June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

स्थायी मण्डप नहुँदा महोत्सव गर्न अस्थायी संरचनामै करोडौं खर्च

Advertisement

भैरहवा– हरेक वर्ष रुपन्देहीमा औद्योगिक तथा व्यापारिक महोत्सव आयोजना हुन्छन् । यसपटक पनि महोत्सव आयोजना गरिएका छन् । तर, स्थायी मण्डप नहुँदा छोटो समयका लागि आयोजना गरिएका महोत्सवमा अस्थायी संरचना खडा गर्नकै लागि करोडौं रुपैयाँ खर्चिनु पर्ने बाध्यता छ । तर, स्थायी मण्डप बनाउनतर्फ कसैको ध्यान पुगेको छैन ।

Advertisement

मंसिर ३ देखि २१ गतेसम्म भैरहवामा सातौं लुम्बिनी महोत्सव हुँदैछ । आयोजक संस्था चेम्बर अफ कमर्स, रुपन्देहीले निजी जग्गामा करोडको संरचना बनाएर महोत्सव लगाउन लागेको हो । यस्तै, तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना मणिग्राममा मंसिर १५ देखि औद्योगिक तथा पर्यटन महोत्सव हुँदै छ । आयोजकका अनुसार १५ दिनको महोत्सवका लागि यहाँ पनि ६० लाख बढी खर्चेर अस्थायी संरचना बनाइँदैछ । यस्तै, देवदह, सैनामैना लगायतका ठाउँमा पनि हरेक वर्ष महोत्सव आयोजना गरिन्छ । ती ठाउँमा पनि स्थायी मण्डप नहुँदा करोडौं खर्चेर अस्थायी संरचना बनाउनुपर्ने बाध्यता छ ।

बुटवलमा पछिल्लो तीन वर्षयता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महोत्सव आयोजना हुँदै आएको छ । यति मात्रै होइन्, विभिन्न जातजाति र सांस्कृतिक कार्यक्रमका लागि पनि अस्थायी संरचनामै लाखौं खर्च हुँदै आएको छ । रुपन्देहीमा बुटवल बाहेक अन्य स्थानमा स्थायी मण्डप छैन । जसले गर्दा छोटो अवधिका लागि आयोजना गरिने महोत्सवमा करोडौं खर्चेर अस्थायी संरचना बनाउन निजी क्षेत्र बाध्य रहेको चेम्बर अफ कमर्शका अध्यक्ष सचिन रोक्काले बताए ।

‘हामीले स्थायी मण्डप बनाउन लामो समयदेखि माग गरेका छौं तर साकार हुन सकेको छैन’, उनले भने, ‘विगतमा समिति बनेको थियो । काम भएन । कम्तिमा स्थायी मण्डप भएमा अस्थायी संरचनामा लगानी गर्न पर्ने थिएन । जसले गर्दा महोत्सव झन परिस्कृत हुने थियो ।’ उनले खाली जग्गा खोजेर भए पनि सबै मिलेर स्थायी मण्डप बनाउनुपर्ने बताए ।

चेम्बर अफ कमर्सले मात्रै भैरहवामा आयोजना गरेका महोत्सवमा अस्थायी संरचनाका लागि हालसम्म ६ करोड बढी खर्च गरिसकेको छ । यस्तै, सिद्धार्थ उद्योग बाणिज्य संघले पनि हालसम्म लगाएका महोत्सवमा १० करोड बढी खर्चेको छ । स्थायी मण्डप अभावमा लाखौं रकम वार्षिक रुपमा अस्थायी संरचनामा खर्च गर्नुपर्ने बाध्यता निजी क्षेत्रको रहेको सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिबहादुर थापा बताउँछन् ।

उनी भन्छन्, ‘हरेक कार्यक्रमका लागि मण्डप आवश्यक छ । यदि स्थानीय वा प्रदेश सरकारले अग्रसरता लिन्छ भने हामी व्यवसायी पनि लगानी गर्न तयार छौं । यसका लागि सरकारले बढी पहल लिनुपर्छ ।’ उनले अस्थायी संरचनामा धेरै खर्च हुँदा मेलामहोत्सव नाफामा पनि नजाने गरेको जनाउँदै भैरहवा क्षेत्रमा मण्डप जरुरी रहेको जनाए ।

मेला महोत्सवमा निजी क्षेत्रले स्थायी मण्डपको माग गर्ने गर्छन्, तर संरचना तयार गर्न न निजी क्षेत्र कस्सिएर लागेको देखिन्छ न स्थानीय, प्रदेश र संघ सरकार । भैरहवामा यसअघि स्थायी मण्डप बनाउन समिति नै बनाइएको थियो । तर, उक्त समितिले पहिचान गरेका क्षेत्रमा सरकारी संरचना भएकाले खाली हुनै सकेनन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले जग्गा अभावले यहाँ स्थायी मण्डपको संरचना बनाउनै समस्या भएको बताए । ‘सानो नगरपालिका हो, नगरमा खाली जग्गा छैन, यदि जग्गा पाइए हामी मण्डप बनाउन लागि पर्छौं’, उनले भने, ‘यहाँ केही कामको प्रयास गर्दा अवरोध गर्ने चलन छ ।’ उनले पालिका स्थायी मण्डप बनाउन जागरुक रहेको जनाए ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अनुसार प्रदेशका १२ जिल्लामा प्रत्येक वर्ष महोत्सव आयोजना हुन्छन् । तर, ती सबै महोत्सव अस्थायी संरचनामा गर्नुपर्ने बाध्यता छ । यस्ता संरचना खडा गर्न मात्रै प्रदेशमा वार्षिक १० करोड बढी खर्च हुँदै आएको छ ।

महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपानेले सामूहिक लगानीमा भए पनि मण्डप बनाउन आवश्यक रहेको बताए । ‘भैरहवामा स्थायी मण्डप जरुरी छ नै यहाँमात्र होइन्, प्रदेशका सबै ठूला सहरमा मण्डप बनाउनुपर्छ । यसो गरेमा अस्थायी संरचनामा गरिँदै आएको लगानी जोगिन्छ’, उनले भने, ‘सरकारले जग्गा दिए पनि निजी क्षेत्र मण्डपमा लगानी गर्न तयार छ । तर, जग्गा पाउनु पर्यो ।’

मण्डप भए महोत्सव मात्रै होइन, राजनीतिकदेखि अन्य सभासमारोह गर्दा समेत अस्थायी संरचना बनाउन नपर्ने उनले बताए । तर, स्थायी मण्डपमा ध्यान नदिँदा बर्सेनि लाखौं रुपैयाँ खर्चिनु परेको छ । कतिपय संरचना तयार गर्दा भारतबाट कालीगढ र सामान ल्याउनुपर्दा लाखौं रुपैयाँ बाहिरिरहेको छ । त्यसैले निजी र सरकारी साझेदारीमा भए पनि ठूला सहरमा स्थायी मण्डप निर्माण गर्नुपर्ने निजी क्षेत्रको माग छ । यसका लागि तीन तहका सरकारले साझेदारी गर्नु पर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ ।