July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

सुस्ताउन थाले दशगजा नजिकका नेपाली मदिरा व्यवसाय

Advertisement

भैरहवा– पहिला भारतमा भन्दा नेपालमा मदिरा सस्तो थियो । भारतमा मदिरा पसल सञ्चालनमा पनि कडाइ थियो । सिमावर्ती क्षेत्रका न्युन र मध्यम आर्थिक अवस्थाका अधिकांश भारतीय नागरिक मदिरा सेवनका लागि नेपालतर्फ आउने गर्थे ।

Advertisement

अहिले भने अवस्था फरक छ । मदिरा नेपालमा भन्दा भारतमैं धेरै सस्तो मूल्यमा पाइन थाल्यो । मदिरा पसल खोल्न पनि सहजता । त्यसको असर नेपालमा पर्न थालेको छ । भारतीय नागरिक मदिरा सेवनका लागि आफूलाई पायक पर्ने नजिकैको पसलमा जान थाले । दशगजा–सिमाना नजिकका अति न्युन संख्यामा मात्रै भारतीय नागरिक मदिरा सेवन गर्न नेपाल आउन थालेका छन् ।

मदिरा सेवन गर्न पहिला सिमावर्ती नेपालका रेष्टुरेन्ट तथा भट्टी पसल आकर्षणको स्थल बनेका थिए । यही कारणले प्रायः नेपालको मेचीदेखि महाकालीसम्म नै दशगजा सिमाना नजिकै नेपाली भूभागमा धेरै मदिरा पसल, रेष्टुरेन्ट तथा भट्टी सञ्चालनमा छन् ।

यस्तै सिमानाकामध्ये एउटा बेलहिया पनि भारतीय नागरिकका लागि मदिरा सेवनका गर्न आउने आकर्षक गन्तब्य हो । पछिल्ला केही वर्षदेखि भने यहाँका मदिरा व्यवसाय सुस्ताउन थालेका छन् ।

तीन दशक भन्दा अगाडिदेखि बेलहियास्थित दशगजा सिमाना नजिकै मदिरा पसल र रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ‘गिरी कोल्ड ड्रिग्स एण्ड रेष्टुरेन्ट’ का सञ्चालक अर्जुन गिरी पहिलाको तुलनामा ५० प्रतिशत भन्दा धेरै कारोवारमा मन्दी आएको बताउँछन् ।

‘हाम्रो ९५ प्रतिशत भन्दा धेरै ग्राहक भारतीय बिपन्न र मध्यम बर्गका नागरिक हुन् । कोरोना कालपछि भारतमैं न्युनकोटीको मदिरा सस्तो मूल्यमा र जताततै पाइन थालेपछि नेपाली व्यवसायमा असर परेको हो’, गिरीले भने, ‘यस बाहेक कहिलेकाही दुवै देशका सिमावर्ती सुरक्षाकर्मीको व्यवहारले पनि असर पारेको छ ।’

उनका अनुसार, पहिला सिमावर्ती भारतको सुनौली क्षेत्रमा एउटामात्र अंग्रेजी शराव पसल सञ्चालनमा थियो । त्यो पनि दिउँसो निश्चित समयमा मात्र ४–५ घण्टाका लागि मात्र खुल्ने गथ्र्यो । मूल्य नेपालको तुलनामा महँगो पथ्र्यो । निम्न कोटीको मदिरा उत्पादन र बिक्रीमा रोक लगाइएको थियो ।

कोरोना कालपछि भारतमा नेपालमा भन्दा प्रत्येक मदिरा सस्तो पाइन्छ । सुनौलीकै बसपार्क, बाइपास लगायत तीन–चार स्थानमा भट्टी पसल खुल्न थाले । नेपालमा कम्तिमा ६० रुपैयाँ मूल्य पर्ने गुणस्तरीय मदिरालाई भारतमा ३५ रुपैयाँमा पाइन्छ । पहिला नौतनवासम्मका भारतीय नागरिक मदिरा सेवन गर्न दशगजा नजिकका नेपाली मदिरा पसलमा आउने गर्थे । अहिले घर नजिकै भएका दशगजा क्षेत्रका भारतीय नागरिकमात्र आउने गर्छन् ।

‘पहिला भन्दा अहिले सिमावर्ती नेपाली मदिरा व्यवसायीको कारोवार झण्डै ५० प्रतिशतले ह्रास आएको छ’, गिरीले भने, ‘कहिलेकाही सिमानामा तैनाथ भारतीय सुरक्षाकर्मीले मदिरा सेवन गर्न आउने निम्न बर्गका भारतीय नागरिकलाई आधारकार्ड देखाउन भन्ने गर्छन् भने यता नेपालको प्रशासनले बन्द गर्न लगाउने गर्छन् ।’

दशगजा सिमाना नजिकका नेपाली मदिरा पसल बिशेषतः दिनभरि काम गरेर साँझ घर फर्कने भारतीय मजदुरका लागि लक्षित खोलिएका हुन् । काम गर्न बिहानै नेपालमा आउने र साँझ घर फर्किने क्रममा अधिकांश भारतीय मजदुर सिमाना क्षेत्रका मदिरा पसलमा गएर कसैले किनेर घर लिएर जान्छन् । कतिपयले मदिरा पसलको छेउमैं सञ्चालन गरिएका सामान्य रेष्टुरेन्टमा माछा, मासु, अण्डा किनेर सितनको रुपमा प्रयोग गर्छन् ।

सिमानाका नेपाली मदिरा पसल र रेष्टुरेन्टमा पहिला भारतमा दिनभरि काम गरेका मजदुर पनि साँझतिर सेवनका लागि आउने गर्थे । अहिले भारतमैं खुलेपछि ति मजदुरको आगमन कम छ । नेपालबाट घर फर्किने भारतीय मजदुर पनि पहिला जस्तो रोकिँदैनन् । भारततिर नै गएर घर नजिकको भट्टीमा बसेर सेवन गर्ने गर्छन् ।