March 22, 2025, Saturday
२०८१ चैत्र १०

रूपन्देहीमा खोपमा जनप्रतिनिधिको स्वार्थ, चार पालिकामा स्थगित

भैरहवा– रुपन्देहीमा कोरोना भाइरस खोप लगाउने क्रममा विवाद भएपछि केही ठाउँमा स्थगित भएको छ । जनप्रतिनिधिहरुको स्वार्थ बाँझिदा जिल्लाको चार पालिकामा खोप कार्यक्रम स्थगित भएको हो ।

जनप्रतिनिधिले आफन्त, पार्टी निटककालाई खोपमा प्राथमिकता दिएपछि विवाद जारी छ । अहिले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुँदा स्थगित भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

Advertisement

ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई सरकारी मापदण्डविपरीत गएर खोप लगाउन दिएपछि त्यहाँ विवाद छ । सरकारले तोकेभन्दा बाहिर गएर खोप कार्यक्रममा सहभागी गराएपछि जिल्ला प्रशासनले उनलाई स्पष्टिकरण सोधेको छ ।

‘उहाँले तोकिएको भन्दा पनि आफूखुशी खोप लगाउन दिनुभएको पाइयो, त्यसैले किन यस्तो भएको भनेर हामीले स्पष्टिकरण सोधेका छौं’, तामाङले भने । आज ओमसतिया, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका र मर्चवारी गाउँपालिकामा विवाद पछि खोप कार्यक्रम नै स्थगित भएको हो ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भेरोसेल खोप मंगलबारबाट लगाउन सुरु भएको थियो । सकारले जिल्लाका सबै स्थानीय तहहरुमा खोप उपलब्ध गराएको थियो । जिल्लामा ६२–६४ वर्ष उमेर समूहका १४ हजार ५ सय ५५ जना नागरिकलाई खोप लगाउन सुरु भएको हो ।

यो उमेर समूहका नागरिकको संख्या १८ हजार छ । सबैलाई पुग्ने खोप नआएपछि ३ हजार ४ सय ४५ जना यो उमेर समूहका नागरिक भने खोप लगाउनबाट बञ्चित भएका छन् ।

एक त सबैलाई पुग्ने गरी खोप नआएको र त्यसैमा जनप्रतिनिधिहरु हावी हुँदा समस्या परेको ओमसतियाका एक स्वास्थ्यकर्मीले बताए । उनले भने, ‘तोकिएको उमेर समूहभन्दा बाहिर गएर हाम्रो एक जना वडाअध्यक्षले आफ्ना छिमेकी, आफन्त र कार्यकर्तालाई खोप लगाउन दिएपछि विवाद छ ।’

सिद्धार्थनगरमा आवश्यकता भन्दा कम खोप आएको र जनप्रतिनिधिले आफन्त र कार्यकर्तालाई बढी प्राथमिकता दिएपछि विवाद हुँदा खोप लगाउनै स्थगित गरिएको प्रशासनले जनाएको छ । प्रजिअ तामाङले विवादका विषयमा केन्द्र र प्रदेश सरकारलाई जानकारी गराइएको र सहजीकरण प्रयास भइरहेको बताए ।

मंगलबार जिल्लामा ६९ खोप केन्द्रबाट ८ हजार ९९८ जनालाई खोप लगाइएको थियो । यसमध्ये अधिकांश पालिकामा जनप्रतिनिधिले नै आफन्त र कार्यकर्तालाई प्राथमिकता राखेपछि विवात उत्कर्षमा पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ साहले खोप अभावमा चार स्थानीय तहमा खोप लगाउन स्थगित गरिएको बताए ।

सरकारले खोप व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । तर जनप्रतिनिधिबीच स्वार्थ बाँझिदा समस्या निम्तिएको छ । लक्षित वर्ग नै उपेक्षामा परेका छन् । २० देखि ५० वर्ष उमेर समूहका कयौंले खोप लगाएका छन् । लक्षित समूह खोप केन्द्रमा पुगेर खोपै नलगाई फर्किएका छन् ।