सेवा गर्ने हातहरुमाथि प्रहरी अधिकृतकै लगाम
भैरहवा- कोरोना संक्रमणको ग्राफ ह्वात्तै उक्लिएपछि स्थानीय प्रशासनले रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा अहिले पनि जारी छ । दोस्रो लहरको कोरोना महामारीले जिल्ला ‘हटस्पट’ बन्दै थियो । निषेधाज्ञाले सबै क्षेत्र ठप्प बने ।
यसको प्रभाव निमुखालाई पर्यो । गरिब तथा विपन्नलाई छाक टार्न समस्या भयो । धेरैको रोजगारी गुम्यो । कयौं संक्रमितले अक्सिजनसमेत पाएनन् । उपचार पाउन उस्तै समस्या । अस्पतालका बेड भरिए । धेरैको भूइँमै राखेर उपचार भयो ।
सहरदेखि गाउँसम्म कयौं यस्ता परिवार छन्, जसलाई एकदिन काम नगरेर छाक गुजार्न धौं–धौं हुन्छ । यस्ता परिवारलाई रोगको भन्दा भोकको चिन्ता छ । यसैले उनीहरुलाई पिरोल्छ । जिल्लामा निषेधाज्ञा जारी भएको हप्ता दिन भएको थिएन । घरमै बसिरहेका बेला भैरहवाका युवा व्यवसायी एवं सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य धर्मवीर शर्मालाई फोन आयो ।
फोनमा एकजनाले भने, ‘हाम्रो परिवारमा खाद्यान्न भएन । कसरी परिवार पाल्ने । मलाई तपाईंले केही सहयोग गर्नुस् ।’ ती नागरिकको आवाजले उनको मन छोयो । लगत्तै समाजिक संजाल फेसबुकमा स्टाटस लेखे, ‘कोही परिवारलाई साँझबिहान छाक टार्न समस्या भएको भए मलाई सम्झिनु । मैले खाद्यान्न उपलब्ध गराउँछु ।’
अर्को दिन शर्माले सहयोगका लागि फोन गर्ने परिवारलाई खाद्यान्न उपलब्ध गराए । त्यसपछि केही दिन उनले आफ्नो व्यक्तिगत खर्चमा यस्ता कयौं परिवारलाई घरमै पुगेर निःशुल्क खाद्यान्न बाँडे । यहीबीचमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको भर्चुअल बैठक भयो ।
रोटरीमा आबद्ध कयौं मनकारी सदस्यहरुले विपन्नलाई सहयोग गर्ने योजना बनाए । धर्मबीरलाई व्यक्तिगत भन्दा संस्थागत सहयोगमा जुट्न भने । उनीहरुले क्लबका तर्फबाट राहत वितरण सुरु गरे धेरै परिवारलाई उपलब्ध गराउन सकिने मत राखे । यसमा धर्मवीर सहमत भए ।
बैशाख २७ गते क्लबले आफ्ना सदस्यहरुबाट आर्थिक संकलन गरी भैरहवाको प्रहरी टोलमा फूड बैंक स्थापना गर्यो । त्यतिञ्जेल रुपन्देही कोरोना महामारीको ‘हटस्पट’ नै बनेको थियो । फूड बैंक त स्थापना भयो, तर रोगको डर भयो । अब कसले राहत बाँड्न हिँड्छ ? धेरैमा यही कुराको कौतुहलता छायो ।
क्लबले सक्नेलाई फूड बैंकमै आएर राहत लैजान भन्ने र नसक्नेलाई घरमै पुर्याईदिने योजना बनाएको थियो । त्यसैले घरघरमा जानुपर्छ भनेपछि धेरै सदस्य रोग लाग्न सक्ने भन्दै डराएको अध्यक्ष हिराबहादुर शाह बताउँछन् । यत्तिकैमा क्लबका कोषाध्यक्ष कृष्ण अधिकारी र धर्मवीर शर्माले आफूहरुले विपन्नको सेवा गर्ने र घरमै राहत बोकेर जान तयार रहेको जनाए । त्यसपछि नियमित राहत वितरण सुरु भयो ।
फूड बैंकमार्फत् क्लबले विपन्न परिवारलाई दाल, चामल, तेल, स्वायविन, नुन र चिउरा उपलब्ध गराउन सुरु गर्यो । यस्तै, स्वास्थ्य सुरक्षाका लागि भन्दै माक्स पनि उपलब्ध गरायो । यो एक महिनामा क्लबले करिब १० लाख बराबरको खाद्यान्न बाँडेको छ । यसबाट ६३२ घरपरिवार लाभान्वित भएको क्लबका संस्थापक अधयक्ष विमल सेन्चुरीले जानकारी दिए ।
प्रहरी अधिकृतको लगाम
क्लबले विपन्नलाई राहत बाँड्न सुरु गरेपछि राहत बोकेर अधिकारी र शर्मा घरघर पुगे । धेरैले उनीहरुको र क्लबको प्रशंसा गरे । राहत लगेर घरै जाँदा कतिले खुशीले आँसु चुहाए, कति बोल्नै सकेनन् । ‘यसरी संकटमा साथ दिन पाउँदा हामी खुशी भयौं’, अधिकारीले भने ।
बिहान उठेदेखि रातिसम्म अधिकारी र शर्माको दैनिकी राहत बाँड्नमै बित्यो । संकटमा विपन्नको साथी आफूहरु र क्लब बन्न पाउँदा बेलाबेला हर्षका आँसु चुहिएको उनीहरु बताउँछन् । राहत लिएर घरमा जाँदा विपन्न परिवारका आँसु झरेको देख्दा कतिपल्ट उनीहरु पनि रोए । ‘पीडा देख्दा मन थाम्नै नसकिने रहेछ, त्यसपछि हाम्रा पनि आँसु आउँथे’, सोमबार भैरहवामा आयोजित कार्यक्रममा क्लबका कोषाध्यक्ष अधिकारीले भने ।
यसरी दैनिक राहत बाँड्नमा खटिएका अधिकारी र शर्माले भने उच्च तहका प्रहरी अधिकृतबाटै पटक–पटक दुःख भोग्नु पर्यो । चर्को गर्मीमा सडक किनारमा कतिपल्ट गाडी रोकेर बसे, त्यो पनि घण्टौंसम्म । जेठको सुरुमा शर्मा र अधिकारी भैरहवाको अंचलपुरमा राहत पुर्याउन जाँदै थिए ।
बुद्धचोकमा प्रहरी चेकिङ थियो । त्यहाँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिवस जिसी खटिएका थिए । उनीहरुलाई उनै जिसीले रोकेर भने कहाँ जान लागेको ? उनीहरुले जवाफ फर्काए, ‘खाद्यान्न लिएर केही परिवारलाई बाँड्न जाँदैछौं ।’ जिसीले फेरि प्रश्न गरे, कस्तो खाद्यान्न ? राहतको निहुँमा घुम्न निस्किएको हो ? कारोबार गरेको हो ? यी शब्दले शर्मा र अधिकारीको मन छोयो । तर पनि नम्र भाषा प्रयोग गरे ।
शर्मा र अधिकारीले होइन सर ! हामीले क्लबमार्फत् विपन्न तथा गरिब परिवार र रोजगारी गुमाएकालाई राहत बाँडिरहेका छौं, त्यो दिन जान लागेको । तर, ट्राफिक प्रहरी निरीक्षक जिसीले यति भन्दा पनि पत्याएनन् । बरु गाडी साइड लगाउन भने । त्यसपछि उनीहरुले कयौंपल्ट आफूहरुलाई जान दिन आग्रह गरे । जिसीको मन पग्लिएन । चर्को गर्मीमा डेढ घण्टा रोके ।
‘हामी खाद्यान्न लिएर आउँदैछौं भनेका थियौं, त्यसैले राहत मागेकाहरुले त्यतिञ्जल सयौंपल्ट फोन हानीरहनुभएको थियो । यो कुरा जिसी सरलाई जानकारी गरायौं, तर उहाँले हाम्रो अनुनय विनयलाई सुन्नुभएन । बरु सिडिओ अफिसबाट पत्र लिन निर्देशन गर्नुभयो । लामो समयको प्रयासपछि हामीलाई त्यहाँबाट छाडियो’, यो पीडा सुनाउँदै शर्माले भने ।
जिम्मेवार प्रहरीकै यो व्यवहारले उनीहरुमा निरासा छायो । क्लबमा यो कुरा राखे । त्यसपछि प्रशासनबाट पास बनाए । र, फेरि उसैगरी सेवामा खटिए । तर, प्रहरीको अवरोध भने हटेन । त्यसपछि उनै जिसीले बुद्धचोकमै एक दिन राहत लिएर जाँदै गर्दा पुनः आधा घण्टा रोके । दुई पल्ट नै जिसीले अवरोध गरेपछि शर्मा र अधिकारीले भनसुन गरेपछि बल्ल छाडे ।
त्यसको केही दिन पछि बुद्धचोकमै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापा चेकिङमा खटिएका थिए । उनले पनि त्यहाँ अवरोध गरे । अनुनयविनय गरे पनि छाडेनन् । त्यसपछि शर्मा र अधिकारीले सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई फोन गरेर बोलाए । श्रेष्ठ आएर अनुरोध गरे पछि बल्ल छाडे । यसरी प्रहरीको गलत मनसायको सिकार हुँदा पनि उनीहरुले विपन्नलाई राहत बाँड्न छाडेनन् । यसैले त ६३२ विपन्न परिवारले महामारीमा सजिलै छाक टारे ।
शर्मा भन्छन्, ‘प्रशासनबाट स्वीकृत लिँदासमेत पटक–पटक प्रहरी अधिकृतबाटै दुःख दिइँदा कताकता नराम्रो अनुभूति हुँदो रहेछ । महामरीमा रातदिन उहाँहरु पनि जनताकै सेवामा खटिनु भएको छ । यसमा हाम्रो पनि सम्मान छ । तर, बुझ्दा-बुझ्दै पनि नियतबस सेवा गर्ने हातहरु रोक्न खोज्दा पीडा भयो ।’ यस्तो अवरोध रोटरीले सुरु गरेको अभियानमा धेरैपटक भयो । एकदुई पल्ट त प्रहरीको अवरोध भए पछि उनीहरुले विपन्न परिवारलाई प्रहरीले अवरोध गरेकै ठाउँमा बोलाएर राहत बाँडेका थिए ।
संकटमा सेवा गर्ने हात बाँध्न खोज्ने प्रहरी भने शक्ति र पहुँचवालाको आडमा चल्छ । नियम सबैलाई एउटै छैन । व्यक्तिपिच्छे फरक नियम लाध्छ । महामारीको मौका छोपेर रातदिन रुपन्देहीका सीमा नाकाबाट तस्करी भइरहेको छ, तस्करी रोक्नतर्फ भने प्रहरीको ध्यानै छैन । घुमुवा परिचालन गरेर प्रहरी असुलीमै मस्त छ । तर, सेवा गर्नेमाथि भने पटक-पटक अवरोध गर्दै आएको छ । यसले रुपन्देही प्रहरीको साख नै खस्किरहेको पूर्व प्रहरी अधिकृतहरु बताउँछन् ।
लेखकको सम्वन्धमा