May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

सिद्धबाबाः डीपीआर स्वीकृत छैन, सुरुङमार्गको काम भने धमाधम

भैरहवा– वर्षा याममा खस्ने पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रको यात्रा जोखिमपूर्ण हुन्छ । पहिरोले अहिलेसम्म कयौंको ज्यान लिएको छ, कति अंगभंग भएका छन् भने सवारी पनि पुरिएका छन् । यही खण्डलाई सहजता बनाउने भन्दै अहिले यहाँ सुरुङमार्ग निर्माणको काम चलिरहेको छ । तर, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत नै नहुँदै निर्माणको काम सुरुपछि चिन्ता बढेको छ ।

Advertisement

डीपीआर स्वीकृत नहुँदा काम हुँदा भोलिका दिनमा प्राविधिक समस्या आउन सक्ने विज्ञ बताउँछन् । नेपालमा ठूला र अर्बौंका योजनाहरुमा कयौं त्रुटि हुने गरेको छ । यहाँ पनि यस्तै त हुने होइन् भन्नेमा सर्वत्र चिन्ता र चासो छ । रुपन्देही र पाल्पाको सिमानामा सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको छ । वर्षौदेखि वर्षातमा पहिरोका कारण आवागमन अवरुद्ध हुन थालेपछि समाधानका लागि सुरङमार्ग निर्माण थालिएको हो । तर, सुरुङमार्ग आयोजनाको डीपीआर स्विकृत नहुँदैं धामधम काम भइरहेकाले सबैले चासो र चिन्ता व्यक्त गरेका छन् । जिम्मेवार निकाय भने मौन छ ।

सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ‘नर्थ पोर्टल’ तर्फ ‘रिब’ राखेर एङकरिङको काम गरिरहेको छ । सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख रामपुकार जयसवालका अनुसार सडक विभागका कर्मचारी र स्वीस सरकारका कन्सल्ट्याण्डबीच पार्ट पार्टको डिजाइन स्वीकृत गरेर काम अघि बढाएको छ ।

केही दिनदेखि ठूला फलामका पाइपलाई जोडेर एङकरिङको काम भइरहेको उनले बताए । उनका अनुसार सिद्धबाबा मन्दिर (पाल्पातर्फ) नजिकै भने डाइभर्सन र स्लोप कटिङ को काम भइरहेको छ । ‘अहिले दक्षिणतर्फको भागमा डिजाइन स्वीकृत भइसकेको छैन,’ उनले भने, ‘पूर्वतयारी मात्र गरेको हो । स्लोप कटिङ र धर्मशाला नजिक डायभर्सनको काम मात्रहुनेछ । स्वीकृत हुनासाथ धमाधम काम हुन्छ ।’

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पेश गरेको डिजाइनमा स्वीस सरकारको विकास सहयोगमार्फत् डिजाइन स्वीकृतका लागि सडक विभागले समन्वय गरेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर दीप बाराहीले बताए । स्वीस कन्सल्ट्याण्ट आइटिइसिओ–एएफ (इटिको–एएफ) ले यस क्ष्ँेत्रको भौगर्भिक अध्ययनपछि डिपिआर तयार गरेको थियो । सोही अनुसार नेपाल सरकारले बजेट सुनिश्चित गरेर ठेक्का लगाएको थियो ।

अध्ययन प्रतिवेदन अनुसार नै सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी ग्लोबल टेण्डर आव्हान गरिएको थियो । जसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्परेसनले पाएको हो । स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी) ले गरेको अध्ययन प्रतिवेदन अनुसार नै काम अघि बढ्ने सडक विभागले जनाएको छ ।

सिद्धबाबा क्षेत्रको अध्ययन गर्दा फिल्डको काम नेपालको प्लानेट टेष्ट कम्पनीले सघाएको थियो । उसले जिओ फिजिकल टेष्ट लगायत सुरुङमार्ग उपयुक्र्त हुन्छ÷हुन्न भन्ने वास्तविकता पत्ता लगाउन फिल्डमै अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो । पहाडभित्र कस्तो चट्टान छ भन्ने अध्ययनसमेत गरेको थियो । त्यसैको आधारमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर सरकारलाई बुझाएको हो ।

सडकको वर्तमान अवस्थाका विषयमा अध्ययन गरेको थियो । जनरल प्रोजेक्ट डाटा, रोड वर्क, हाइडलिक, रकसेड, टनेलको कामका विषयमा अध्ययन गरेको सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । जिष्टिक एण्ड टाइम सेडुवल, कस्ट र टेण्डरको समयका विषयमा इटिका–एएफले अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ । सिद्धबाबा सुरुङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का लगाइएको छ ।

भ्याटसहित ७ अर्ब ३४ करोड २१ लाखमा ठेक्का लागेको र ५८ करोड निर्माण व्यवसायीले पेश्की लगेको सिनियर डिभिजनल इन्जिनियर बाारहीले बताए । ठेक्का लागेको १४ महिनामा पूरा गर्नुपर्ने हुन्छ ।