December 2, 2021, Thursday
१६ मंसिर २०७८, बिहीबार

कथा : थलैन

मन्जुर ससुराल गएर बाआमाको दुःख सम्झेर टोलाउँथिन् । उनको लोग्ने पहिलो रात जब उनी नजिक आए, उनले माइतीको सम्पूर्ण दुःख बिर्सिन् । जतिजति रात ढल्किँदै थियो, उनको मनमा खुसीको त्रास बढ्दै थियो ।

Advertisement

आफ्नै सारीको आँचल उनी पटकपटक मुट्ठीमा बटारिरहेकी थिइन् । उनका हातका नशाहरू बाक्ला देखिएको थियो । उनको ओठ सुक्खा थियो । उनी आफ्नै ओठ पटकपटक जिब्रोले चाट्दै थुक निलिरहेकी थिइन् ।

उनी महिनावारी हुनुभन्दा एक हप्ता अगाडिदेखि उनको स्तन सहनै नसक्ने गरी सारो हुन्थ्यो र दुख्थ्यो । तर, महिनावारी खुलेपछि फेरि सामान्य हुन्थ्यो । बिहेपछि उनको महिनावारी हुने समय आउँदै थियो । अरू बेलाजस्तै उनको ढाडसहित उनका छातीहरू दुखिरहेका थिए । आफ्नै छाती उनी स्पर्श गर्न सकिरहेकी थिइनन् ।

लोग्नेसँग योभन्दा अगाडि कहिले नबोलेकी र अनुहार नदेखेकी उनले लोग्नेलाई पहिलो रातमै मेरो छाती दुखिरहेको छ भन्ने सहास जुटाउन सकिनन् । माइतीमा आमालाई धेरैपटक भनेकी थिइन् । महिनावारी खुलिसकेपछि सन्चो हुन्थ्यो । त्यही भएर उनकी आमाले सामान्य रूपमा लिन्थिन् ।

जब उनको लोग्ने आए । उनको इच्छा नसोधी उनका अंगहरू अँध्यारो कोठामा शंकालु पाराले छामिरहेका थिए, मानौँ उनी केटी नै होइनन् । लोग्नेको यस्तो व्यवहार देखेर उनलाई क्रोध उत्पन्न भइरहेको थियो । तैपनि, उनी केही बोलिनन् ।

लोग्ने सम्झेर आफ्नो क्रोध शान्त पारिन् । क्रोध शान्त भएपछि उनको अनुहारमा पत्नीत्वको संकोच र लज्जानुभूति चढ्यो । जसमा नौलो तरंग थियो । त्यो क्षण उनले कहिल्यै अनुभव गरेकी थिइनन् । उनलाई निकै रमाइलो लाग्यो ।

उनका लोग्नेले जब फेरि छाती स्पर्श गर्न खोजे उनी दुवै हत्केलाले छाती छोपिन् । छाती स्पर्श गर्न नदिएको देखेर उनका लोग्नेले भने, ‘हमरसङे बियाह करैके मन नै छेलौ तोरा ? हम नै निक लागैचियौ त बियाह कथिले हमरसङे करलिही ?’

उनले सोचेकी थिइनन् उनको लोग्नेले यस्तो कुरा भन्नेछन् ! उनलाई लाग्यो, उनले छाती बचाउ गरेको देखेर दया भावले सोध्नेछन्, के भयो ? किन छाती जोगाइरहेकी छेस् ? तर, उनले सोचेअनुसार केही भएन ।

यो कुरा सुनेर उनले बिहेको दुवैतिरको खर्च सम्झिन् । लोग्नेले आफू र आफ्नो बामाथि उपकार गरेको सम्झिन् । यो सम्झेर उनले दुवै हात छातीबाट हटाइन् । उनले छातीबाट हात हटाउनेबित्तिकै उनको लोग्नेले छातीमा आक्रमण गरे । उनी पीडामा छिन् कि भनेर एकपटक सोधेनन् । उनको छातीमा पटकपटक आक्रमण गरिरहे । उनी छाती दुखेको पीडा सहन नसकेर छाती हातले छोप्दै भनिन्, ‘हमर छाती दुखाइ छै । छाती नै छुबै ।’

उनको कुरा सुनेर लोग्नेले भने, ‘साँझमे टोलके छौंरासबसे घर उठ्याके हाँसै छेलही त कथियो ने दुखाइ छेलौ ? अखैन हम छुबै चियौ त नाटक करैचिही साला । मौगीके जाइत नौटङ्की बाज हैछै । दोस्रो यैहनङ नोटङ्की करै छेलै । तुहु तैहन चिही साला ।’

नयाँ बेहुलीसँग देवर पर्ने केटाहरूले बेलुकी सुपारी खान आउने परम्परा रहेछ । बेलुकी टोलका देवर पर्ने केटाहरू सुपारी खान आएका थिए । तिनै देवरहरूसँग कुरा गर्दा उनी हाँसेकी थिइन् ।

उनको लोग्नेले उनले देवरहरूसँग हाँसेको सुनेका थिए । त्यही कुरालाई लिएर उनलाई केटाहरूसँग घरै उचालेर हाँस्दा केही दुखेको थिएन । अहिले मलाई यहाँ नछुनुस्, त्यहाँ नछुनुस् भनेर रिसाइरहेकी छेस् भन्दै गाली गरे ।

यो कुरा सुनेर उनको आँखाभरि आँसु आयो । पहिलो रातमै उनको चरित्रमाथि औँला उठाइएको थियो । उनको दुःखलाई नौटंकीको रूपमा देखे । उनले यो सुनेर फेरि दुवै हात छातीबाट हटाइन् । र, खुल्ला छोडिदिइन् छाती ।

उनले त्यसरी छाती खुल्ला छोडिन्, जसरी धरती चन्द्रमाको उज्यालोमा आकाशलाई आफ्नो सुन्दरता निहार्न दिन निसंकोच हात फैलाएर आफूलाई खुल्ला छोड्छिन् । आकाश मनको आँखाले धरतीलाई बिनास्पर्श प्रेम व्यक्त गर्छ । र त न कहिले आकाशले धरतीको गुनासो गर्छ न त धरतीले आकाशको । धरती र चन्द्रमाबीच दूरी भए पनि माधुर्य रातमा प्रेमको प्याला लिएर आकास शीत बनेर झर्छ धरतीलाई चुम्न ।

उनले आफ्नो पीडा सहेर बसिन्, तर उनको लोग्नेले पीडा नबुझेर छातीमा पटकपटक आक्रमण गर्दै झम्टिरहे । अँध्यारो कोठामा उनी दुःखी छिन् कि खुसी एक पल्ट पनि वास्ता गरेनन् । उनले मनमनै भनिन्– यही कारणले पहिलो स्वास्नी छोडेर गएकी होली ?

उनी बिहान जब उठ्न खोजिन्, छाती असह्य दुखेर उठ्न सकिनन् । आफ्नै छातीमा हात राखिन् । हात राख्दा छाती धेरै सारो लाग्यो । कताकता बिझेर टनटनी दुखिरहेको थियो । स्पर्श गर्न सकिनन् । तैपनि, जबरजस्ती विस्तारै स्पर्श गरिन् । उनको छातीमा स–साना गिर्खाहरू थिए । ती गिर्खाहरू उनलाई सारो लाग्यो । गिर्खा पिलोजस्तै बिझिरहेको थियो । उनी छातीलाई हातको सहारा दिँदै उठेर बसिन् ।

स्वास्नी छोडेर गएको मान्छे स्वास्नीको लागि यति धेरै भोका हुन्छन् भन्ने अनुमान उनले लगाउन सकेकी थिइनन् । जति बेला उनलाई इच्छा लाग्थ्यो, उनको जिउमा हक जमाउँथे । उनले केही बोले भने ‘हम तोहर बापके खरच बेहोइरके तोरा बियाह करने चियौ । फोकटमे नै बियाह करने चियौ’ भनेर उनीमाथि हक जमाउँथे ।

उनी एउटी ऋणिको रूपमा स्वास्नी बनेकी थिइन् । उनको लोग्नेले आफ्ना चाहना पूरा गर्न उनीसँग बिहे गरेका थिए । चौथो दिन बिहानै उनलाई राहत अनुभव भयो, किनकि उनी महिनावारी भइसकेकी थिइन् । उनको छाती दुखेको सन्चो भइसकेको थियो ।

उनले आफ्नै छाती स्पर्श गरिन् । उनलाई पहिलाको जस्तै सामान्य लाग्यो । उनी ढुक्क भइन् ।
००० 
बिहेभन्दा अगाडि उनलाई जहाँबाट माग्न आउँथे, उनी चुप लागेर आफूलाई देखाउन अगाडि जान्थिन् । उनका बाले उनलाई बिहेका लागि कहिले जिद्दी गरेनन् । आमाले तयार हुनका लागि कहिले कचकच गरिनन् । केटापट्टिबाट माग्न आएपछि उनी आफैँ तयार भएर जान्थिन् ।

उनलाई बिहे गर्न मन भएर होइन, उनका बाआमाका यति धेरै समस्याहरू थिए कि उनी चाहन्नथिन् कि उनी अविवाहित बसेर बाआमाको खर्च बढाऊँ । उनका तीनवटी बहिनी र दुईजना भाइ थिए । उनका पाँच भाइ, बहिनी थिए ।

उनको बाको जग्गाको नाममा घरबारी मात्रै बाँकी थियो । उनका बाले उनलाई सुनाउँथे– उनका हजुरबा सोझो भएकाले बाठाहरूले सबै जग्गा हडपे ।

उनको बाजेका जग्गाहरू हडपेर छिमेकीहरू धनाढ्य भएका थिए । कुनै समयका धनाढ्य बाका छोरा उनका बा अरूको घरमा हलीको रूपमा काम गर्थे । आमा मेलापात जान्थिन् । दिनरात हातमुख जोड्न कठिन थियो । काम गर्ने उमेरको भएपछि उनी पनि आमासँगै मेलापात जान थालिन् ।

बिहान खाए बेलुकीको लागि सोच्नुपर्थ्यो । यस्तो अवस्थामा उनीे सोच्थिन्– मैले बिहे गरेर गए एकजनाको खर्च कम हुन्छ । बाआमालाई भाइ, बहिनीको खर्च बेहोर्न सहज हुन्छ ।

त्यही सोचेर रहरले होइन, उनी बाध्यताले बिहे गर्नका लागि तयार हुन्थिन् । बिहे गर्दिनँ भनेर कहिले विरोध गर्दिनथिन् ।

छिमेकका केटाकेटीहरू दिनरात दालभात तरकारी खान्थे, तर उनको घरमा बिहान भात खाए बेलुकी नुनरोटी पाक्थ्यो । अझ सबै छोराछोरीले खाएर बचे बल्ल उनका बाआमा एक–दुई टुक्रा रोटी खान्थे । यो सब उनले आफ्नो आँखाले देखिरहेकी थिइन् ।

उनी सबैभन्दा जेठी थिइन् । सहर काम गर्न जान उनले बासँग अनुमति पनि मागिन् । तर, अविवाहित छोरीलाई सहरमा काम गर्न जानका लागि अनुमति थिएन । उनलाई सहर जान उनका बाले दिएनन् ।

अग्लो कद, लामो कालो केशराशि, मिलेको अनुहार, गोरी उनी बिछट्टै राम्री थिइन् । स्कुलको अनुहार नदेखेकी उनी घरको काम गर्न सिपालु थिइन् । अरू गाउँका मान्छे आएको बेलामा उनीमा आँखा पर्थे । सोध्ने गर्थे, ‘कसकी छोरी हो ? हेर्नमा सारै सुन्दर रहिछे । यसको बिहे कहिले गर्छ ?’

उनी हेर्नमा राम्री भएकीले पनि सानै उमेरदेखि धेरै ठाउँबाट बिहेको प्रस्ताव आइरहेको थियो । तर, उनका बाले आफ्नो जीवनमा धेरै दुःख देखेका र भोगेका थिए । गरिब हुनुको अपमान सहेका थिए । त्यसैले सम्पन्न घरबाट बिहेको प्रस्ताव आएपछि मात्रै उनको बिहे गराउने सोच राखेका थिए ।

जब उनी १६ पुगिन्, एक ठाउँबाट बिहेको प्रस्ताव आयो । केटो विवाहित थियो । तर, घर सम्पन्न थियो । पहिलो स्वास्नी अरूसँग लागेर भागेकी थिई ।

उनी हेर्नमा राम्री भएकीले र उनको घरको आर्थिक अवस्था कमजोर भएकाले केटाले दुवैतिरको चुलो बालेर (केटीपट््िटको पनि बिहेको खर्च बेहोर्ने) बिहे गर्ने निर्णय सुनाए । केटा विवाहित भए पनि धनी र बच्चा नभएकोले उनका बा उनको बिहेको लागि राजी भए ।

दुवैतिरको खर्च केटाले नै बेहोरे । उनको बिहेमा महँगो सारी, सुनचाँदीका गहनाहरू आए । उनका बाआमा राम्रो घरमा छोरी दिन पाएकामा धेरै खुसी थिए ।

बिहेपछि एक महिनापछि उनी माइती गइन् । माइतीमा उनको महिनावारी हुने बेला भइसकेको थियो । उनको छाती योपल्ट पनि दुखेर बेस्सरी पीडा भइरहेको थियो । उनले आफ्नी आमालाई छाती दुखेर सहनै नसकेकै कुरा सुनाइन् ।

उनका ठुलाबाका ज्वाइँ शम्भु स्वास्थ्य केन्द्रका अहेब थिए । शम्भु ससुराली आएका थिए । उनकी आमाले ज्वाइँ शम्भुलाई छोरी मन्जुरको छाती दुखिरहेको कुरा सुनाइन् । शम्भुले ‘देखैले परतै । नै देखके कोन बेमारी चियै । पत्ता नै लगाइले सकबै’ भने ।

उनकी आमाले यो कुरा सुनेर ज्वाइँ शम्भुलाई आफ्नो घर ल्याइन् । उनकी आमाले उनलाई एकान्त कोठामा लगिन् । शम्भुलाई पनि त्यहीँ बोलाइन् । आमाले ‘भिनाजुके छाती देखैले दहै । लाज नै मान् । छाती कथिले दुखाइ छौ पत्ता लग्याके दबाइ देतौ’ भनिन् ।
उनलाई अप्ठ्यारो लागेर उनी ‘हम नै देखाइबौ । हमरा लाज हैये’ भनिन् । 

यो कुरा सुनेर उनकी आमाले, ‘हम अतै तोरे लग रहबौ । हम तोहर दिसना नै ताकबौ । बेमारी लोक लाज नै मान्’ भनिन् । उनी आमाको कुरा सुनेर भिनाजुसँग जँचाउन तयार भइन् ।

भिनाजुको अगाडि उनले संकोचले लजाउँदै ब्लाउज फुकालिन् । उनलाई ओछ्यानमा पल्टिन लगाएर उनका भिनाजुले उनको छाती छाम्दै गाँठो कताकता आएको छ हेरे । जाँचेर उनका लागि तत्काल दुखाइ कम गर्ने  औषधि लेखेर दिए । र, सहरको राम्रो अस्पतालमा जँचाएर उपचार गराउन सुझाए । नभए पछि गारो हुन्छ भन्ने उनको भनाइ थियो ।

उनले बिहेमा ठूला मान्छेहरूलाई ढोग्दा आशीर्वादस्वरूप पैसा पाएकी थिइन् । त्यही पैसा दिएर उनले आफ्नी आमालाई औषधि बजारबाट किनेर ल्याइदिन भनिन् ।

उनका बाले पुर्जी लिएर बजारबाट उनका लागि औषधि किनेर ल्याइदिए । उनले औषधि खान थालेपछि एक हप्तापछि उनको दुखाइ कम भयो । र, महिनावारी पनि खुल्यो । उनले राहत अनुभव गरिन् ।

उनी एक हप्तापछि ससुराली फर्किन् । उनका भिनाजुले तत्काल तीन महिनासम्म औषधि खान भनेका थिए । उनले औषधि खाएको देखेर उनका श्रीमान्ले ‘कथिके दबाइ खाइचिही ?’ भनेर सोधे । 
‘छाती ठिक हैके दबाइ,’ उनले भनिन् । 

‘के देलकौ ?,’ सोधे । 

‘मिलनपुरवला भिनाजु ।’ 

‘कनङ्के थाह पावलकै ऊ ?’

उनले सबै वृतान्त बताउँदै भनिन्, ‘छाती दुखेको कुरा आमालाई भनेँ । आमाले भिनाजुलाई सुनाउनुभयो । त्यसपछि आमाले मलाई एकान्त कोठामा लग्नुभो । भिनाजुले हेर्नुभयो अनि औषधि लेखिदिनुभयो ।’ 

उनको कुरा सुनेर उनका लोग्नेले भने, ‘छुबबो करलकौ ऊ ?’

‘नै छुइबके कनङ्खे दबाइ देतियै । हँ, छुबलकै,’ उनले सहज रूपमा भनिन् ।

‘छुबलकौ त तोरा कथियो ने भेलौ ?,’ उनले शंकालु पाराले भने ।

लोग्नेको कुरा सुनेर उनले भनिन्, ‘कथिले ओहेन बात पुछै चिही ? मैया हमरे लग छेलै ।’

उनको कुरा सुनेर उनलाई एक थप्पड लगाउँदै खाटमा घाँटी ङ्याङ्क्दै भने, ‘दोसर पुरुषके छाती देखाइ चिही ? लाज नै हैछौ तोरा ?’ उनको घाँटी अँठ्याउन लागेकोले उनले सास फेर्न सकेकी थिइनन् । उकुसमुकुस भइरहेको थियो ।

उनी लोग्नेको पेटमा लात्तीले हान्दै उठिन् । लात्तीले हानेको देखेर उनलाई फेरि एक थप्पड हान्दै भने, ‘हमर अनुमतिबिना आइसे दबाइ नै खो । दोसर पुरुषके छाती देख्याके याल बेसरमी मौगी ।’

काठको बाकसमाथि राखिएको औषधि लगेर उनको लोग्नेले बारीमा मिल्काइदिए । औषधि फालेको देखेर उनी रोइन् । अरू औषधि उनले बाकसभित्र बन्द गरेर राखेकी थिइन् । उनी त्यही सोचेर रुन छोडिन् । 

त्यसपछिका दिनमा उनी लोग्नेले नदेख्ने गरी औषधि खान्थिन् ।

मनपरी तरिकाले प्रत्येक रात उनको लोग्ने उनको जिउमा हक जमाउँथे । दुई महिनापछि उनी गर्भवती भइन् । गर्भवती भएको बेलामा पनि समयसमयमा उनको छाती दुख्थ्यो ।

नौ महिनापछि बच्चा जन्मियो । बच्चा जन्मेपछि बच्चाले दूध खान थालेदेखि दुखाइ कम भयो । तर, बच्चाले एउटा छातीको मात्र दूध खान्थ्यो । अर्को छातीको दूध खान मान्दैन्थ्यो । अर्को छातीको दूध बाहिर ननिस्केर उनको छाती बिझ्थ्यो । छाती बिझेर दूध निचोरेर फाल्थिन् ।

पछिपछि छाती सारो हुँदै गयो । दूध निचोर्न खोज्दा पनि दुख्थ्यो । दुखाइ कम हुँदै भएन । उनको छाती झन्झन् सारो हुँदै गयो । दायाँतिरको छातीमा दूध जमेर पाकेको पिलोजस्तै टनटनी बिझ्थ्यो । उनी सहनै सक्दिनथिन्, पीडा ।

उनले आफ्नो पीडा लोग्नेलाई सुनाइन् । उनको लोग्नेले कुरा सुन्दै सुनेनन् । दुखाइ सहन नसकेर उनी छटपटाएपछि लोग्नेले उनलाई रिसाउँदै भने, ‘दसटा पुरुषसे छुवाइले मन लागल छौ ?’

दशजना पुरुषसँग स्पर्श गराउन मन लागेको छ भन्ने कुराले उनको मुटुमा बिझ्यो । आफूले उनीसँग बिहे गरेकोमा धेरै पछुताइन् । आफ्नो दुःख बुझ्न नसकेकोमा लोग्नेसँग बोल्नै छोडिन् ।

उनले आफूलाई सन्चो नभएको खबर आमालाई पठाइन् । आमा खबर पाएर आइन् । उनी कसैलाई नभनिकन भोलिपल्ट बिहानै बच्चा बोकेर आमासँग अस्पताल गइन् । अस्पतालमा डाक्टरले भने, ‘थलैन (स्तनमा दूध जमेर सारो हुनु) भएको छ । शल्यक्रिया गरेर निकाल्नुपर्छ ।’

डाक्टरले शल्यक्रिया गरेर जमेको दूध निकाले । घाउ सुक्ने र दुखाइ कम गर्ने औषधिहरू दिए । उनी औषधि खाइरहेकी थिइन् । तैपनि, फेरि दूध जमेर टनटनी दुख्थ्यो । शल्यक्रिया गरेको हुनाले दुखाइ पनि त्यस्तै थियो । छातीको घाउको कारणले उनको हात र पाखुरा पनि दुखिरहेको थियो ।

उनी प्रत्येक दिन अस्पताल जान्थिन् । नर्सले जमेको दूध सफा गरिदिन्थिन् । रातभरि फेरि दुध जम्थ्यो । बिहान उठ्दा सारो भएर छाती दुखिरहेको हुन्थ्यो ।

उनकी आमा छउन्जेल उनका लोग्ने प्रथमलाल केही बोलेनन् । लोग्नेलाई नसोधिकन शल्यक्रिया गराएकीले उनकी आमा घर फर्किसकेपछि उनको लोग्नेले उनलाई कुट्दै भने, ‘दसटा लोकके छुब्याके येलही ?’

यो कुरा सुनेर उनी धेरे रिसाइन् । लोग्नेले आफ्नो पीडा नबुझेकोे अनुभव गरिन् । बिरामी परेको बेलामा डाक्टरलाई समेत आफ्नो गोप्य अंग देखाउनु हुँदैन भन्ने सोच राख्ने लोग्नेको नाममा थुकिन् ।

मन्जुरले आफूलाई थुकेको देखेर प्रथमलालले उनको कपाल बायाँ हातले बटारेर उनलाई कुट्न थाले । मन्जुरले पनि बल लगाएर खुट्टाले उनको पेटमा हान्दै छेउमा भएको लट्ठी हातमा लिएर उनको टाउकोमा हान्न थालिन् ।

उनले हानेको देखेर उनका लोग्ने डराए । उनी बहुलाइजस्तै भएकी थिइन् । आफ्नै बचाउ गर्न उनी अन्धाधुन्ध लट्ठीले हानिरहेकी थिइन् । उनको लोग्ने डराएर टाउको जोगाउँदै आँगनबाट निस्किए ।

उनलाई जति रोके पनि उनी अस्पताल जान छोडिनन् । लोग्नेले अस्पताल जान रोक्लान् कि भनेर उनी घरबाट लट्ठी लिएरै निस्किन्थिन् । चौरमा गएपछि लट्ठी फाल्थिन् ।

उपचार गराइरहेकै थिइन् । तैपनि, छाती दुखेर उनलाई आफ्नो पूरै जिउ भारी लाग्थ्यो । ज्वरो आउलाझैँ हुन्थ्यो । उनको अवस्था धेरै दयनीय हुँदै गएको थियो । उनी पीडा सहन सक्दिनथिन् । उनी विस्तारै दुब्लाउँदै गएकी थिइन् ।

अस्पताल गएर शल्यक्रिया गर्नका लागि प्वाल पारिएको ठाउँमा डाक्टरले कपालको लुडो बनाएर सफा गरिदिन्थे । सफा गरेको दुई, तीन घण्टासम्म सन्चो हुन्थ्यो । पछि दूध जमेर फेरि टनटनी दुख्थ्यो । छाती साह्रो हुन्थ्यो । छुनै नसक्ने गरी दुख्थ्यो । उनी पीडाले छटपटिन्थिन् । पीडा सहन नसकेर ज्वरो नै आउँथ्यो ।

यस्तो परिस्थितिमा उनको बच्चालाई हेर्ने मान्छे कोही पनि थिएन । सासू खेतको काममै व्यस्त रहन्थिन् ।

उनको अवस्था देखेर उनको लोग्ने र सासूलाई टोलका छिमेकीहरूले क्यान्सर अस्पताल लैजान सुझाव दिए । तर, उनको लोग्ने कसैको सुझाव मान्न तयार थिएनन् । उनको भनाइअनुसार मन्जुरको गोप्य अंग उनीबाहेक कसैले पनि नदेखुन् भन्ने थियो । स्वास्नीमान्छेले अरूलाई आफ्नो गोप्य अंग देखाउनु हुन्न ।

मन्जुरका बाआमा आएर सम्झाउँदै भने, ‘अस्पताल नै लजाइबहक त हम आपन बेटीके लैहरा ल्याजेबै’ । सासू, ससुराको कुरा सुनेर बल्ल उनी मन्जुरलाई अस्पताल लैजान तयार भए ।

मन्जुरको अवस्था नाजुक बन्दै गएकोले उनलाई लिएर उनका लोग्ने अस्पताल गए । अस्पताल जाँदा एक हप्तासम्म जाँच–पडताल चल्यो । त्यसपछि बल्ल पत्त्ता लाग्यो, उनको स्तनमा क्यान्सर भइसकेको थियो भन्ने कुरो !

डायग्नोसिसपछि डाक्टरले उनको एउटा छाती काटेर फाल्न सुझाव दिए । नभए घाउ अर्को छातीमा सर्न सक्छ भन्ने उनले बताए ।

यो कुरा सुनेर उनी दिनभरि रोइरहिन् । उनको जिउको सबैभन्दा सुन्दर अंग उनको जिउबाट अलग हुँदै थियो । उनी चाहन्नथिन् उनको सबैभन्दा सुन्दर नारी अंग उनीबाट अलग होस् । उक्त अंगमा उनको घमन्ड र स्वास्नीमान्छे हुनुको स्वाभिमान थियो ।

त्यो अंगमा एक प्रकारको लज्जानुभूति गराउने खुसी थियो । उनका लागि त्यो अंग सर्वस्व नै थियो । आफ्नै जिउबाट सबैभन्दा सुन्दर अंग अलग्याउन कसैले पनि चाहँदैन । डाक्टरले बच्चालाई आमाको दूध नखुवाउन सुझाव दिए । बच्चालाई उनले दूध खुवाउन छोडिन् । उनी बच्चालाई काखमा बोकेर आँसु झारिरहन्थिन् ।

शल्यक्रियामार्फत उनको एकातिरको स्तन काटियो । जब उनी होसमा आइन्, हतपत छाती छामिन् । दुखिरहेको थियो । छाम्न सकिनन् । दुवै आँखाबाट भेल बग्यो । शारीरिक रूपमा उनी कमजोर त छँदै थिइन्, शल्यक्रियापश्चात मानसिक रूपमा पनि विक्षिप्त बनिन् । मानसिक र शारीरिक दुवै चिन्ता उनको मनमा गहिरो गरी पस्यो ।

यति बेला छोरी, स्वास्नी र आमा हुनुको शान उनको जिउबाट अलग भएको थियो ।

घर फर्केर आउँदा उनी खुसी थिइनन् । उनी यसको दोष लोग्नेलाई थुपारिरहेकी थिइन् । अन्तिम अवस्थामा अस्पताल लगेरै यस्तो अवस्था आएको थियो । सुरुमै लगेको भए केही राम्रो उपचार हुन सक्थ्यो । यही सोचेर उनी बिहे गरेकोमा पछुताइरहेकी थिइन् ।

उनको दिमागमा पटकपटक यही सोच आउँथ्यो– गरिब घरमै मन बुझ्नेसँग बिहे गरेको भए यस्तो हुँदैनथ्यो । उनकी आमा उनलाई हेर्न आउँदा उनी आमालाई यही गुनासो पोखेर निकै रोइन् ।

उनकी आमाले ‘ठिक हेतै । नै कान्’ भनेर सान्त्वना दिइन् । घाउ सन्चो हुने कि नहुने डर त उनको आमाको मनमा पनि पसिसकेको थियो । तर छोरीलाई भन्न सकिनन् । धेरै बेरसम्म उनकी आमा भर्खरकी तरुणी छोरी मन्जुरको र बच्चाको माया लाग्दो, निर्दोष अनुहार हेरेर रोइन् ।

मन्जुर समयसमयमा अस्पताल गइरहेकै हुन्थिन् । किमो लिइरहेकै थिइन् । औषधि पनि खाइरहेकै थिइन् । तैपनि, छातीको घाउ दुखेको दुखै थियो । उनी लुगा लगाउने बेलामा आफ्नै छातीतिर हेरेर धरधर रुन्थिन् । आफ्नै अंग जिउबाट अलग भएको देखेर उदास रहन्थिन् ।

वास्तवमा उनको मनमा धेरै पीडा थियो । एकातिर घाउ दुखेर जिउभरि पीडा हुन्थ्यो । त्यसैले पनि मानसिक रूपमा विक्षिप्त बन्दै गइरहेकी थिइन् । उनको आँखा वरपर कालो दाग पनि देखिएको थियो । अनुहार र ओठ सुकिसकेको थियो । खासमा उनको अनुहारबाट हाँसो हराइसकेको थियो ।

घाउ सन्चो नभएको देखेर उनकी सासूले झाँक्रीलाई बोलाएर ल्याइन् । झाँक्रीमार्फत् फुकाउन लगाइन् । छ महिनापछि उनको छातीभरि पिलो आयो । अथाह पीडाले उनी शिथिल हुँदै गइन् । अस्पताल जाँदा डाक्टरले उनको लोग्नेलाई, ‘क्यान्सर हड्डीसम्म फैलिसकेको र अब सन्चो हुननसक्ने’ जानकारी गराए ।

मन्जुरको जिउ विस्तारैविस्तारै गल्दै थियो । उनी क्रमशः शिथिल हुँदै गइन् । कमजोर भएर खाना चपाउन पनि सक्दिनथिन् । पछि गएर त खाना खानै छोडिन् ! उनी दूध मात्र पिउँथिन् ।

पछिपछि त त्यही दूध पनि पिउन छोडिन् । उनको अनुहार र जिउ सुक्दै गयो । उनको मुखबाट आवाज निस्कने तागतसम्म पनि रहेन ! अन्ततः एकदिन एकाबिहानै मन्जुरले संसार छोडिन् । baahrakhari