June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

बाँकेमा ‘विद्यालय उपभोक्ता शिक्षा सचेतना कार्यक्रम’

Advertisement

नेपालगन्ज–विद्यालय तहदेखि नै विद्यार्थीहरूमा उपभोक्ता अधिकार, खाद्य स्वच्छता, गुणस्तरीय वस्तु तथा सेवाको छनोट र स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगन्जमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम गरिएको छ ।

Advertisement

घरेलु तथा साना उद्योग कार्यालय बाँके र उपभोक्ता हित संरक्षण मञ्च नेपालको संयुक्त आयोजनामा नेपालगन्जस्थित होप इन्टरनेसनल एकेडेमीमा उक्त सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा, उपभोक्ता शिक्षाको औचित्य, आवश्यकता तथा समसामयिक सान्दर्भिकतामाथि विस्तृत रूपमा प्रकाश पारिएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका वरिष्ठ अधिकृत पुष्करसिंह ठकुरीले विद्यार्थीहरू भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमानका उपभोक्ता समेत भएको स्पष्ट बताए । विद्यालयस्तरमै उपभोक्ता अधिकार, कर्तव्य र जिम्मेवारीका विषयमा जानकारी दिनु आजको आवश्यकता भएको भनाइ उनको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँके शाखाका अध्यक्ष सुरेशकुमार गौतमले उपभोक्ता शिक्षालाई समाजको आधारभूत आवश्यकताका रूपमा लिनु पर्ने बताए । विद्यालयस्तरमा गरिने यस्ता सचेतनामुलक कार्यक्रमले भावी पुस्तामा सचेतना, जिम्मेवारी र अधिकारप्रतिको बोध वृद्धि उनले जनाए ।

कार्यक्रममा, उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था, उपभोक्ताका मौलिक अधिकार, क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था तथा कानुनी उपचारका प्रक्रियाबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी गराउदै बजारमा वस्तु तथा सेवा खरिद गर्दा सधैँ सचेत रहनु पर्ने वारे बिद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।

सहभागी विद्यार्थीहरूले कार्यक्रमबाट प्राप्त ज्ञानलाई आफ्नो दैनिक व्यवहारमा उतार्ने र आफ्ना परिवार एवं समुदायमा समेत सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरे । बजारमा बढ्दो उपभोक्ता ठगी र अस्वस्थ जीवनशैलीको चुनौतीका बिच विद्यालयस्तरमै सञ्चालन गरिएको यस्तो कार्यक्रमले उपभोक्ता अधिकारप्रति जागरूक, स्वास्थ्यप्रति जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिक निर्माण गर्ने अभियानलाई थप बल पु¥याउने बिश्वास गरिएको छ ।