June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लघुकथा: मैले नबुझेकी ऊ

Advertisement

एउटी परिचित युवती म भएतिर आइरहेको देखेपछि म उसैको अघिअघि सरासर आफ्नो कोठामा प्रवेश गरेँ । औपचारिक कारण सोध्न नपाउँदै ऊ मतिर फर्केर कुर्चीमा बसी र बोल्न थाली, “तिमी त पुरुष सदावहार रूख जस्तो । आफू त नारी पतझड जस्तो ।” ऊ थप्दै गई, “नारी त सेतो कपडा । एउटा दाग मात्रै के लागोस् अमिट रूपमा रहिरहन्छ । कसैले नचाहेको माला बनेर भिरिन त म चाहन्न । तथापि समाज यही हो । तिमीलाई थाहै छ ।”

Advertisement

यस्तै यस्तै बोली वर्षाइरहेकी थिई ऊ । म बेलाबेला बोल्न नखोजेको होइन । अवसर पाए पो ! ऊ अटुट धाराको पानी झैँ मेरो कानमा खन्याइरहेकी थिई । म रुचि नरुचि थापिइरहेको थिएँ ।

“आफू त सेतो कपडा,” फेरी उही दोहोर्‌याई उसले । पालो मिचेरै म बोलेँ, “तिम्रो आशय के हो ?”

अब ऊ बोलिन । अहँ पटक्कै बोलिन । म साह्रै असहजतामा परेँ । आखिर ऊ मबाट के चाहन्थी ? हेरेँ उसका अङ्ग प्रत्यङ्ग । नियालेँ उस्को गेटअप । अहँ मेरो प्रयास बालुवामा पानी भयो ।

म दुविधायुक्त प्रस्तुतिको भेउ खोज्दै थिएँ । शायद ऊ अरू शब्दवाण सन्धान गर्दै थिई । कुराको बिट मार्ने सुरले मैले बोलेँ, “भोको भन्छ वारि नै खाऊँ । अघाएको भन्छ पारि पुगी खाऊँ । तिम्रा र मेरा शैलीहरू अलगै छन् । गन्तव्यहरू झन अलगै ।” तर ऊ त बोल्दै बोलिन, न त कुर्चीबाट नै उठी । शायद ऊ आज कुनै अठोट लिएर आएकी छ ।

यत्तिकैमा म बाहिर जान्छु भन्दै ढोकाको चुकुल तानेको मात्र के थिएँ, ऊ जुरुक्क उठी । म भएतिर अगाडि बढी । एक शब्द उच्चारण नगरी मेरो अघिअघि पाइला बढाई । म एकोहोरो हेरिरहेँ । ऊ एकैछिनमा अदृश्य भई । -sahityapost