गन्धर्वको पुर्खौली पेशा जोगाउनै मुस्किल


बर्दिया– कुनै बेला गाउँ घरतिर मिठो सारङ्गीको आवाज निकालेर जोसुकैलाई मोहित पार्ने गन्धर्वहरु आजभोलि खासै देखिँदैनन् । विभिन्न कारणले परम्परागत पुर्खौली पेशा धरापमा परेपछि अन्य पेशातिर उनीहरु पलायन हुँदा गाउँ घरतिर देखिन छाडेका हुन् ।
जीविकोपार्जनको लागि सारङ्गी बजाएर हिंड्ने गन्धर्व समुदायका व्यक्तिहरु प्रायः ज्याला मजदुरी गर्नतर्फ देखिन्छन् । आधुनिक प्रविधिको अविष्कार र समुदायले मगन्ते, फिरन्ते जस्ता घृणित शब्द प्रयोग गर्दा नयाँ पुस्ता सारङ्गी बजाउने पुर्खौली पेशातर्फ आकर्षण घटेको गन्धर्व समुदायको गुनासो छ ।
सारङ्गी बजाउने पुर्खौली पेशातर्फ नयाँ पुस्ताको आकर्षण घट्दै गएपछि पुर्र्खौली पेशा नै लोप हुने चिन्ताले बढैयाताल गाउँपालिका–४ गन्धर्व बस्तीलाई पिरोलिरहेको छ । उक्त गन्धर्व वस्तीमा करिब ८४ घरधुरी छ । जसमध्ये ४ जनाले मात्र सारङ्गी रेट्ने पुर्खौली पेशालाई अंगालेका छन् भने अरु अन्य पेशातिर पलायन भएका छन् ।
आधुनिक प्रविधिको विकास हुनु अघि सारङ्गीमा मोहित गर्ने शक्ति रहेको बढैयाताल गाउँपालिका–४ गन्धर्व बस्तीका ६२ वर्षीय ब्रिजित गन्धर्वले बताए । ‘सारङ्गी बजाएर गितको माध्यमबाट एक ठाउँको घटना अर्को ठाउँमा पस्केर मान्छेहरु खुसी बनाइन्थ्यो,’ उनले भने, ‘खुसी बनाए वापत उनीहरुले राम्रै दक्षिणा पनि दिन्थे ।’
१५ वर्षको हुँदादेखि सारङ्गी लिएर हिंड्न थालेको उनले सुनाए । ‘त्यतिबेला गाडी मोटर चल्थेनन्, बिना चप्पल पैदल हिंड्दा हिंड्दा खुट्टामा फोका पर्थे, । सारङ्गी बजाउँदै पूर्वका केही जिल्लाबाहेक देशका अधिकांश जिल्ला पुगे, पहाडतिर एक गाउँबाट अर्को गाउँ पुग्न दुई तीन दिन लाग्थ्यो र गाउँ नपुग्दासम्म खाना पनि मिल्थेन,’ उनले भने, ‘गाउँमा पुग्दा कहिले भोकै बस्न परेन, हातमा सारङ्गी देखेपछि सबैले सजिलै खाना र बास दिन्थे ।’
तर, आजभोलि हातहातमा मोबाइल छ सारङ्गी बजाउन नपाउँदै डिस्टब नगर्नुस् भनेर कतिले दक्षिणा दिन्छन् त कतिलै त्यसै पठाउने गरेको उनले सुनाए । जानेको सारङ्गी बजाउने सिपले परिवारको गुजारा नचलेपछि ज्याला मजदुरीको काम सुरु गरेको बढैयाताल–४ का ३९ वर्षीय नरबहादुर गन्धर्वले बताए । ‘दुई छोरी र एक छोरा छ,’ उनले भने, ‘ठुली छोरी ९, माईली छोरी ३ र छोरा ३ कक्षामा पढ्छ ।’
‘१५महिना अघि श्रीमती बैदेशिक रोजगारको क्रममा कुवेत गएकी छन्,’ उनले भने, ‘म पनि मजदुरी गर्न भारततर्फ जाने आउने गर्छु ।’ उनका अनुसार गन्धर्व समुदायका १५ बढी महिला बैदेशिक रोजगारमा छन् । बढैयाताल गापा–४ गन्धर्व बस्तीमा करिब ८४ घरधुरी रहेको नेपाल गन्धर्व समाजको संस्थापक अध्यक्ष ६४ वर्षीय कैलाशकुमार गन्धर्वले बताए । ‘वि.सं. २०५२ सालमा करिब ३५ परिवारलाई एक जनालाई एक कठ्ठाका दरले सरकारले जग्गा दिएको थियो,’ उनले भने, ‘त्यो जग्गाको आधाजति मानखोला नदीले कटान गरिसकेको छ ।’ बस्तीमा खानेपानी र विद्यालयको अभाव छ । त्यसको लागि वडा र पालिकासँग पहल गरिरहेको सुनाए । उनका अनुसार सुर्खेत, जाजरकोट, दाङ र सल्यानबाट गन्धर्वहरु आएका हुन् ।
सरकारले सारङ्गीलाई राष्ट्रिय बाजा घोषणा गरि गन्धर्व समुदायको लागि संग्रहालय र सिप क्षमता विकासका लागि तालिम ल्याउन जरुरी रहेको गन्धर्व समुदायको माग छ ।
सहरी विकासबाट दुई कोठे पक्की भवन, पक्की सडक र नाली बनाएर गन्धर्व बस्तीलाई सुन्दर बस्ती बनाएको बढैयाताल गाउँपालिका–४ का वडाध्यक्ष नगरे थापाले बताए । गन्धर्वहरुको पेशा लोप हुन नदिने जस्ता वडाले कार्यक्रम नल्याएको अध्यक्ष थापाले जनाए ।








प्रतिकृया दिनुहोस्