April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

निशान्त काउकुती !

मन चकमन्न छ । लेख्ने अनुसूची फुरेको छैन । कम्प्युटरमा एउटा ‘वर्ड फाइल’ खोलेर यसै छाडेको छु । किबोर्डमा औँला नाच्न मानिरहेका छैनन् । कुर्सीमा गजधम्म बसेको छु । तेस्रो सिगार जलाइसकेँ । अहँ, केही फुरेको छैन ।
के भएको हो ?
लेख्ने कुरा मेरा सकिएका हुन् त ? 
विचार गर्न खोज्छु– मन रित्तो छ । बिल्कुलै खाली । 
निर्विचार !
कता गए सपनाहरू ? कता गए प्यास र हुटहुटीहरू ? अनि कता गए असन्तुष्टि र अनिर्णीत प्लटहरू ? 
न कुण्ठा न जलन । के पग्लिएकै हुन् त गाँठिएका ग्रन्थिहरू ? 
आँखा बन्द गर्छु । 
चकमन्न !
के लेख्ने ?
०००
त्यसो भए, के हिजोसम्म म केवल विचार लेखिरहेको थिएँ ? आत्माको कुरा लेखे पनि के म त्यसलाई केवल विचारकै तहबाट व्याख्या गरिरहेको थिएँ ? अनि, के असमयलाई पनि म समयको पिँजरामा कैद गर्ने धृष्टता गरिहेको थिएँ ? जो अलेख्य छ, त्यो कसरी अक्षरमा टंकण हुनसक्छ ? अथाह महासागर कसरी एउटा लोटामा अटाउन सक्छ ?

Advertisement

तर, भन्नेले भन्लान्— लोटा त धेरै ठूलो भयो, सात समुद्र पनि एक थोपा पानीमा समाहित हुनसक्छ । दर्शनमा यो सम्भव होला । यथार्थविज्ञानमा यो लागु हुँदैन ।

Advertisement

विचारभन्दा भित्र छिर्ने प्रयास ध्यानमा गरिन्छ । यसमा सफलता मिल्न अथाह समय लाग्न सक्छ । वा नलाग्न पनि सक्छ । मलाईचाहिँ अत्यधिक समय, संघर्ष र परिश्रम लाग्यो ।

किनभने, बच्चैदेखि मेरो दिमाग अत्यधिक चल्थ्यो । म रातरातभर कल्पनाको जादुइ र चमत्कारिक दुनियाँमा गोता लगाउँथे । विचारबाट निस्किने होइन, म त विचारको गर्तमा झन्झन् भासिँदै थिएँ ।

मेरो सबैभन्दा प्रिय कल्पना आकाशमा उडान भर्नु अर्थात् आकाशगमन । अर्को, चराचर भएर ब्रह्मयात्रा गर्नु ।

आजकल कल्पना क्षीण हुँदै छ । ध्यान गरेर निर्विचार हुने आफ्नो प्रयास ठिकै मार्गमा जाँदै छ भन्ने लागिरहेको छ । लेख्ने प्यास पनि विस्तारैविस्तारै मेटिँदै गइरहेको छ ।

लेखेर यहाँ केही पनि लछारपाटो लगाउनु छैन । नलेखेर मूक हुनु पनि यहाँ बेकार छ । त्यसैले मन लागे लेख्ने, नलागे नलेख्ने । वा सुविधा भए लेख्ने, असुविधा भए नलेख्ने । तर, विचारबाट निर्विचार आयाममा पुगिसकेपछि धेरै कुराहरू छुटिसकेका हुन्छन् । सारा बौद्धिक कामहरूबाट त्यहाँ तत्क्षण मुक्ति मिल्दछ ।

सासको ध्यानले निर्विचार सम्भव हुन्छ । आध्यात्मको शक्ति बुझ्न मलाई निकै समय लाग्यो । विपश्यनाको विधायक असर महसुस हुन निकै समय लाग्यो । विपश्यना गर्न थालेको एक्काइस वर्षपछि मात्रै मैले यसको विधायक असर महसुस गर्न थालेको हुँ ।

नत्र म दुविधामा थिएँ । रस, गन्ध, रूप, स्वाद, वासना र कल्पनाले गाँजिएको । मभित्र भोक थियो । भोगिप्सा थियो । कर्महरू गाँठिएका । ग्रन्थि जकडिएका । संस्कार विकसित नभएको । साक्षी फितलो । बेहोसी घना । सादगी नफक्रिएको । चेतना मूर्झाएको ।

यस्तो मेरो अवस्था थियो । अहंकार, जलन, क्रोध र वासना मभित्र अत्यधिक थियो । कसमा छैन र ? तर, मैले यसमा काम गरेँ । स्वउत्खनन गरेर दर्जनौँ पाना लेख्दै आफ्ना विकारहरूउपर सजग रहने प्रयास गर्दा जिन्दगीका अप्ठ्यारा समीकरणहरू समाधान हुँदै गए । आत्मनिरीक्षणले धेरै अस्तित्वगत समस्या हल हुन्छन् ।

तथापि, प्रमाणित त केही गर्नु छैन यहाँ । गर्नु छ केवल जिन्दगी सहज । 
०००
लेखाइको अनकन्टार जंगलबाट बाहिर निस्किन गीत सुन्ने र गाउने आफ्नो आदत छ । लेखेको लेख्यै गरियो भने दिमाग तनावग्रस्त हुन्छ । बीचबीचमा अन्तराल भएन भने लेख्न गाह्रो । अनावश्यक र योजनाविहीन घुमघामले पनि मजस्तो लेखकलाई ‘रिफ्रेस’ तुल्याउँछ ।

बिल्कुलै सामान्य पात्रसँगको भलाकुसारीले आफूलाई पनि सामान्य तुल्याउँछ । मुड चले उसको कथा लेखिदिनु वा मुड नचले ऊसँग एक कप चिया पिएर छुट्नु । अनि फेरि अर्को पात्रको बिल्कुलै नयाँ वा यथावत् अनुभवमा बरालिनु । यी मेरा आदत बन्दै गए ।

जस्तै ः लेख्न मन नलागेका बेला पनि यदि एउटा चाखलाग्दो पात्र भेटिएको खण्डमा थाहा हुँदैन कति बेला म उसको कथा लेखिसकेको हुन्छु र उसको अनुमति लिएर कुनै चल्तीको वा मन्दी भोगिरहेको अनलाइन पोर्टलतिर ठेलिदिन्छु । अनि, भित्तातिर फर्केर सुतिदिन्छु । मस्त निद्रा लाग्छ । 
०००
तर आज, अहिले भर्खर के लेख्ने ? 
लेख्ने जाँगर छ । तर, मन चकमन्न । 
कहिले मनमा अनेक प्लट फुरेका हुन्छन् । तर, लेख्ने जाँगर हुँदैन । जाँगर भए सुविधा हुँदैन । तर पनि कथा तयार भएर कतै पुगिसकेको हुन्छ । पूर्ण भइसकेको सामग्री मसँग रहन मान्दैन । त्यो मसँगै रहे, अर्को लेखिन्न । त्यसलाई कतै ठेलेर एक निद्रा सुतेपछि मात्रै अर्को !

कहिले जाँगर र सुविधा हुँदाहुँदै पनि एक कञ्चोे लेखिन्न । मन चकमन्न भइरहन्छ । अहिले भर्खरै भइरहेजस्तो । तर पनि कथा तयार हुन्छ । अनि, त्यो कतै पुगिसकेको हुन्छ । अपूर्णलाई पनि आजकल म पूर्ण गरिदिन्छु । अलिखितलाई पनि आजकल म लेखिदिन्छु । चकमन्न मनमा पनि हलचल ल्याइदिन्छु । वा कोलाहलग्रस्त मनलाई चकमन्न तुल्याइदिन्छु । प्रयास गरे के हुँदैन यहाँ ?
धेरै ठूलो प्रयास पनि किन चाहियो ?
बस्, एक लामो सास लिने । त्यसलाई केही बेर रोक्ने । सासलाई छातीमा अँठ्याउने । अनि, विस्तारै छाड्ने । छाडेर पनि रोक्ने । नाइटोको खालीपनलाई कस्ने । अनि, झन् लामो सास तान्ने र प्राकृतिक सासमा लयबद्ध हुने ।
रिफ्रेस ! 
०००
सास रोक्ने अभ्यासले रिफ्रेस मात्रै गराउँदैन, यसले प्राण र इच्छाशक्तिलाई पनि मजबुत तुल्याउँछ । अर्कोे महत्त्वपूर्ण कुरा, यसले निर्विचारतर्फ लैजान्छ । नियमित सास रोक्ने अभ्यासले समयको रफ्तारबाट असमयको चकमन्न आयाममा पुर्याउँछ । अनि, हामीलाई ब्रह्म अनुभूत हुन्छ ।

जसरी बाहिर एउटा समय चलिरहेको छ, त्यसरी नै हामीभित्र पनि एउटा समय चलिरहेको छ – अन्तस् समय । बाहिरको समय हाम्रो नियन्त्रणभन्दा बाहिर छ । तर, अन्तस् समय हाम्रो नियन्त्रणमा छ ।

अन्तस् समयलाई तोडमरोड गर्न सकिन्छ । सासउपर गरिने ध्यान वा प्राणायामको रहस्य नै यही हो कि चलिरहेको अन्तस् समयलाई सकेजति रोक्ने । वा भस्त्रिका, कपालभाति प्राणायाम गरेर तोडमरोड गर्ने । भित्री समयको पर्खाल भत्काउने ।

टाउकोमा लादिएका विभिन्न कार्यक्रम तोडेर नयाँ कार्यक्रम हाल्न सासको ध्यान वा प्राणायामले औधि मद्दत गर्दछ । यसले जीवन ऊर्जासंग्रह पनि गर्दछ । आजको भाषामा, ब्याट्री बचत । 
अब के चाहियो ? 
रोकौँ सास !

स्मरणीय छ, तपाईं आफैँ आफ्नो सास रोकेर मृत्युवरण गर्न सक्नु हुन्न । त्यसैले भन्छु, सकेजति रोक्नुहोस् सास ! लामो सास लिनुहोस् । अनि, रोक्नुहोस् । सकेजति रोकेर विस्तारै छाड्नुहोस् । अनि, फेरि रोक्नुहोस् ।

एउटा तानेर रोक्ने । अर्को छाडेर रोक्ने । सासका यी दुई कसरत नियमित गर्नाले तीन हप्तामा नै तपाईंमा एउटा अनौठो ताजगी छाउनेछ । तपाईं आफूलाई बिल्कुलै नयाँ, जवान र निरोगी पनि पाउन थाल्नु हुनेछ ।

सुत्ने बेलामा यसलाई गर्न सकिन्छ । उठेर गर्न सकिन्छ । खाना र पानी खाएका बेला भने यसलाई गर्नु हुँदैन । अभिसाररत अवस्थामा सास रोक्ने कसरत गर्नु अति उत्तम मानिन्छ ।

बेलाबेला दोहोरो सास रोक्नुको मुख्य फाइदा विचारबाट निर्विचारतर्फ छलाङ ।

मानव तब मानव हुन्छ जब ऊ विचारबाट बाहिर निस्किन्छ । विचारबाट प्रक्रियागत रूपमा बाहिर निस्केपछि मात्रै मानव आफ्ना विचारलाई वशमा लिन सक्षम हुन्छ । 
विचार वशमा नभए मानव कसरी ?
०००
थाहा छैन, अहिले भर्खर म के लेखिरहेको छु । यो सब मैले लेख्न खोजिरहेको विषय होइन । म अर्थोकै केही लेख्न चाहन्छु । म सहरका कथा लेख्न चाहन्छु । म भोका र धेरै खाएका मान्छेहरुको अन्तरालबारे छुट्टाछुट्टै कथा लेख्न चाहन्छु । म मान्छेहरूका संघर्षका कथा लेख्न चाहन्छु । प्रतिभा प्रस्फुटनका रंगिन वा श्यामश्वेत कथा म लेख्न चाहन्छु । 
तर, मन चकमन्न छ । अनि, म रित्तिएको छु । बिल्कुलै खाली ।
भन्नेले यसलाई जेसुकै भनून्, निर्विचार, क्वान्टम, लुनेटिजम वा अन्य ।
तथापि, यही मेरो अध्यात्म सिकाइको प्रथम उपलब्धि हो – म रित्तिएको छु ।

त्यही चकमन्नता वा खालीपनमा रहँदा म आध्यात्मिक हुन्छु । विचारमा रहँदा भौतिक । विचार वरपर रहँदा पनि भौतिक । भन्न मन लाग्छ, सारा विचारवादीहरू भौतिक हुन् । उनीहरूको टाउको फुलेर बडेमान । शरीर सुकेर सिन्को । उनीहरूको टाउकाको गति पनि अति तीव्र र तीक्ष्ण हुन्छ, तर शरीर ? उनीहरूको शरीर भने धीमा र पशु चेतना ननिख्रिएको अवस्थामा ।

स्मरण रहोस्, मान्छे सोचेर महान् हुँदैन । सोचहरूलाई नियन्त्रणमा लिएर मात्रै महान् हुन्छ ।

निर्विचारले अति सुन्निएको टाउकोलाई वास्तविक आकारमा ल्याउँछ । त्यसैले भौतिकवादीहरू निर्विचारमा जान डराउँछन् । यदि, दुर्घटनावश उनीहरू विचारको आयामबाट हुत्तिएर निर्विचारमा पुगे भने उनीहरूलाई मानसिक रोग विशेषज्ञकहाँ धाउनुपर्ने हुन्छ । भौतिकवादीहरूसँग अरू उपाय छैन । अनेक दबाइ खाएर उनीहरू निर्विचारका लक्षणहरू दबाइदिन्छन् ।

विचार गुम्ने डरले कैयौँ मान्छे निर्विचारमा फाल हाल्दैनन् । किनभने, विचार नै उनीहरूका लागि सबथोक हो । केही विचार सापटी, केही विचार रटराट र केही विचार वंशाणुगत । यहाँभन्दा बढी केही ?
यहाँभन्दा बढी केही भए त्यो निर्विचार हुनु जरुरी छ । 
यहाँ धेरै भयो विचारको दाइँ । जसले केवल घोषित वा अघोषित मनोरोगीहरूको संख्या बढायो । विचारहरू डाइनामाइटझैँ विस्फोट भए । अनेक टकराव र युद्धहरू भए ।

अब दुनियाँमा निर्विचारको अभ्यास हुनु जरुरी छ । अब टाउकोमा विचार लाद्ने होइन, सदियौँदेखि लादिएका विचारहरू निकाल्ने बेला हो । 
रूख चढिन्छ भने ओर्लिनु अनिवार्य !
०००
विचार – विस्फोट । निर्विचार – अविस्फोट ।
लौ, अब मलाई केही फुर्यो । 
अब एउटा सिगार तानेर लेख्न बस्छु । यसपालि मेरो लेखाइको विषयवस्तु हुनेछ, निर्विचारपछि के ?
फटाफट लेख्न थालेँ, निर्विचारपछि निर्विकार ! 
मैले किबोर्ड ठोकेको आवाज अरू तेज बन्दै गयो ।
०००
बिहानको पाँच बज्दै थियो । घरछेउको बाँसघारीमा चराहरू चिर्बिराउन थाले । पूर्वमा आकाश गुलाबी हुन थाल्यो । वातावरण चकमन्न थियो । सब शान्त । 
भालेको डाँक पनि सुनिएन । बस्तीमा आजकल बिहान सबेरै भालेहरू बास्दैनन् ।
कारण ? 
भालेहरू आजकल घाम छिप्पिएपछि मात्रै बास्ने गर्छन् । baarakhari