October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

टुुप्पीबाजे

  • होम सुवेदी

टाउका भरिका कपालमध्ये पाँचभागको एक भाग बराबरको टुपी थियो मेरो । कालो र बाक्लो कपाल थियो । कपालका अरु विशेषता के थिए खुइलिएको तालु पढेकाले थाहा पाइहाल्छन् । टुपी थियो मात्र । यसलाई धार्मिक विधिले शिखा पार्ने काम भने मैले छाडिसकेको थिएँ, देखावटीका रुपमा मात्र शिखा पार्दथें ।

अरु-अरु साथीहरु आफ्नो खायोजियोको बाटो केकेबाट गर्छन् मेरो भने त्यही टुप्पीबाट खायोजियो र पढाइको मेलो भएको थियो बाहुन चरी भएको कारण । अरु अरुले आफ्ना उपनामहरु केकेबाट जोड्छन् मेरो भने त्यही टुप्पी नै उपनामको कारक बनेको थियो ।

बिहान बेलुका धोती फेरेर, टुपीको शिखा बाँधेर मन्दिरमा घन्टी बनाउँदै बडो लयालो स्वरमा आरती गाउनु मेरो दैनिकी थियो र यसैबाट मेरो गुजारा चलेको थियो, यो धोती चाहिं नलाउनु परे पनि हुने भन्ने कुरा मनभरि थियो तापनि सकिरहेको थिइँन । एक दिन म भन्दा पनि माथिल्लो पणितले सुरुवाल र कमिज लगाएको देखेपछि मैले पनि नेपालीले इज्जत जमान फुकालेझै धोती फुकालेको थिएँ अनि सुरुवालको मेलो गरेको थिएँ । त्यसो गरेपछि अलिक आधुनिक भएको अनुभव भएको थियो । तर टुपी ता यथावत् नै थियो । यो नभएको भए मलाई कठोर पर्ने रहेछ पढ्न र पेट पाल्न । मेरो टुपी थिएन भने म एक पेट खान पनि पाउँथें कि पाउँदिनथें भन्न गाहारै छ । देखावटीका लागि भए पनि कुनैकुनै पर्वमा पछिसम्म पनि धोती फेरिन्थ्यो ।

मारबाडी समुदायका महिलाहरुले नुहायो के पणितजी ? भनेर कहिलेकाहीं सोध्थे । नुहाएँ भनेर खुब ढाँटिन्थ्यो । माथिको कुर्ता र तलको धोती सफा गरिन्थ्यो, शुद्ध पारिन्थ्यो । नुहाएर दैनिक रुपमा नुहाउन सक्ने ता कुरै थिएन, भलै जुम्राको खेती लुगामा भएको थिएन । सात आठ दिनमा मात्र नुहाइन्थ्यो । मुखसम्म भने सधैं धोइन्थ्यो । कालिम्पोडको जाडोमा कसरी नुहाउनु ? बर्खाको बेला ता खपिनसक्नु जाडो हुन्थ्यो अनि हिंउँदमा झन् कसरी नुहाउनु । उनीहरु सम्झन्थे पणितले दैनिक नुहाउनै पर्छ । अहिले सम्झन्छु आफूलाई सारै नै ठगिएछ । पूजा गरेर भए पनि मेरो ध्यान भने पढ्नमा थियो । बिहान बेलुका घन्टी बजाइदिएर म तिन ठाउँमा पूजा गर्थें र पेटलाई चारो जुटाउँथें । यो घन्टी बजाउने कुरा अब छाडौं । धेरै घन्टी बजाउने कुरा गरियो भने अब पनि मलाई घन्टी बजाउने निम्तो आउन सक्छ ।

यत्रो लर्दु भइसकियो, उस्तै भए छोराछोरीको बाबु हुने बेला पनि भइसक्यो । बेला भइसक्यो मात्र कहाँ अब ? उस्तै हो भने बेला बितिसक्न लाग्यो नि । यो बेलासम्म केके गरिसक्नु पर्ने । केही गर्न सक्या होइन । अरु अरु विषयको ता कुरै छाडौं एउटा जाबो उपनाम पनि राख्न सक्या होइन । कस्तो हुतीहारा नै भइएछ बा….. । उहाँ साथीहरुले उपनाम जति सबै हातपारिसके । मेरा लागि अब एउटा गतिलो उपनाम पनि बाँकी छैन । के भुत्राको उपनाम राख्ने ? मलाई मनमा चिन्ताको भुँवरी मडारिन थालेको निकै भइसकेको थियो, कसैकसैले चार पाँच ओटा उपनाम राखिसकेका थिए भने आफ्नो चाहिं एउटा पनि छैन ।

उपनाम नराख्नु भनेको लाछी नै ठहरिने कुरा भइसकेको थियो । कालिम्पोंगतिर पढ्न बस्ताको यो मेरो मनको बहको कुरा आज खोल्दैछु धेरै वर्षपछि । नढाँटी भन्दैछु, अलिकति अतलबितल परिगयो भने अघिबाटै क्षमा मागिराख्छु । कुरा अलिकति तलबितल पर्ने खालका जस्तै जस्तै पनि छन् । छोराछोरी मात्र नभई छोरा बुहारी र नातिनातिनाको हजुरबाबु भएको यो मान्छे के लेखिरहेको यस्तो भनेर पर्न सक्छ केही तलबिलत । यसैले तलबितल पर्न सक्ला भनेर फेदबाटै क्षमा मागिराखेको ।

आजका विद्यार्थीहरुको जस्तो एउटा कुनामा उभिएर मोबाइलमा जे पायो त्यही हेर्न पाउने र छानी छानी रोज्जालाई हातलाउने सुविधा हाम्रो पालामा कहाँ हुनु । मनोरञ्जन भनेको पनि प्रेमपत्र लेखन, सिनेमा घर गमन, बगैंचा भ्रमणहरु मात्र हुन्थे । आज केके छन् मलाई थाहा भएन तर हाम्रो बेलामा कलेज पढ्नुको मूल प्रयोजनहरु दुई ओटा हुन्थे । धेरै विद्यार्थीहरुको पहिलो गाँठी कुरा ता पढाइ नै हुन्थ्यो ।

यसका साथसाथै लभ गर्ने कुरा दोस्रो प्राथमिकतामा आउँथ्यो । यसलाई अलि इत्रिएको भाषामा तरुनी फकाउनु भनिन्थ्यो, केटाहरु त्यसै भन्थे । मेरा एक जना साथी थिए बिराटनगरनिवासी, उनको नाम नभनौं । उनले छ महिनामा छानी छानी छओटी तरुनी फकाइसकेको हल्ला थियो । यो कुरा साथीहरु जिस्काजिस्कीमा भन्थे म भने सुन्थें मात्र । हो वास्तवमा दोस्रो नम्बरमा पर्ने काम तरुनी फकाउने नै हुन्थ्यो । धेरै साथीहरु कलेजका बगैंचातिर बसेको र एकान्त कुनातिर पसेको देखिन्थ्यो । यसो फूलबारी, सिनेमा घर, कलेजका परिसरहरु यस कामका लागि शुभारम्भका क्षेत्र हुन्थे ।

कलेज पढ्दा तरुनी फकाउन चाहिने केही खास प्राविधिक तत्वहरु पनि हुन्थे । ती प्रविधिमा पछि परियो भने रोज्जा रोज्जा तरुनी ता के कसैले छाडेकाहरु पनि फकिन्नथे । यस कामका लागि आवश्यक प्राविधिक तत्वहरु निकै थिए । त्यस्ता तत्वहरुमध्ये सुरुको थियो उपनाम छान्ने । छडी चटक्क पारेर काट्ने वा बाल बनाउने काम अर्र्काे हुन्थ्यो, त्यति बेला नेपाली सिनेमाको कुरा ता छँदै थिएन, हिन्दी सिनेमाको उधुम थियो । सिनेमाका हिरोहरुमध्ये राजेश खन्नाको पनि उधुमै चल्ती थियो । उसैको जस्तो. कपाल पार्नु, उसैको शैलीमा बोल्नु, उसैको शैलीमा गीत गाउनु, उसैको शैलीमा फकाउने विधि प्रयोग गर्नु जस्ता कुराले कामले उधुम मचाएको थियो ।

राजेश शैलीमा चटक्क पारेर छडी काटेको मान्छेको भाउ नै बेग्लै हुन्थ्यो । उसमाथि डाबर आँवला केस तैल लगायो भने अझ भाउ बढ्थ्यो । अरु तैलहरु पनि हुन्थे तर डाबर आँवला केस तैलको सुगन्धमा तरुनीहरु फूलमा भमरो जसरी आउँछन् भन्ने सुनिन्थ्यो । अझ यो बाटोको माथ्लो खुड्किलो एउटा अर्काे पनि थियो । छडी काटेर खुस्पाइ साबुनले नुहाउँदै अत्तर छरेर तरुनीहरुका ओरिपरि भुन्भुनाउन सकियो भने मात्र कलेज पढेको सार भएको ठानिन्थ्यो । गाउँ भेकबाट पढ्न आएका छात्रा साथीहरु बाबरी फूलका पत्ताहरुबाट पनि यो कम काट्दथे । पत्ता वा पूmलहरु जिउमा घुसारेर महकाउँथे ।

आज स्प्रे भने पनि उ बेला इत्र भनिन्थ्यो । त्यो सारै महँगो हुने हुनाले सर्वसुलभ थिएन । इत्र वा अत्तरको महक भनेको उधुमै आकर्षक हुन्थ्यो, यो तरुनी फकाउनका लागि अति नै महत्वपूर्ण सहायक वस्तु मानिन्थ्यो । त्यसका साथ अलिक सहजै फकाउनका लागि उपन्यासहरु पढ्ने बानी बसाउनु पनि एक सरल उपाय थियो । नेपालमा सुवास घिसिंगका र उनैको शैलीमा अरु अरुले पनि फकाउने फर्मुलालाई ध्यानमा राखी लेखेका नेपाली उपन्यास पनि बजारमा थिए । नीलोचोलीले उधुमै मचाएको थियो । एकै बसाइमा नबिसाई पढिसकिने त्यो उपन्यास हाम्रो वृत्तभरि हातहातमा सरिरहेको थियो ।

उता हिन्दी भाषाका राजपाकेट बुक्सबाट प्रकाशित कर्णेल रन्जितले लेखका अनि गुलसन नन्दाका उपन्यासको पनि भरमार थियो । अझ त्यस्ता लभैलभ गरेका उपन्यासहरु किनेरै पढ्न सकियो भने ता उपन्यास पढ्ने बानी परेका र कसैले फकाइदिए पनि हुन्थ्यो भन्ने भाउ खोज्नेहरु आफैं आइपुग्थे फकाउनै पर्दैनथ्यो । त्यस भन्दा अर्काे फर्मुला थियो सिनेमा हेर्न जानु । हप्ताको एक दुई ओटा सिनेमा हेरियो भने चाहे एउटैलाई दोहोरो तेहरो गरेर नै किन नहेरियोस् र यो कुरा तरुनी वृत्तमा फैलाउन सकियो भने यो पनि तरुनी फकाउने एक लाभदायी फर्मुला हुन सक्थ्यो । अझ सिनेमा हलमा आएको नयाँ सिनेमालाई लागेको दिनमै वा फस्ट सोमै हेरियो भने अनि वृत्तमा त्यसको कथा छर्न पाइयो भने तरुनी फकाउनमा कान्टै पुग्थ्यो ।

पहिलो सो नै हेरेको कुरा फिंजाउन सकियो भने ता सिनेमाको स्टोरी सुन्नेहरु कलेजका चौरमा अनि “लौ न हाउ, भन न त्यो फिल्मको स्टोरी” भन्दै भमरो झैं भुन्भुनाउँदै आइपुग्थे । मेरा पुरुषमित्र वृत्तमा एक जना साथी थिए धनञ्जय उपनामका । उनी थिए नामी । उनलाई सिनेमाको पहिलो सो नै हेर्नु पर्ने । टिकट ब्ल्याकमा किनेरै भए पनि पहिलै सोमा हलमा लागेको नयाँ सिनेमा नहेरी नहुने उनलाई । ऊ बेला नोबेल्टी र कन्चन नामका दुई हल मात्र थिए । दुबै हलका टिकट बिक्रेताका साथ उनले मितेरी साइनो लाइसकेको कारण उनलाई ब्ल्याकमा उति किनिरहनु पर्देनथ्यो । बिराटनगरमा पनि उनले यो जुक्तीले पहिलो सोमै सिनेमा हेर्ने कुरा वृृत्तभित्र छरिसकेका थिए । उनको मूल नाम ता थाहा पनि छैन । कुनै परमेश, कुनै, दिवाना, कुनै मस्ताना, कुनै प्रेरपुजक, कुनै सौदागर अनि कुनै के अनि कुनै के । मूल नाम नै थाहा नपाइने ।

ती धनञ्जय पनि यता नेपालकै थिए । एक पटक फकाइने पात्र दुबैजनाको एउटी नै परेको विषयमा ती दुईका माझमा भएको फाइट पनि राजेश खन्नाकै जस्तो थियो भन्ने कथा हाम्रो वृत्त भरि फैलेको थियो । जनञ्जयकै विजय भएको कुरा पनि सुनिएको हो । मलाई पनि नेपालतिरकै आफ्नै देशका हिरोले जितेकोमा निकै गर्वको अनुभव भएको थियो । उनको बाँकी परिचय पनि मलाई थाहा छ तर नभनौं । अलिक सम्पन्न परिवारका भएकोले र अहिले निकै उच्च खानदानी भएको कारणले उनको पुरानो सबै कैरन नलाउनु नै राम्रो पर्छ । सबै कैरन हालियो भने ता फेरि पारिवारिक विघटन हुन बेर नलाग्ला । उनले ता एक सानोतिनो उपन्यास लेखेर छपाएका पनि थिए । उपन्यास लेखेर छपाएपछिलाई उनका पछि धुइरो नै भएर लागेको कुरा उनी सुनाउँथे । हो होइन उनै जानून् । यतिसम्म चाहिं सुनाइराखे फरक नपर्ला । यस भन्दा उताको कुरा नसुनाउँनु नै असल हो ।

साथीहरुले यसरी तरुनी फकाउनलाई छडी काट्नदेखि भएका नभएका गफहरु छाँट्नमा निकै सफलता पाइसकेका थिए । धनञ्जयको ता कुरै थिएन । उनले ता उपन्यास छपाइ समेत गरिसकेका थिए भने म चाहिं लुते अझै टुपी काट्न पनि डराइरहेको थिएँ । उपन्यास छपाउन ता कता सकियोस् । बिचरा मेरा पिताजीले म पढ्न हिंड्ने बेलामा बाटो खर्चका रुपमा दसाना दिनु भएको थियो । पाठ्यपुस्तक किन्नु ता कता हो कता, उपन्यास किन्ने कुरा नै मेरा लागि आकासको फल थियो भने छपाउने कुरा ता मेरो कल्पनाबाहिरको कुरा थियो ।

एक दिन उपनाम राख्न खप्पिस एक साथीलाई मेरो पनि एउटा राम्रो उपनाम राखिदिनुहोस् न भनेर आग्रह गरें । “हुन्छ भोलि सोचेर भनौला” भने उनले । मलाई ढुक्क लाग्यो ।

भोलिपल्ट कलेजको गार्डेनमा बसिरहेका थियौं । उनले मेरो उपनाम राम्रो छानिनसकेको कुरा गरे । यसै बेला कुर्बीले मतिर हेरेर भनिन् “उहाँको नाम ता टुप्पीबाजे राखे भैगो नि ।” उनले भनेपछि वृत्तमा हाँसो गुन्जियो । मैले भने सारै ठुलो बेइज्जत भएको अनुभव गरें ।

भोलिपल्टदेखि मलाई कलेजमा देख्नासाथ धेरैले खिसीको भाकामा सार्वजनिक रुपमा “स्वस्ती है टुप्पीबाजे !” भनेर ह्याउन थाले । आफू परस्परमा “गुडमोणिग” भन्ने मलाई भने स्वस्ती है टुप्पीबाजे भन्ने । यसबाट ता मेरो झन् बढी खिसी गरेको मैले अनुभव गरें । अनि सोचें यस टुप्पीलाई नकाटी भएन ।

हो, त्यतिबेलासम्म मेरो लामो टुपी मैले छोट्याएको पनि थिइनँ, प्रतिशत कम पनि गरेको पनि थिइँन, मसिनो पनि पारेको थिइनँ । छडी काटेको पनि थिइनँ । मेरो ता पेट पाल्ने माध्यम नै त्यही टुपी थियो । लामो टुपी शिखा पारेर बाँधेर बिहान बेलुका मन्दिरमा घन्ट बजाएर आरती गर्नु नै मेरो दिनचर्या थियो । माथि नै भने नि खायोजियोको मेलो नै त्यही थियो ।

पिताको दसाना ता दुई दिनमै सकिसकेको थियो । कताबाट पुग्नु । मेरा लागि राम्रोसँग आरती गाउन जानेको कारणले र यही टुपीका कारणले गर्दा मारबाडीकी पुत्री पो मेरा छेउछाउतिर पर्न थालेकी थिइन् । उनले आमाका साथ कुरा गर्दा “पणितजीको शिखा न्यारो न्यारो हाय । न्यारो कोणी के ?” भनेको सुनेको थिएँ । अनि कसरी म यसलाई फाल्न सक्थें ? तर निन्दा पनि कति सहनु । कलेज जानै हुन्न ‘टुप्पी बाजे’ को उपनाम छरिन्छ मेरा ओरिपरि । अनि के गर्नु ? मैले यो टुपीको टुपी थाम्न सक्ने स्थिति रहेन ।

यही मेरो टुपीलाई हेरेर साथीले मलाई अलिक होच्याएपछि मैले छडी बनाउने र टुप्पी पनि केही छोट्याउने विचार गरको मात्र थिएँ फेरि पेटै अघि आयो । पहिले ता आँट उति आएको थिएन तर सारै नै खसाएर भने यिनीहरुले । फैसला गरे पुरै नकाटे पनि यसको प्रतिशत घटाउँछु भन्नेमा पुगें । एक दिन म आँटै गरेर कपाल काट्ने निधो गरी हजामकोमा गएको थिएँ । हजामले २५ पैसामा कपाल काटिदियो ।

टुपी अलिक सानो पारेर जोगाइदेउ है भनेको उसले छाँटिदिएछ । टुपी र कपाल लगभग समान भएको कुरा थाहा पाएँ । म भुतुक्क भएँ । धर्म छोडिएको अनुभव भयो । अब भोलिदेखि पूजारीको जागिर पो जाने हो कि भन्ने लागेको थियो । धन्न मारबाडीकी छोरीले अझ यही नाप नक्सालाई पनि मन पराएकोले जागिर थामिएको थियो । टुपी घटेर हराए पनि मेरो नाम टुप्पी बाजे रहेको रहेकै भयो कलेज जीवनभरि । by sahityasansar