June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

पाइलट गौरब बोहराको राजनीतिक उडान

Advertisement

भैरहवा– गौरव बोहरा, नेपाली हवाई क्षेत्रको चर्चित नाम हो । करिब तीन दशक हवाई उड्डयन क्षेत्रको अनुभव संगालेका बरिष्ठ क्याप्टेन बोहराले अब भने आफ्नो यात्रा राजनीतितर्फ प्रवेश गराएका छन् । करिब ८ वर्ष हेलिकोप्टर पाइलट र २० वर्ष जहाज उडान भरेका बरिष्ठ पाइलट बोहरा यतिबेला चुनावी मैदानमा छन् । लामो बिमान उडानलाई थाती राख्दै ४९ वर्षीय बोहराले राजनीतिक उडान सुरु गरेपछि मुलुकभर उनको चर्चा छ । अनुभव, क्षमता र इमान्दारिताले खारिएका बोहराले राजनीतिक उडान सुरु गरेपछि उनको चर्चा सुरु भएको हो ।

Advertisement

नेपाली आकाशमा कुशल पाइलटको रुपमा परिचित बोहरा अव राजनीतिक मैदानमा उत्रिएका छन् । राजनीतिक उडानका लागि उनले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका छन् । उनी चुनावी मैदानमा दल र स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । ‘राजनीतिक नेतृत्व तह जनताप्रति जिम्मेवार र जवाफदेही बन्न नसकेपछि, राजनीतिक तहमा धेरै बिकृति र बिसँगती मौलाउन थालेपछि म हवाई उडानको यात्रााबाट राजनीतिक मैदानमा होमिएको हुँ’, बोहराले भने ।

मुलुक सञ्चालनका लागि राजनीतिक नेतृत्वको बिकल्प नभएको जनाउँदै उनले राजनीतिक नेतृत्व तहमा सुधार गर्दै जनताप्रति पूर्ण जिम्मेवार र उत्तरदायी बन्ने उदाहरण बनेर देखाउन आफू यस क्षेत्रमा उडान भर्न आएको बताउँछन् । चुनाबी मैदानमा उनको अनुहार नयाँ हो । पहिलो पटक उनी निर्बाचनमा होमिँदै छन् । पार्टीको विभिन्न सँघसँगठनको नेतृत्व तहमा पनि उनको नाम यस भन्दा अगाडि खासै सुनिएको थिएन । तर, यस पटकको चुनावी मैदानमा एक्कासी पाइलट पेसालाई थाती राख्दै दृढ आत्मबिश्वास साथ उत्रिएका छन् । उनको राजनीतिक उडान कति सफल हुन्छ, त्यो फागुन २१ पछि थाहै होला । तर, उनको उम्मेदवारीले युवा, बुद्धिजीवी, राजनीतिक वृत मात्रै होइन्, क्षेत्रबासीमा समेत नयाँ तरंग ल्याएको छ ।

चुनावी मैदानमा उनको आगमन नयाँ भए पनि उनी राजनीतिलाई सानो उमेरदेखि नै जान्दछन् । किनकी उनी राजनीतिक घरपरिवार र सँस्कारमा हुर्किएका युवा हुन् । उनी स्वर्गीय दीपक बोहराका जेष्ठ सुपुत्र हुन् । दीपक बोहरा भैरहवा, रुपन्देही र आसपास क्षेत्रमामात्र नभएर मुलुक भरि नै राजनीतिक तहमा सुपरिचित नाम हो ।

भैरहवा लगायत् रुपन्देही जिल्लाको बिकास निर्माणमा स्वर्गीय बोहराको महत्वपूर्ण योगदान छ । स्वर्गीय बोहराको छोरा भएका कारणले पनि उनलाई अहिलेको राजनीतिक यात्रा सहज भएको छ । ‘आम जनताको पक्षमा विभिन्न योजना तथा नीति नियम संसदमा बनाउनेदेखि रुपन्देही–३ मा गर्नुपर्ने विकास निर्माणका योजना मेरो प्रमुख चुनावी मुद्दा हुन्’, उनले भने ।

निर्माण सम्पन्न भएर पनि नियमित रुपमा सञ्चालन हुन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित सञ्चालन गर्नका लागि एउटा जनप्रतिनिधिले खेल्नु पर्ने भूमिकादेखि सामान्य बिपन्न परिवारको झुपडीसम्ममा विकास भनेको के हो ? त्यसको आभाष पुर्याउनेसम्मका योजनामा उनका चुनावी मुद्दा केन्द्रित छन् ।

‘विकास निर्माण र पूर्वाधारका लागि रुपन्देही–३ आफैमा अथाह सम्भावनाको क्षेत्र भएर पनि बत्तिमुनि अँध्यारो भने जस्तै ओझेलमा परेको क्षेत्र भएको छ’, उनले भने, ‘अहिले पनि भैरहवामा रहेको भन्सार, राजश्व कार्यालय लगायत्का सरकारी कार्यालय मुलुककै प्रमुख राजश्व संकलन गरिदने निकायको रुपमा छन् । मुलुकका लागि यति धेरै योगदान पुर्याउँदै आएको रुपन्देही–३ नम्बर क्षेत्र अहिले ओझेलमा परेको प्रमाण गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित सञ्चालनका लागि देखिएको राज्यकै इच्छाशक्तिको कमीले प्रमाणित भएको छ ।’

बिमानस्थल नियमित सञ्चालनका लागि पाइला पाइलामा देखिएका अवरोधलाई एक–एक गरेर केलाउँदै समस्या सुल्झाउँदै लैजाने सोंच र योजनामा उनी छन् । यस बाहेक क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, ढल, सिमा व्यवस्थापन, पूर्वाधार निर्माण, पर्यटन विकास, युवा र महिला सशक्तिकरण कार्यक्रममा उनले स्पष्ट योजना बनाएको बताउँछन् । विगतदेखि नै क्षेत्र बुझेकाले आफ्नो यात्रा अब राजनीतिबाटै सुधारतर्फ केन्द्रित भएको बरिष्ठ पाइलट बोहराले बताए । उनले संसदमा खेल्नुपर्ने भूमिकादेखि क्षेत्र विकासको खाका बोकेर चुनावी मैदानमा आएको जनाए ।