June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

अवैध ट्राभल एजेन्सीलाई निरुत्साहित गर्न व्यवसायीको माग

Advertisement

भैरहवा- संघसंस्था खोेलेर नेतृत्व लिने होडबाजी गर्न छाडेर पर्यटनको बिकासका लागि सवै व्यवसायी आपसी सहकार्यका साथ अगाडि बढ्नु पर्नेमा यहाँका व्यवसायीले जोड दिएका छन् ।

Advertisement

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स नेपाल (सोट्टो) लुम्बिनी प्रदेशको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा सहभागी व्यवसायीले बिना दर्ता अवैध रुपमा सञ्चालित ट्राभल एजेन्सीहरुलाई संघसंस्थामा आवद्ध गराएर संरक्षण दिनुको सट्टा त्यस्ता संस्थाको खोजी गरी निरुत्साहित गर्नुपर्ने पनि बताए ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले पछिल्लो समयमा आफू अनुकूलका लागि संघसंस्था खोल्ने र नेतृत्व लिने होडबाजी नै चल्न थालेको जनाउँदै अवैध रुपमा सञ्चालित पर्यटन व्यवसायीलाई दर्ताको प्रक्रियामा ल्याउन जरुरी भएको बताए । ‘दर्ता नै नगरी टिकट काट्ने ट्राभल्स एजेन्सी धेरै छन् । अनुगमनमा जाँदा सटर बन्द गरेर पहिल्यै भाग्ने गर्छन्’, आचार्यले भने, ‘त्यस्ता व्यवसायीलाई कारवाही गर्नेतर्फ राज्यको पहलकदमी हुँदैन । त्यस्ता अवैध व्यवसायीलाई बैधको दायरामा ल्याउन सोट्टोले नै पहल गर्न की ? ।’ कुनै पनि व्यवसायमा अवैध व्यवसायीलाई संरक्षण दिन नहुने र अवैध व्यवसायीलाई निरुत्साहित नगर्दासम्म बैध व्यवसाय फस्टाउन नसक्ने उनले बताए ।

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स नेपालका केन्द्रीय अध्यक्ष मानबहादुर शाहीले अवैध रुपमा सञ्चालनमा रहेका पर्यटन व्यवसायको नियमन तथा अनुगमन गरि कारवाही गर्ने मुख्य दायित्व राज्यको भएको बताउँदै अवैध व्यवसायीको वारेमा राज्यलाई जानकारी गराउने जिम्मेवारी अन्य व्यवसायीको पनि भएको बताए । ‘अवैध पर्यटन व्यवसायीको समस्या काठमाडौं भ्यालीमा अझ बढी छ । यस्ता अवैध व्यवसायीले हाम्रो गास खोसेका छन्’, शाहीले भने, ‘बैध रुपमा सञ्चालनमा रहेका हामी व्यवसायीले यसतर्फ राज्यलाई सजग बनाउँदै नियमन र अनुगमन गर्न लगाऔं ।’

पर्यटन व्यवसायी बीच आपसी एकता र सहकार्य गरेर अगाडी बढ्न जरुरी भएको बताउँदै उनले भैरहवा र पोखराको अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आउन नसक्नुको वारेमा बहस जारी राखिएको उनले बताए । बुद्ध जन्मस्थल लुम्बिनी नेपालकै पर्यटनको मेरुदण्ड भएको जनाउँदै उनले स्थानीय पर्यटनको प्रवर्द्धनका लागि उत्पादन ब्राण्डिङ र बौद्ध राष्ट्रहरुमा लुम्बिनीका वारे प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनु पर्नेमा जोड दिए ।

पर्यटन व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिष्णुप्रसाद शर्माले स्थानीय सवै पर्यटन व्यवसायीको मुख्य समस्या नै गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित सञ्चालन हुन नसक्नु रहेको बताए । बिमानस्थल नियमित सञ्चालन हुनासाथ सवै व्यवसायीको समस्या समाधान हुने भनाइ उनको थियो । ‘हामी पर्यटन व्यवसायी आफू अनुकूलका काममा लाग्ने र संस्थाको नेतृत्व कस्ले लिने ? भन्ने होडबाजीमा लाग्दा जुन काममा हाम्रो फोकस हुनु पर्ने हो त्यो हुन सकेको छैन’, शर्माले भने, ‘यसले गर्दा अन्य ठाउँका व्यवसायी हामीमाथि खेल्ने मौका पाउन थाले ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित सञ्चालनका लागि गरिने दवावमूलक कार्यक्रमहरुका लागि यस क्षेका सम्पूर्ण पर्यटन व्यवसायी उद्योग बाणिज्य संघको नेतृत्वमा अट्न सक्नु पर्ने उनले बताए । ‘यसकालागि उद्योग बाणिज्य संघले अगुवाइ गर्ने छ र हामी सम्पूर्ण व्यवसायी संघको छातामुनि रहेर एकजुट होऔं’, उनले भने, ‘ यसका लागि संघ सक्षम छ ।’

नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले लुम्बिनी आएका बिदेशका बौद्धमार्गी पर्यटकलाई भारतका बुद्ध सर्किट स्थलहरुमा लैजान नपाइने प्राबधानले लुम्बिनी क्षेत्रको पर्यटनमा थप समस्यामा परेको बताए । ‘यहाँका हामी ट्राभल एजेन्सीमाथि नेपालको वारेमा राम्रो टुर प्याकेजका कार्यक्रम बनाउन नसकिएको आरोप छ । यसमा हाम्रोपनि कमजोरी हो’, उनले भने, ‘पर्यटन व्यवसायी एक भएर नेपालकै बुद्ध सर्किटको टुर प्याकेज बनाऔं र हामी माथि लाग्दै आएको आरोपलाइ चिरौ ।’

लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्माले लुम्बिनी क्षेत्रका सवै पर्यटन व्यवसायी एकजुट हुन नसक्दा ठूलो अवसर र फाइदा गुमेको बताए । ‘हामीले लुम्बिनीलाई क्यास गर्न सकिएन । यसको फाइदा भारतीय पर्यटन व्यवसायीले लिइरहेका छन्’, उनले भने, ‘हामी अ–आफ्नो स्वार्थमा लाग्दा ठूलो भाग गुमेको छ ।’ सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन गुप्ताले हवाइ टिकटमा भ्याट लाग्नाले ट्राभल एजेन्सी समस्यामा परेको र बेलहिया नाकाबाट नेपाल आउने भारतीय पर्यटकमाथि सरकारी स्तरबाट लगाइएको अनाबश्यक प्रक्रियागत झमेलाका कारण भारतीय पर्यटक बेलहियाको सट्टा महेशपुर र कृष्णनगर नाकाको प्रयोग गर्न थालेको बताए ।

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल लुम्बिनी प्रदेशका निबर्तमान अध्यक्ष सञ्जय बजिमयले जेनजी आन्दोलन पश्चात नेपालमा सर्वाधिक पीडामा पर्यटन व्यवसाय भएको र पर्यटन क्षेत्रको सवै कुरा काठमाडौंमै केन्द्रिकृत हुँदा मोफसलका पर्यटन व्यवसायी समस्यामा परको बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पर्यटन व्यवसायी पर्यटन प्रव्द्धानात्मक कार्यहरुमा लाग्न आग्रह गर्दै नेपालमा बिदेशी पर्यटकलाई आकर्षित गर्ने खालको पर्यटकीय कार्यक्रम सञ्चालनमा ल्याउन नसकिएको बताए ।

सिद्धार्थ होटल संघ नेपालका उपाध्यक्ष भोजबहादुर खत्रीले संस्थाहरुमा राजनीतिकरण गर्न नहुने जनाउँदै पर्यटकको बसाईं अवधि लम्ब्याउन नेपालको पर्यटकीय गन्तब्य स्थलको साथसाथमा नेपालको सांस्कृतिक र मौलिक परम्पराको वारेमा पनि जानकारी हुने खालको कार्यक्रम समावेश गर्नु पर्ने बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राजेश महोत्राले पर्यटन व्यवसायी आपसमा सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव शिब ज्ञवालीले राज्यले आर्थिक समृद्धिको कुरा ल्याउने तर कसरी समृद्धि ल्याउन सकिन्छ ? भन्ने वारेमा भने मौन रहने गरेको बताए । सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं बाहेक अन्यत्रको आन्तरिक उडान नहुनु, अवैध रुपमा संचालित ट्राभल एजेन्सी र अनलाइनको माध्यमबाट टिकट काट्न पाइने प्रावधानले गर्दा यो व्यवसाय समस्यामा परेको बताए ।