदा र सवारी सान ल्याउँदा नेपालमा धेरै दुःख पाइयो भन्ने भारतीय पर्यटक धेरै छन्’, श्रेष्ठले भने, ‘भारतीय पर्यटकको सहजीकरणका लागि हरेक भन्सार नाकामा एउटा सुनुवाई डेस्क बनाउन जरुरी छ ।’








प्रतिकृया दिनुहोस्