रास्वपा बरिष्ठ नेता बालेन शाह आज रुपन्देही आउँदै, लुम्बिनीमा भव्य स्वागतको तयारी


भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज रुपन्देही आउने भएका छन् । पार्टीका अनुसार घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम अन्तर्गत शाह रुपन्देही आउन लागेका हुन् ।
रुपन्देही आउने क्रममा शाहले क्षेत्र नम्बर १ का उम्मेदवार सुनिल लम्साल, दुईका सुलभ खरेल, ३ का डा.लेखजंग थापा, ४ का कन्हैया बनियाँ र ५ का तौफिक अहमद खाँनलाई भेटेर चुनावी माहोल बारे जानकारी लिनेछन् । यस्तै, उनले पार्टीबाट समानुपातिक उम्मेदवार, जिल्लास्थित केन्द्रिय नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, स्थानीय नेताकार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् ।
रास्वपा नेताहरुका अनुसार घण्टी अभिवादनका क्रममा उनले मतदाता र शुभेच्छुकहरुसँग समेत भेटभाट गर्ने छन् । शाहले क्षेत्र नम्बर १ को धकधई, क्षेत्र नम्बर ४ को मर्चवार र क्षेत्र नम्बर ५ को लुम्बिनीमा दिउँसाे १ बजे घण्टी अभिवादन र जनसम्पर्क विस्तार गर्ने छन् ।
रास्वपाले पार्टीका बरिष्ठ नेता सहभागी हुने स्थानहरुमा पार्टीका शुभेच्छुकहरुलाई उपस्थित हुन अनुरोध गरेको छ । शाहको रुपन्देही आगमनले पार्टीलाई थप मजबुत पार्ने अपेक्षा रास्वपाका नेताहरुको अपेक्षा छ । शाहलाई क्षेत्र नम्बर ५ को लुम्बिनीमा भव्य स्वागतको तयारी गरिएको छ ।
रास्वपा स्रोतका अनुसार लुम्बिनीमा हुने घण्टी अभिवादनमा पार्टी सभापति रवि लामिछाने समेत सहभागी हुने सम्भावना छ । रवि हिजो मात्रै गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा घण्टी अभिवादन तथा जनसम्पर्क कार्यक्रम गरेर फर्किएका छन् । शुक्रबार राति लुम्बिनी आएर बसेका रवि आज रुपन्देहीकै कार्यक्रमहरुमा सहभागी हुने अपेक्षा गरिएको छ ।








प्रतिकृया दिनुहोस्