October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

खोपमा जालझेलः जनप्रतिनिधिको रोजाई आफन्त, स्वास्थ्यकर्मी खोप लुकाउन व्यस्त

भैरहवा- रुपन्देहीमा कोरोना भाइरसविरुद्ध खोप लगाउने कार्यक्रम विवादित बनेको छ । जनप्रतिनिधिहरुले लक्षति समूहभन्दा आफन्त, छिमेकी र पार्टी कार्याकर्तालाई खोपमा प्राथमिकता दिँदा अधिकांश पालिकाहरुमा खोप कार्यक्रम स्थगित छ ।

कतिपय खोप केन्द्रहरुमा स्वास्थ्यकर्मीले नै भाइल लुकाएको पाइएको छ । यसले गर्दा लक्षित वर्ग खोपबाट बञ्चित भएका छन् । बुधबार खोप कार्यक्रम चिलरहेका बेला आफन्त र केही नेतालाई खोप लगाउन भन्दै रोहिणी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरीले १६ भाइल खोप लुकाए ।

यसको सूचना प्रशासनले पायो । त्यसपछि प्रहरी खटाएर नै चौधरीले लुकाएको खोप फिर्ता लिइएको छ । यस्तो अवस्था मर्चवारी गाउँपालिकामा पनि रह्यो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला खोप समन्वय तथा अनुगमन समितिका संयोजक अस्मान तामाङ भन्छन्, ‘रोहिणीमा स्वास्थ्यकर्मीले नै खोप लुकाएको जानकारी आयो । हामीले त्यहाँ समन्वय गरेर फिर्ता दिन भन्यौं । तर मानेनन्, अनि प्रहरी लगाएर नै फिर्ता लिइएको हो ।’

खोपमा बद्मासी गर्ने चौधरीसहित सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्यकर्मीलाई पनि सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालय मार्फत् स्पष्टिकरण सोधिएको प्रजिअ तामाङले बताए । ‘खोप लगाउन हाम्रै नेपाली दाजुभाइले लगाएका हुन् । तर नियमसंगत भएन भन्ने हो, अर्कातर्फ खोप लुकाउनु कानूनविपरीत छ’, उनले भने, ‘कारबाही गर्ने कानून छैन, सचेत गराएका छौं । यसमा जनप्रतिनिधिहरुले साथ दिनुपर्छ ।’

मंगलबार पनि ओमसतिया गाउँपालिका–२ का अध्यक्ष ज्ञानेश श्रेष्ठको दवावमा ३० बढी लक्षित समूहभन्दा बाहिरका श्रेष्ठका आफन्त, छिमेकी र पार्टी कार्यकर्ताले खोप लगाएका थिए । यो अवस्था १६ स्थानीय तह रहेको जिल्ला भर नै छ । विवादकै कारण बुधबार अधिकांश स्थानमा खोप कार्यक्रम नै स्थगित भयो । तिलोत्तमा र सिद्धार्थनगरमा पनि जनप्रतिनिधिको दवाव उस्तै छ । जनप्रतिनिधि आफन्त र कार्यकर्ता बाहेककालाई खोप लगाउन दिन अनइच्छुक छन् ।

बिहीबार रोहिणी र बुटवल बाहेकका स्थानीय तहमा खोप कार्यक्रम रोकिएको छ । लक्षित समूहबाहेककालाई खोप लगाइदिने र खोप लुकाउने स्वास्थ्यकर्मीलाई प्रशासनले स्पष्टिकरण त सोधेको छ तर कानूनी अड्चनले उनीहरु कारबाहीबाट बञ्चित हुने भएक छन् ।

जिल्लामा १४ हजार ५५ भाइल खोप सरकारले उपलब्ध गराएको थियो । लक्षित समूहभन्दा निकै कम मात्रामा उपलब्ध खोपमा जनप्रतिनिधिको स्वार्थ बाझिँदा झनै समस्या परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले केही–केही ठाउँमा जनप्रतिनिधिहरुले आफूखुशी गर्न खोजेको बताए । उनीहरुसँग सहजीकरण गर्ने काम भइरहेको उनले जनाए ।

जेठ २५ गतेबाट चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप जिल्लाका ६९ केन्द्रबाट लगाउन सुरु भएको थियो । ६२ देखि ६४ उमेर समूहका जेष्ठ नागरिक र त्यसपछि फ्रन्टलाइनमा काम गर्नेलाई प्राथमिकतामा राखिएको थियो । तर, जनप्रतिनिधिको दवाव र स्वास्थ्यकर्मीको मनोमानीले कयौं लक्षित समूहभन्दा बाहिरकाले खोप लगाएका छन् ।

जेष्ठ नागरिक भने खोप लगाउनबाटै बञ्चित भएका हुन् । भैरहवाकी विष्णुमाया क्षेत्रीले खोप लगाउन गए पनि नपाएको बताइन् । उनले भनिन्, ‘नेताहरुको रोजाई आफन्त र कार्यकर्तामात्रै परे, हामीले त्यसै दुःख पाइयो । जेष्ठ नागरिकमाथि यस्तो अपमान हुनु ठीक होइन ।’ उनी मंगलबार खोप लगाउन गए पनि नपाएपछि फर्किएकी थिइन् ।

खोप व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएको छ । जिल्लास्तरमा खोप समन्वय तथा अनुगमन समितिको संयोजकमा प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । तर जनप्रतिनिधि हावी हुँदा प्रशासनलाई व्यवस्थापनमा निकै कठिनाई परेको छ । जिल्लामा उपलब्धमध्ये करिब ८२ प्रतिशत खोप लगाइसकिएको छ । अझै धेरै जेष्ठ नागरिक खोपबाट बञ्चित छन् ।

यो पनि पढ्नुस्

रूपन्देहीमा खोपमा जनप्रतिनिधिको स्वार्थ, चार पालिकामा स्थगित