कहाँ पुग्यो सिद्धार्थनगरको डण्डा कोरिडोर योजना ?


भैरहवा– डण्डा कोरिडोरको योजना अघि सारेको करिब चार वर्ष पुग्यो । प्रगति शून्य प्रायः छ । आश्वासन मात्र बढी छ । सिद्धार्थनगर नगरपालिकाले डण्डा नदीको संरक्षण र प्रबद्र्धन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न गरी चार वर्ष अघि योजना अघि सारेको थियो । यसबाट नगरमा पर्यटकीय गतिविधि बढ्ने र आन्तरिक आम्दानी बृद्धि हुने अपेक्षा छ ।
आकर्षक डिजाइन बनाएर योजना कार्यान्वयनका लागि बजेट उपलब्ध गराउन संघ र प्रदेश सरकारमा पहल गरिएको थियो । तर, बजेट उपलब्ध नहुँदा योजना अघि बढ्न नसकेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए । ‘यो हाम्रो ड्रिम प्रोजेक्ट हो, यसलाई बजेट व्यवस्थापन गर्न सकेको भए यहाँको मुहार फेरिन्थ्यो’, उनले भने, ‘अझै पनि योजना कार्यान्वयनका लागि पहल गरिरहेका छौं ।’
नगरपालिकाका बरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बजेट उपलब्ध नभए पछि योजना यत्तिकै रहेको बताए । ‘संघ सरकारले एडीबीले सुरु गर्न लागेको पश्चिम तराई कोरिडोरको योजनामा डण्डा कोरिडोर समावेस गर्ने आवश्वासन दिएको छ’, उनले भने, ‘ढिला भए पनि उक्त योजनामा समावेश गर्न सकिएमा भैरहवाको मुहार फेर्न सहयोग पुग्ने छ ।’

एडीबीले रुपन्देही, कपिलवस्तु र नवलपारसीलाई समेटेर एक सय १५ अर्बको पश्चिम तराई कोरिडोर संचलन गर्दै छ । उक्त योजना अबको दुई वर्षमा सुरु हुने बताइएको छ । यसका लागि अहिले अध्ययन र डीपीआर बनाउने काम भइरहेको छ । ‘डण्डा कोरिडोर रि–डिजाइनका कुरा पनि आएका छन् । धेरैले आयआर्जनका कुराहरु समेट्ने सुझाव दिनुभएको छ’, श्रेष्ठले भने, ‘यसलाई हामीले परिमार्जनको तयारी गरेका छौं । परिमार्जन गर्दा आएका सुझावहरु समेट्छौं ।’
के हो डण्डा कोरिडोर ?
नगर क्षेत्रभित्र पर्ने डण्डा खोलाको १५ किलोमिटर क्षेत्रलाई ५/५ किलोमिटरमा गरी तीन भागमा विभाजन गरेर बहुउद्देश्यीय अवधारणा अघि सारिएको छ । जसअन्तर्गत वडा नम्बर ९ र १२ मा पर्ने ५ किलोटिरलाई कृषियोग्य भूमि, ३ र १३ पर्ने ५ किलोमिटरलाई रिक्रियसन सेन्टर तथा वडा नम्बर १ र २ एवं ३ को केही भूभागमा पर्ने ५ किलोमिटर क्षेत्रलाई समेटेर शैक्षिक तथा अनुसन्धान क्षेत्रका रुपमा विकास गर्ने अवधारणा बनाइएको छ ।

तत्कालका लागि भने भैरहवा–परासी सडक खण्डअन्तर्गत शान्तिनगरको डण्डा पुलदेखि भैरहवा–बेलहिया खण्डअन्तर्गत वडानम्बर तीन र एक जोड्ने (सशस्त्र प्रहरी बल बीओपी डण्डा अगाडि) पुलसम्म्को ५ किलोमिटर क्षेत्रलाई विकास गर्ने गरी अवधारणा अघि सारिएको हो । यो ५ किलोमिटर क्षेत्रलाई पनि तीन भागमा विभाजन गरी विकास गरिनेछ । जसअनुसार उत्तर–दक्षिणको भागलाई सक्रिय क्षेत्र र बीचको भागलाई शान्ति क्षेत्रका रुपमा विकास गरिने छ ।
‘हामीले सिद्धार्थनगरलाई साँच्चिकै पर्यटकीय हवका रुपमा विकास गर्न अवधारणा ल्याएका हौं’, नगर प्रमुख अधिकारीले भने, ‘योजना सफल भएपछि यसले नगरको मात्रै होइन, जिल्ला र प्रदेश पाँचकै समृद्धिका लागि टेवा पुग्छ ।’ नगरपालिकाको अवधारणा अनुसार चार वर्षअघि काठमाडौंको नेष्ट/एनएसी/एडिए ज्वाइन्ट भेन्चर संस्थाले नशांकन तयार पारेको थियो ।

‘नगरपालिकासँग पर्याप्त बजेट छैन । हाम्रो अवधारणा अनुसार हाललाई नक्शा मात्रै बनाइएको हो, डीपीआरका लागि पहल गरिरहेका छौं’, उपप्रमुख उमा काफ्लेले भनिन् । डीपीआर नबन्दै करिडोर निर्माण गर्न यतिनै रकम चाहिन्छ भन्न नसकिए पनि अनुमानित साढे तीनदेखि चार अर्ब लाग्ने बरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले संघ, प्रदेश र एशियाली विकास बैंक, शहरी विकास मन्त्रालय समक्ष अवधारण पेस गरिएको बताए ।
अहिले नदी छेउछाउ तीव्र बस्ती विकास भइरहेको छ । प्लटिङ गरी घडेरी विक्री गर्ने क्रम झनै बढ्दो छ । २० वर्षको अन्तरालमा नदी नजिक करिब दुईसयको हाराहारीमा घर बनीसकेका छन् । ‘बस्ती बढ्दै जाँदा नदी उकासको क्षेत्र अतिक्रमण जोखिम बढेको छ । भैरहवा समथर ठाउँ हो । पछि नदी नै अतिक्रमणमा पर्याे भने डण्डाले क्षति नपुर्याउला भन्न सकिँदैन’, अधिकारीले भने, ‘यसलाई रोक्न र नगरमा पर्यटकीय गतिविधि बढाउन पनि डण्डा करिडोरको अवधारणा ल्याएका हौं ।’

तीन दशक अघिसम्म पौडी खेल्न मिल्ने नदीमा स्थानीयले जथाभावी फोहोर फाल्दा अहिले दुर्गन्धित भएको छ । नगरपालिका आफैले वडानम्बर २ को मेउडिहवामा नदी छेउमा फोहोर फाल्दै आएको छ । जसले गर्दा नदीको पानी दुषित भएको छ नै पौडी खेल्न त के छुन पनि नमिल्ने अवस्था छ । दुर्गन्धले नदी छेउमा उभिनै सकिँदैन । वरपर जाँदा नाका छोपेर हिँड्नु पर्ने बाध्यता छ ।
करिडोर अन्तर्गत रिक्रियसन सेन्टरको उत्तरपट्टीको क्षेत्रमा छुट्टाछुट्टै सवारी र साइकल पार्किङ स्थल, इन्ट्री प्लाजा, टिकट काउण्टर, पानीको फोहोरा, डोम गेट, खुल्ला मंच, एमपी थियटर, बाल तथा बृद्धा उद्यान, क्याप्टेरिया र शौचालय बनाइने छ । यस्तै, बीचको शान्ति क्षेत्रमा बुद्ध मूर्तिसहितको बुद्ध पार्क, ध्यान केन्द्र, बगैँचा, योगा केन्द्र, ग्लोबल प्लाजा, रक गार्डेन, जेन गार्डेन, जलचर गृह, सेड र शौचालय बनाइने छ ।
बुद्ध पार्कलाई बुद्ध धुनले गुन्जायमान गराइने छ । दक्षिणपट्टीको सक्रिय क्षेत्रमा वनभोज स्थल, फुटबल, भलिबल, क्रिकेट, बाँस्केटबल, टेबल टेनिस, लनटेनिस खेलका लागि खेलमैदान, बालबालिका लागि रोटेपिङ, चिप्लेटी, झुला, क्याप्टेरिया बनाइने अवधारणामा उल्लेख छ ।

रिक्रियसन सेन्टर क्षेत्रमा नदी वारीपारी गर्न ठाउँठाउँमा पुल बनाइने छ भने ५ किलोमिटर क्षेत्रमै आठ–आठ फुटको साइकल मार्ग र पैदलमार्ग बनाइने नगरपालिकाले जनाएको छ । नदी उकास क्षेत्रलाई व्यवस्थित गरी डुंगा समेत संचालन गरिने छ । ‘यो नेपालकै पहिलो बहुउद्देश्यीय योजना हो । निर्माण सकिएपछि आन्तरिक तथा बाह्य पर्यटकको हब बन्ने छ’, बरिष्ठ इन्जिनियर श्रेष्ठले भने, ‘नदी संरक्षणसँगै डुवानको समस्या समाधान हुन्छ नै पर्यटकको आकर्षण समेत बढ्छ । जसले आन्तरिक स्रोत बृद्धि हुन्छ ।’ उनले भैरहवा लगायत लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई लम्ब्याउन समेत योजना महत्वपूर्ण सावित हुने जनाए ।
कोरोना महामारी अघि स्थलमार्टबाट बर्सेनि डेढ लाख बढी तेस्रो मुलुक र दुई लाख बढी भारतीय पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी पुग्छन् । यस्तै हवाई मार्गबाट पनि उत्तिकै पर्यटक लुम्बिनी आउँछन् । लुम्बिनीमा मात्रै वर्षमा १५–१६ लाख आन्तरिक पर्यटक आउँछन् । गौतब बुद्ध विमानस्थल संचालनमा आए पछि यहाँ आउने पर्यटकको संख्या दोब्बर हुने छ । तर, लुम्बिनी आउने न्यून पर्यटकले मात्रै यस क्षेत्रमा रात बिताउने गरेका छन् ।
‘पर्यटन व्यवसायीले विगतदेखि पर्यटक बसेनन् भनेर गर्दै आएको गुनासो अन्त्य गर्न डण्डा कोरिडोरले योगदान गर्नेछ’, श्रेष्ठले भने, ‘कम्तिमा भैरहवा–लुम्बिनी क्षेत्रमा दुईरात पर्यटक बास बस्छन् । यसले यहाँको आम्दानीको स्रोत बृद्धि हुन्छ नै भिसा शुल्कवापत राज्यकोषमा लाखौं रुपैयाँ जम्मा हुन्छ ।’
लेखकको सम्वन्धमा