June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

विश्व शान्तिको कामना गर्दै भैरहवामा धम्मयात्रा (फोटो फिचर)

Advertisement

भैरहवा- विश्व शान्तिको सन्देश दिने उद्देश्यसहित भैरहवामा तेस्रो धम्म यात्रा भएको छ । भैरहवाको सिद्धार्थ रंगशाला रोडदेखि बुद्धचोकस्थित लुम्बिनी रोडसम्म धम्म यात्रा भएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा श्रामणेर (अल्पकालीन) भिक्षु बनेका ५ सय जना र स्थानीयको उपस्थितिमा धम्म यात्रा भएको । धम्म यात्रामा बौद्ध धर्मसँग सरोकार राख्ने विभिन्न संघसंस्थाका साथै स्थानीय दर्जनौं संघसंस्थाहरु सहभागी थिए ।

Advertisement

अखिल नेपाल भिक्षु महासंघ र थाई धर्मदूत इण्डिया–नेपालको आयोजना तथा बौद्ध समाज नेपालको व्यवस्थापनमा धम्म यात्रा भएको हो । बौद्ध समाजका अध्यक्ष शंकर गाहाले नेपाल लगायत विश्वभर शान्तिको सन्देश दिन, पर्यटन पवद्र्धन गर्न र सबै जात, धर्मको सामाजिक एकतालाई थप मजबुद्ध पार्न धम्म यात्रा गरिएको बताए । शुक्रबार लुम्बिनी, देवदह र बुटवलमा पनि धम्म यात्रा गरिएको थियो । अन्तिम दिन भैरहवामा बृहत् धम्म यात्रा गरिएको हो ।

बुद्ध शिक्षा सम्झिन, ध्यान, पूजा र शान्तिको अभ्यास गर्न, धार्मिक तथा सांस्कृतिक अध्ययन गर्न, शान्तिको सन्देश दिन धम्म यात्रा गर्ने प्रचलन छ । नेपालमा मात्रै नभएर विश्वका विभिन्न बौद्धिष्ट मुलुकहरुमा पनि धम्म यात्रा गर्ने चलन छ ।

धम्म यात्रामा प्रवजित अल्पकालीन भिक्षुहरु, भन्तेहरु, स्थानीय बासिन्दा, संघसंस्था, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, स्थानीय सरकारका प्रतिनिधि सहभागी थिए् । श्रामणेरलाई लुम्बिनी गेट परिसरमा पुष्प अर्पण गरी स्वागत गरिएको थियो । बुद्धले ज्ञान लाभ प्राप्त गरेपछि पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनको निमन्त्रणामा गृहनगर कपिलवस्तुको तिलौराकोट फर्कंदा प्रयोग गरेको मार्गका रुपमा हालको सिद्धार्थनगर–लुम्बिनी मार्गलाई चिनिन्छि ।

यही मार्गमा अवस्थित लुम्बिनी गेटको प्रबद्र्धन गरी धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले विगत तीन वर्षदेखि लगातार धम्म यात्रा गरिँदै आएको छ । धम्मयात्रालाई निरन्तरता दिँदा पर्यटकीय दृष्टिकोणले समेत फाइदा पुग्ने विश्वास आयोजकको छ ।

धम्मयात्रामा विभिन्न मुलकबाट भिक्षु–भिक्षुणी, उपसाक–उपसिकाहरु सहभागी भएका थिए । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई निकै महत्वपूर्ण मानिन्छ । समुदायतहसम्म बौद्ध शिक्षालाई पुर्याउन यो यात्राले थप सहयोग पुग्ने आयोजकले विश्वास गरेका छन् । अल्पकालीन भिक्षुहरूले पहेंलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्छ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्छ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्छ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्म तिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । अघिल्लो हप्ता अल्पकालीन भिक्षुहरूलाई प्रवज्या गराई पहेँलो चीवर प्रदान गरिएको थियो । लुम्बिनीमा भएको ५ सय जनाको प्रवज्याले बुद्ध धर्म, ज्ञान र बौद्ध गतिविधिलाई जोडेको विश्वास गरिएको छ । यसले बुद्ध जन्मस्थलको प्रचार प्रसारसँगै पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा लुम्बिनीका सभामुख घर्ती, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमख खाँन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ लगायतले बोल्दै धम्मयात्राले शान्ति, भ्रातृत्व र करुणको सन्देश दिएको बताए । उनीहरुले यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।