सुप्रिम सहकारीमा बचत तर ऋण काढेर उपचार


भैरहवा– रुपन्देहीको बुटवल–१०, बुद्धनगरकी ५० वर्षीया सीता दर्जी डेढ महिनाअघि पत्थरीको समस्याले थला पोपछि शल्यक्रियाका लागि भारतको नयाँ दिल्ली पुगिन । त्यहाँ रहेका आफन्तको घरमा बसेर उपचार गराइन् । आफन्त भारतमै रहेकाले कम खर्चमा उपचार हुने विश्वासले नयाँ दिल्ली पुगेको दर्जीले पब्लिककुरासित बताइन् ।
सीताका श्रीमान् बुटवल उपमहानगरपालिकाका सरसफाई कर्मचारी थिए । पति नगरको फोहोर संकलन गर्न गाडीमा डुल्थे । सीता राजमार्ग चौराहाबाट पूर्वपट्टि रहेको शौंचालय रुङ्थिन् । शौचालयमै बसेर सीताले एक छोरा र एक छोरी हुर्काइन् । उनका पतिको ७ वर्षअघि हृदयघातबाट मृत्यु भयो । छोरीको यहीको दीपनगरका युवासित बिहेवारी गरिन् । रल्लिएर समय कटाउने छोरालाई सम्झाई बुझाइँ बैदेशिक रोजागारीमा बहराइन पठाएको उनले बताइन ।
‘सुप्रिम सहकारीमा तीन लाख रुपैयाँ फसेको छ,’ उनले भनिन्, ‘दवाईपानी गरौंला भनेर जोगाएको रकम डुब्यो ।’ बुटवल–नारायणगढ सडकखण्ड बिस्तार भइरहेको छ । सीताले रेखदेख गर्ने शौचालय सडक क्षेत्रमा भत्काइँदै छ । ‘ट्वाइलेट भत्किएपछि के गरेर गुजारा गर्ने होला चिन्ता छ,’ उनले भनिन्, ‘नगरपालिकाले मोवाइल ट्वाइलेट ल्याउने भनेको सुन्छु, त्यसमा नयाँ कर्मचारी राख्ने अरे, म कहाँ जाउँला ?’
प्रत्येकदिन बिहान चार बजे घरबाट आधा घण्टा पैदल दूरीस्थित राजमार्ग चौराहास्थित सार्वजजिक शौचालयमा आइपुग्छिन् । पूर्व–पश्चिम राजमार्गमा लामो दूरीका बस र मालबाहक गाडी ओहोरदोहोर गरिरहेका हुन्छन् । बुटवल र आसपासबाट लामो तथा छोटो दूरीका लागि यात्रुबाहक गाडी छुट्नुपूर्व शौचालय सफा राख्न उनी झिसमिसे उज्यालो नहुँदै पुग्छिन् । यो सीताको २१ वर्षदेखिको दैनिक कार्य हो । जाडो होस् या गर्मी उनी शौचालय दुरुस्त राख्न सबेरै पुग्ने गरेको बताउँछिन् ।
बुटवलको व्यस्त राजमार्ग चौराहाको धुलोमैलोले शौचालय जीर्ण हुँदै छ । युवा उमेरबाट शौचालय रेखदेखको जिम्मेवारी सम्हालेकी सीता अहिले प्रौढ बनिसकिन् । चौराहाबाट करिब एक सय मिटर पूर्व नारायणगढतर्फ बायाँपट्टि रहेको शौचालय अगाडि सोमबार बिहान सीताकी छोरी कुर्सीमा बसिरहेकी थिइन् । एक महिनाअघि आमाको पत्थरीको शल्यक्रिया भएदेखि बिहानपख शौचालय रेखदेखमा सघाउँदै आएको छोरीले बताइन् ।
नजिकै यात्रु चढाउन र ओराल्न रोकिएका बसबाट यात्रु आएर शौचालय प्रयोग गरिरहेका थिए । बिहान ९ बजे सीता आइपुगिन् । त्यसपछि छोरी दीपनगरस्थित आफ्नो घरतर्फ लागिन् । ‘पत्थरीको अप्रेशन गरेको एक महिना भयो,’ शौचालयको भित्तामा अडेस लागेकी उनले भनिन्, ‘म बिरामी परेदेखि छोरीले बिहान चार बजे आएर शौचालय खोल्छिन् ।’ बिहान घरमा रोटी तरकारी पकाएर खाएपछि पैदल चौराहासम्म आएको उनले बताइन् ।
बुद्धनगरबाट हिड्दैं आउँदा आधा घण्टा लाग्छ । ‘बिहान खाएर आए, अब राति १० बजेसम्म यही बिताउँछु,’ उनले भनिन्, ‘शौचालय छ र, धन्न गरिखान मिलेको छ ।’ उनका अनुसार बिहान चार बजे आएपछि झाडुले सफा गर्नुपर्छ । त्यसपछि फिनेल छर्किनुपर्छ । कहिलेकाही चर्पी जाम भएका बेला एसिड हाल्नुपर्छ । यहाँ रहेका ड्रममा पानी भर्नुपर्छ । दुई दशकअघि यहाँ काम सुरु गर्दा पिसाब गरेको एक र दिसा गरेको दुई रुपैयाँ दर थियो । अहिले बढेर पिसाबको पाँच र दिसाको १० रुपैयाँ पुगेको छ ।
सीताका अनुसार दिनमा १ हजार पाँच सय रुपैयाँ हाराहारी कमाई भइरहेको छ । कमाइबाट दैनिक ४–५ बोतल फिनेल, हर्पिक, एसिड लगायत खरिद गर्नुपर्छ । तर, नगरपालिकाले सहयोग नगर्ने भएकाले आफैले खर्च गर्दै आएको उनले बताइन् । रक्तचापकी बिरामी उनलाई कोलस्ट्रोल बढेर सताउने गरेको छ ।









लेखकको सम्वन्धमा