March 18, 2025, Tuesday
२०८१ चैत्र ५

आठ महिनामै रूपन्देहीमा क्षयरोगबाट २८ जनाको मृत्यु

भैरहवा– रुपन्देहीमा क्षयरोगबाट मृत्यु हुनेको संख्या बढेको छ । वर्सेनि रोग नियन्त्रणका प्रयास भइरहँदा त्यसको प्रभावकारिता खासै देखिएको छैन । जसले गर्दा मृतकको संख्या बढीरहेको छ । अर्कातर्फ विरामी स्वयंले लापरबाही गर्दा पनि रोगी पत्ता लगाउन र नियन्त्रणमा सरकारलाई कठिनाई भइरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीकाअनुसार चालु आर्थिक वर्ष २०७८–२०७९ को आठ महिना अर्थात् फागुनसम्म २८ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा २१ जनाको मृत्यु भएको थियो ।

‘चालु आबमा मृतकको संख्या अझै बढ्न सक्छ’, स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले भने, ‘खुल्ला सीमा नाका, रोग लुकाउने बानी, पूरा मात्रामा औषधि नखाने जस्ता कारणले मृतकको संख्या बढीरहेको छ ।’ क्षयरोग ‘माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक ब्याक्टेरियाले गर्दा हुने रोग हो । त्यसैले, यसलाई छोटकरीमा टिबी भनिन्छ ।

Advertisement

क्षयरोगले मुख्यतया फोक्सोलाई असर गर्छ । साथै, मिर्गाैला, हाड, मस्तिष्क, मेरुदण्डलगायत शरीरका अन्य अंगमा समेत यो संक्रमण फैलिन सक्छ । नेपालमा करिब ७० प्रतिशतमा क्षयरोगको समस्या फोक्सोमै हुने गर्छ । बाँकी ३० प्रतिशत संक्रमण भने छातीबाहेक अन्य अंगमा हुने बताइन्छ ।

स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन हुमप्रसाद खनालका अनुसार चालु आवको ८ महिनामा जिल्लामा ९ सय ९२ जनामा क्षयरोग देखिएको छ । गत आवमा एक हजार दुई सय ४१ जनामा देखिएको थियो । सचेतना, गरिबी, पोषण अभाव जस्ता कारणले यो संख्या अझै बढ्नसक्ने खनालले बताए । सरकारले क्षयरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । सबै स्वास्थ्य संस्थामा औषधि पर्याप्त मात्रामा उपलब्ध हुँदा पनि रोग परीक्षण नगर्ने र पूरा मात्रामा औषधि सेवन नगर्दा समस्या बढिरहेको फोकल पर्सन खनालले बताए ।

रुपन्देही क्षयरोगमा लुम्बिनी प्रदेशकै उच्च जोखिममा पर्छ । अन्य जिल्ला भन्दा यहाँ मृतक र विरामीको संख्या पनि बढी छ । स्वास्थ्य कार्यालयकाअनुसार चालु आवमा जिल्लाका १६ स्थानीय तह मध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन् । बुटवलमा मात्रै २३४ क्षयरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, तिलोत्तमामा १३७, देवदहमा ९३, सिद्धार्थनगरमा ९०, लुम्बिनी सांस्कृतिकमा ८७, सैनामैनामा ६५, मायादेवीमा ४८, कंचनमा ४१, रोहिणीमा ३८, सम्मरीमाईमा ३८, ओमसतियामा ३५, गैडहवामा ३१, सियारीमा ३२, शुद्धोधनमा २५, मर्चवारीमा २३ र कोटहीमाई गाउँपालिकामा १७ जना क्षयरोगी रहेको जनाइएको छ । सरकारले सन् २०३५ सम्म प्रति एक लाख जनसंख्यामा रोगीको संख्या एक जनामा झार्ने लक्ष्य लिएको छ । यस्तै, २०५० सम्ममा रोग शुन्यमा झार्ने उद्देश्यकासाथ काम गरिरहेको छ ।

सर्ने तरिका
क्षयरोग सरुवा रोग हो । जुन हावाको माध्यमले एक व्यक्तिबाट अर्कोमा सर्छ । संक्रमित व्यक्तिले खोक्दा, हाच्छियूँ गर्दा, थुक्दा क्षयरोगको कीटाणु वातावरणमा फैलिन्छ । उक्त कीटाणु सास फेर्दा स्वस्थ व्यक्तिमा सर्ने गर्छ । तर, क्षयरोगको संक्रमण सबैलाई हुँदैन । विशेषगरी, प्रतिरोधी क्षमता कम भएका मानिस यसबाट बढी प्रभावित हुने गर्छन् । त्यस्तै, सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई पनि बढी जोखिम हुने गर्छ ।

लक्षण
दुई साता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, शरीरको तौल घट्नु, साँझपख ज्वरो आउनु, पसिना आउनु, छाती दुख्नु, खानामा अरुचि हुनु र खकारमा रगत देखापर्नु क्षयरोगका मुख्य लक्षण हुन् । क्षयरोगका लक्षण अंगअनुसार फरक हुन्छन् । ग्रन्थीको क्षयरोग भएमा ग्रन्थीको आकार बढ्ने, सुन्निने, एक–अर्कासँग जोडिएजस्तो हुने, छालामा प्वाल बन्ने वा पिप निस्कनेजस्ता लक्षण देखिन्छन्  ।

यस्तै, मेनेन्जाइटिस भएमा ज्वरो आउने, टाउको दुख्ने, शरीर काम्ने बेहोस र भ्रम हुने हुन्छ । हाड तथा जोर्नीमा क्षयरोग भएमा हाड जोर्नी दुख्ने र सुन्निने हुन्छ । त्यस्तै, पेटमा क्षयरोग भएमा पेट दुख्ने, दिसा पातलो हुने, दुब्लाउँदै जाने तथा हल्का ज्वरो आउनेजस्ता समस्या हुन्छन् ।

रोकथाम र उपचार
नियमित स्वास्थ्य परीक्षण गराउनु नै क्षयरोगबाट बच्ने उपाय हो । क्षयरोगको लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिई समयमै उपचार गर्नुपर्छ । दुई हप्ताभन्दा बढी लगातार खोकी लागेमा खकार जाँच गराउनुपर्छ । जसबाट क्षयरोग भए–नभएको पत्ता लगाउन सकिन्छ । त्यस्तै, एक्सरे, बायोप्सी र कल्चर टेस्टबाट पनि क्षयरोग पत्ता लाग्छ । नियमित औषधि सेवन गरेरमा क्षयरोग पूर्ण रूपमा निको हुन्छ । सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दै आएको छ । सुरुको दुई महिनामा दुईवटा र पछिल्लो चार महिनामा अर्को दुईवटा औषधि खानुपर्छ । डट्स पद्धतिद्वारा उपचार गरिन्छ । रोगको प्रकृति र प्रभावित अंगका आधारमा कम्तीमा एक वर्षसम्म औषधि खानुपर्छ ।