ऐनामा आफ्नो अनुहार

दृश्य-१
– के हेरेको यसरी ?
– मेरो आफ्नो अनुहार ।
– तँ कहिल्यै मान्छेको स्तरमा पुगिनस् ।
– किन भन्छस् त्यसरी ?
– तँलाई लाज लाग्दैन ?
– किन, मैले बुझिनँ त…
– बुझे पनि बुझ् पचाउँछस्, छाडा कहीं को ।
– खोलेर भन्न त ।
– के बाँकी रह्यो भन्नलाई…
– मैले के बिराएँ र ?
– के पो रह्यो र अब… सबै थोक बर्बाद भइसक्यो, अरूलाई सिन्को जत्ति पनि गन्दैनस्…
– मैले कसैलाई अपमान गरेको छैन, सबैलाई समान रूपले हेर्दछु…
– त्यो त बाहिर देखाउँछस् मात्रै, तँ एक नम्बरको बदमास होस्…
– त्यसरी नभन, म त्यति नराम्रो मान्छे होइन….
– अरूले पो भन्नु पर्दछ त, आफैंले सर्टिफिकेट दिएर के हुन्छ ?
– मैले कसको के बिगारेको छु र ?
– कसैको उपकार पनि त गरेको छैनस् नि…
– ठूलो मान्छे हुँ भनेर मैले कसलाई भनें र ?
– तेरो बेहोरा-बानीले नै भन्दछ, अरूका अगाडि गजक्क परेर हिंड्छस्, मपाईँ भएर…
– मलाई अलिक बुझाएर भन् त, म पनि बुझ्दछु नि..
– केही पनि बुझ्दैनस् तँ ।
– किन ?
– तँ देखि रिसाएका छन् सबै । तँ एक्लो हुनुपर्छ एकदिन, अनि चाल पाउलास्…
– मैले कुरो बुझिनँ….
– आँखाको कालो चश्मा खोलेर अलिक बाहिरतिर हेर्ने गर…, छन् कोही तँसित यस बेला ?
– मैले के गर्नु त ?
– गर्नु पर्ने काम धेरै छन्…
– कसरी ? किन ? कहिले ?
० ० ० ०
दृश्य-२
एउटा जीवनको सम्पूर्णताभित्र बाँच्न चाहने मानिस ऊ, तर कता कता केही नपुग्दो, नचाहिंदो भए जसरी उसको जीवनका घुमाउराहरूमा कैयौं अड्चनहरू देखा पर्न थालेका थिए । ऊ एकदमै बेवास्ता रह्यो । समस्याहरूले त पछार्न सक्दैनन् उसलाई कसैगरी, तर ऊभित्रको हुन्डरीले उसलाई अनवरत यता-उता हुत्त्याइरहेको हुन्छ, अचेल उसलाई त्यस्तै लाग्नेगर्दछ ।
कलेज रोडको घुम्तीनेर आइपुगेपछि उसले खल्तीबाट निकालेर एउटा चुरोट सल्कायो । मात्र, केही क्षणका लागि सान्त्वना दिनसक्ने एउटा साधन । वरिपरि आँखा कुदायो, साँझपखको विरामहीन निस्तब्ध वातावरण । पर कुनामा एउटा लुते कुकुर एक्लै उभिरहेको देख्यो उसले । ऊ कुकुर भएतिरै बिस्तारै अघि बढ्यो अनि त्यसको नजिक पुगेर ठिङ्ग उभियो ।
उसलाई औधी मन पर्ने ठाउँ यही हो । तर आज होइन, कैयौं साल अघिको समय । अब त सम्झना मात्र रह्यो, जलेर निःशेष भइसकेको चुरोट जस्तै ।
उसले केही त गल्ती गर्यो होला, जसका लागि लथालिङ्ग भइसक्यो सबै नै । आफ्ना मानिसहरूसित मनोमालिन्य, आत्मीय जन सितको बिछोड, विरही परिवेश, नरमाइलो स्थितिको आविर्भाव, बन्धु-बान्धवीहरूसँगको दूरत्व – यी सबै कुराहरू उसले सहन गरिरहेको छ ।
उसलाई त लाग्दछ कि ऊ नराम्रो मानिस होइन । कतै पनि जाँदैन, कसैलाई केही पनि भन्दैन । मात्र घर र अफिस । परिवारका समस्याहरू पनि ऊ सक्दो समाधान गर्ने कोशिश गर्दछ । रुपियाँ-पैसा ऊसित धेरै छैनन्, तर एउटा संग्लो मन त छ ऊसित बाँचिरहेको । उसले कसैलाई नराम्रो बोलीले बोले जस्तो लाग्दैन, किनकि हो-हल्ला, झगडा-मारपिट आदिबाट ऊ धेरै टाढा बस्न खोज्दछ । त्यसो भए, उसलाई किन मन पराउँदैनन् छर-छिमेकीहरू ? केही बिगारेको जस्तो पनि लाग्दैन ।
बल गरेर सम्झिन खोज्यो, कसैलाई केही नराम्रो कुरो यो भन्यो कि ?
अहँ, सम्झनामा छैन…
उसलाई जीवनले के दियो र ? कुनै दिन हिसाब गरेको छैन । जीवनबाट ऊ वाक्क पनि भएको छैन ।
बाक्लिएको साँझ पोखियो कालो सडकभरि । उसका पाइलाहरू बिस्तारै अनि बढ्न थाले ।
० ० ० ०
दृश्य-३
ऐनामा उसका अनुहारहरू फेरिँदै गए…
मुसो – उसका आँखाहरू मुसा जस्तै देखिए ।
बिरालो – कानहरू बिरालोको जसरी हल्लिएका थिए ।
कुकुर – लामो मुख भएको कुकुरको मुख देखियो ।
गोरु – गोरुको जस्तै पुच्छरले हिर्कायो आफ्नो आङ्भरि ।
सुँगुर – सुँगुर जसरी उफ्रिन थाल्यो उसको शरीर ।
साङ्गलो – लामालामा दाह्रीहरू हल्लिन थाले ।
साप – हातहरू चिप्ला-काला रङका देखिए ।
भ्यागुतो, गँडेउलो, जुम्रा, झिँगो, भैंसी, स्याल इत्यादिका छविहरू क्रमशः टल्किन थालेका थिए, एउटा पछि अर्को, निरन्तर…
के त्यसो भए, यस बेला ऊ मानिस भइरहेको छैन त ? कि मानिस जस्तो प्राणीसित यी पशुका टाउकाहरू, हातहरू, नाक-मुखहरू जोडिएका छन् ? स्वयंलाई बुझ्ने बारम्बार प्रयासले पनि सङ्लो छविको प्रतिबिम्ब टल्काउन सकेको छैन । दोष कसलाई दिनु र, स्वयंलाई कि ऐनालाई ? अँध्यारोभित्रको उपस्थितिसँग बारम्बार ठोकिंदै निस्किएका शरीरका अंग-प्रत्यंगहरू उसका आफ्ना होइनन् जस्तो लाग्यो ।
धत्, यस्तो के सोचेको होला… ऊ स्वयंलाई त्यत्ति मूर्ख ठान्दैन जत्तिको अरूले सोच्ने गर्दछन् ।
सेतो कपडाले छोपिदियो ऐनालाई, यस बेला त्यहाँ केही पनि देखिंदैन ।
० ० ० ०
दृश्य – ४
‘परिवर्तनको नाउँमा कतिले कैयौं प्रयास गरे, कोही सफल भए, कति मरेर गए तर केही पनि भएन । परिवर्तन एक्लैले गर्ने काम होइन, एउटा हूल अघि बढ्नु पर्दछ । अनि त्यसका लागि हुनुपर्दछ सही लक्ष्य र दह्रिलो मनोभाव…’
यस्तो सपनालाई उसले पनि सजाएको थियो यौवन अवस्थामा । अरूले देखे जसरी, एउटा स्वच्छ बिहानीपखको कामना र तीनका सुनौला रेखाहरू कोरेर उसले सिङ्गो समयलाई मुट्ठीभरि बाँध्ने प्रयास गरेको थियो । त्यस बेला ऊसित धेरै जना साथीहरू थिए, साहस र जाँगर त थियो नै । पछि फर्किएर हेर्दा, अहिले ऊ एक्लो छ, सबैजना आ-आफ्नो बाटो रोजेर गए । काँढा उम्रिएका बाटाहरू…, कसैले पर्खिएनन् उसलाई । न त एकपल्ट बोलाए नै । अनि फगत एक्लो ऊ लुरुलुरु…
जीवनदेखि ऊ ठ्याम्मै असन्तुष्ट भएको छैन । उसलाई नराम्रो त लाग्दछ, जब अरूले हियाएर बोल्दछन्, देखेर पनि बोल्दैनन् कि त तीखो र चर्को मन्तव्य पोख्ने गर्दछन् ।
उसले बिर्सिएको छैन गाउँको खिरिलो बाटो, गोधूलिको नैसर्गिक वातावरण र सुसेली हालेर गाएका सुरिला धुनका भाकाहरू । छातीभरि अँटाएका छन् अझै पनि, तर कसैले स्पर्श गर्ने इच्छा नै गरेनन् ।
साँझपख परतिर कुकुरहरू कराउन थाल्छन् । साँझको मादकताले हिर्काएर जान्छ उसको अनुहारभरि । अँध्यारोले सडकहरू पनि नचिनिने भइसकेका छन् । ऊ हतार-हतार हिंड्न थाल्यो गन्तव्य स्थानतिर ।
० ० ० ०
दृश्य-५
– त्यसरी नहेर, छक्क पर्लास् ।
– तँलाई हेरेको ।
– मलाई होइन, तँ स्वयंलाई हेर्ने प्रयास गर ।
– त्यसो नभन, प्रतिबिम्ब मेरो भए पनि तेरो अनुहारतिर म हेर्दैछु ।
– तँ एक्लो छस्, त्यसैले तँ एक्लो भइस् ।
– मैले बुझिनँ ।
– तँ अबुझ छस्, त्यसैले तँसित कोही छैनन् ।
– अर्थात् ?
– तँ कायर होस्, त्यसैले तँसित साहस छैन ।
– तर म बाठो छु, मसित विवेक छ ।
– तँ मूर्ख होस्, त्यसैले तेरो केही लक्ष्य छैन ।
– तेरो अनुपस्थितिमा पनि म बाँच्न सक्छु ।
-तर प्राणहीन जीवनसित कसरी अघि बढ्छस् ?
– तेरो सहारा बिना नै म हिंड्न सक्छु ।
– लक्ष्यहीन बाटोको कुनै मूल्य छैन ।
– त्यसो भए, चिमोटेर हेर् आफ्नो अनुहारलाई, फगत एकपल्ट ।
० ० ० ०
दृश्य-६
दिनभरिको उज्यालोले उसलाई दिक्क पार्यो । कहाँ अटाउँछ यति बिघ्न उज्यालो ? उसलाई त दिनभरि घामले हिर्काएको अनुहारमा अलिकति उज्यालो भए पुगिहाल्छ । काला दागहरू छाम्यो हत्केलाले । पोलिएर रातो भएका होलान्, ठीक एकाबिहानै पल्लो आकाशमा देखिने घामको अनुहार जस्तै ।
आफ्नो कोठाभित्र पसेर उसले बत्ती बालेन । कोठाभित्र मात्र ऊ र एउटा जुनकीरी । ऐना भएतिर उसले आँखा कुदायो, अहिले ऐनामा उसको अनुहार नै देखिंदैन । –sahityapost
प्रतिकृया दिनुहोस्