June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

निर्वाचनः लुम्बिनीमा कतै उम्मेदवारी फिर्ता, कतै बागी कायमै

Advertisement

भैरहवा– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रुपन्देहीमा उम्मेदवारी दिएका कुल १ सय ५७ जना उम्मेदवारमध्ये शुक्रवार एकजनाले फिर्ता लिएपछि १ सय ५६ जनाको उम्मेदवार कायम भएको छ ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीका अनुसार निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । ‘उहाँको उम्मेदवारीका लागि राप्रपाबाट सिफारिश आएको थियो’, रुपन्देही २ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले पब्लिक कुरासँग भने, ‘आज उहाँले आफ्नो उम्मेदवारी फिर्ताका लागि निबेदन दिनुभयो । अनि फिर्ता भयो ।’

आफ्नो उम्मेदवारी फिर्ता लिएका बारेमा सार्वजनिक गर्दै थापाले आफू अध्ययनका क्रममा १४ वर्षसम्म नेपाल बाहिर रहेको र त्यही क्रममा लिएको बिदेशको स्थायी आवास अनुमती पत्र उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने बुझाइ आफ्नो रहेको जनाएकी छन् ।

‘बिदेशको स्थायी आवास अनुमती पत्र त्याग गरेको कम्तिमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने व्यवस्था रहेको वारेमा आफू अनभिज्ञ रहेको उनले जनाएकी छन् । ‘मसँग अहिले नेपालको बाहेक अन्य कुनै पनि मुलुकको नागरिकता तथा राहदानी छैन’, सार्वजनिक गरेको पत्रमा उनले भनेकी छन्, ‘संवैधानिक व्यवस्था र नियमलाई स्वीकार गर्नु हामी सबैको कर्तब्य हो ।’ आफ्नो उम्मेदवारी बिरुद्ध कुनै उजुरी नपरे पनि राप्रपाबाट फिर्ता लिन अनुरोध गरेको र संविधानको मर्म र भावना अनुरुप फिर्ता लिएको उनले जनाएकी छन् ।

आफ्नो उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारका लागि निर्वाचन आयोगले शुक्रवार दिन तोकेको थियो । शुक्रवार रुपन्देही लगायत् बर्दिया, बाँके, पाल्पा, पश्चिम नवलपरासी, रोल्पा जिल्लाबाट केही उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

बर्दियामा ३ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा बर्दिया क्षेत्र नं. १ मा उम्मेदवारी दिएका प्रगतीशिल लोकतान्त्रिक पार्टीका उम्मेद्वार राजु रानाभाट, क्षेत्र नं. २ मा प्रगतीशिल लोकतान्त्रिक पार्टीकै उम्मेदवार नेत्रराज आचार्य र स्वतन्त्र उम्मेदवार नुतनकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

रोल्पामा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक निर्वाचन क्षेत्र रहेको रोल्पामा स्वतन्त्र उम्मेदवार आशबहादुर पुन र दलबहादुर खत्रीले फिर्ता लिएका हुन् । पाल्पाको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार देवीप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् । भण्डारीले एमालेका उम्मेदवार ठाकुरकुमार गैरेलाई समर्थन गर्ने बताएका छन् ।

बाँकेमा निर्वाचन क्षेत्र नम्बर २ बाट २ जनाले फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेका अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार सरस्वतीप्रसाद बर्मा र नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ताले उम्मेदवारी फिर्ता लिएका हुन् ।

केसीको उम्मेदवारी कायमै
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले दाङको निर्बाचन क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी कायमै राखेका छन् । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले दाङ–१ बाट कसैले पनि उम्मेदवारी फिर्ता नलिएको जनाए ।

दाङ–१ मा देखिएको विवाद मिलाउनका लागि नेकपाका नेता वर्षमान पुन दाङ पुगेका थिए । दाङ पुगेर नेता पुनले उनीसँग छलफल गरेका थिए । तर केसीले उम्मेदवारी फिर्ता लिन नमान्दा उम्मेदवारी कायमै रहेको हो ।

पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका थिए । उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको बताएका थिए । उनी पार्टीमा बागी उम्मेदवार हुन् ।

नवलपरासी-२ मा बल्झियो थापा र कंडेल विवाद

वाचा पूरा गर्न प्रदेश छाडेर प्रतिनिभि सभा उम्मेदवार

रूपन्देहीमा चुनावी चहलपहल ह्वात्तै बढ्यो

फरक पेसाबाट संसदीय राजनीतिको दौडमा

रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?