वर्षौंदेखि चुहिँदै मायादेवी मन्दिर, जोखिममा प्राचीन भग्नावषेश


भैरहवा– लुम्बिनीस्थित मायादेवी मन्दिर चुहिएपछि यहाँ रहेका पुरातात्विक वस्तुहरु नासिँदै जाने खतरा बढेको छ । वर्खाको समयमा मन्दिर चुहिन थालेको वर्षौं भइसकेको छ । मर्मतसम्भार गर्दा समेत पानी चुहिन नरोकिएपछि प्राचीन संरचना मक्किने, ढुसी लाग्ने, खिइने, धुलो बन्ने गरेका छन् ।
लुम्बिनी विकास कोषको पुरातत्व महाशाखाका अनुसार मन्दिर चुहिन थालेको पाँच–छ वर्ष भयो । तर, कोषका योजना प्रमुख सरोज भट्टराईले भने पुनःनिर्माण गरेकै अर्को वर्षबाट मन्दिर चुहिन थालेको दावी गरे । उनका अनुसार मन्दिर चुहिन थालेको १८ वर्ष अघिदेखि हो । मायादेवी मन्दिर युनेस्को, पुरातत्व विभाग र विश्व सम्पदा केन्द्रले तयार पारेको मापदण्डलाई पालना गर्दै नेपाल इञ्जिनियरिङ संस्थान, कन्सल्टेन्सी सेवा पुलचोकले बनाएको डिजाइन अनुसार २०६० सालमा करिब ६ करोड लागतमा पुनःनिर्माण गरिएको थियो ।
यो बीचमा दुईपटक मन्दिरको छतलाई वाटरप्रूफिङ (पानी चुहिन नदिन प्रविधिको प्रयोग गरी मर्मत) गरिएको छ । तर, चुहिन रोकिएको छैन । विकास कोषले मन्दिर चुहिरहँदा त्यसको दीर्घकालीन समस्या समाधान गर्न भने सकेको छैन । मन्दिरभित्र लुम्बिनीको पहिचान दिलाउने अर्थात् बुद्ध जन्म स्मारक शिला (मार्क स्टोन), इशापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका इँटाका भग्नावषेशहरु, मायादेवीको मूर्तिलगायत महत्वपूर्ण प्राचीन वस्तुहरु छन् । वर्षौंदेखि पानी चुहिँदा यी प्राचीन संरचनाहरु भने क्षयिकरण हुँदै गएको कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले बताए ।
‘मन्दिर चुहिन थालेपछि दुईपटक मर्मत गर्यौ तर चुहिन रोकिएन’, पुरातत्व महाशाखा प्रमुख उप्रेतीले भने, ‘दर्जनौं ठाउँबाट पानी चुहिएकै कारण महत्वपूर्ण संरचना नासिने खतरा बढेको छ । हामीले फेरि मर्मतको तयारी गरिरहेका छौं ।’ मायादेवी मन्दिरकै कारण विश्वका बौद्धमार्गी, शान्तिप्रेमी लगायत स्वदेशी तथा विदेशी लाखौं पर्यटक लुम्बिनी आउँछन् । विश्व सम्पदास्थलमा पर्ने मायादेवी मन्दिरको गरिमा विश्व बजारमा निकै महत्वपूर्ण छ । बुद्ध जन्मस्थल लुम्बिनीको सबैभन्दा महत्वपूर्ण ठाउँ (केन्द्र) नै मायादेवी मन्दिर हो । ऐतिहासिक, प्राचीन र पुरातात्विक वस्तुहरु मन्दिर भित्र छन् ।

लुम्बिनी विकास कोषका अनुसार पुरानो मायादेवी मन्दिरलाई सन् १९९२ मा भत्काएर पुरातत्व विभाग, जापानको जापनिज बुद्धिष्ट फेडरेशन र लुम्बिनी विकास कोषले संयुक्त रुपमा उत्खनन् गरेका थिए । चार वर्षपछि उत्खनन् सकिएको थियो । उत्खनन्बाट बुद्ध जन्मिएको स्थानमा राखिएको ‘मार्क स्टोन’ पत्ता लागेको थियो । यहाँ सम्राट अशोकले मार्क स्टोन राख्न लगाएका हुन् । कोषकाअनुसार मन्दिर पुनःनिर्माण गर्दा विश्व सम्पदास्थलमा प्रयोग गरिने सुर्खी अर्थात् इँटाको धुलो र चुनको प्रयोग गरिए छ ।
पुरातात्विक सम्पदामा कंक्रिट र छड प्रयोग नगरिने भएकाले पनि मन्दिरको छत ढलानदेखि वालसम्म सुर्खी र चुन प्रयोग गरिएको हो । तर, प्राचीन राणाकालीन दुई सय वर्ष अघिको सुर्खी र चुनाको प्रयोग गर्दा मन्दिर बनाउने प्राविधिक भने त्यस प्रविधिको प्रयोगमा दक्ष थिएनन् । परिणामस्वरुप मन्दिर निर्माणमा प्रयोग गरिएका फलामका पाताहरु बङ्गीएका थिए । त्यसबेला बाङ्गीएका फलामका पातहरुलाई नटबोल्ट कसेर बनाइयो । वाटरप्रूफिङ नगरी फलामका पातामाथि दुई तह इँटा राखेर सुर्खी र चुनले ढलान गरिएको थियो । जसले गर्दा वर्षौदेखि वर्खा याममा दर्जनौं ठाउँबाट मन्दिर चुहिँदै आएको छ ।
‘त्यसबेला मन्दिर बनाउने प्राविधिकहरु (मिस्त्री) समयकालीन दक्ष थिए होला तर पूरानो प्रविधिका त्यति ज्ञाता नभएका हुन् की भन्ने हो’, कोषका योजना प्रमुख भट्टराईले भने, ‘यस्तै विविध कारणले पनि मन्दिर चुहिने भयो । पटक–पटकको प्रयासमा पनि मन्दिर चुहिनबाट रोक्न सकिएको छैन ।’ मन्दिरको छतमा फलामको एगंल र पाता बिछ्याएर त्यसमाथि दुई तहको इँटा राखेर माथिबाट सुर्खी र चुनाले ढलाइ गरिँदा बढी लोड भएर छत चुहिएको कुरा अध्ययनले यसअघि गरिको अध्ययनले देखाएको छ ।
मन्दिरमा प्रयोग गरिएको सुर्खी र चुनलाई झिकेर वाटरप्रुफिङ प्रबिधिबाट मर्मत गर्न सकिने भए पनि मायादेवी मन्दिरमा काम गर्न पुरातत्व विभाग, युनेस्को, विश्व सम्पदा केन्द्र लगायतका निकायको सहमती र सरहकार्यमा काम गर्नु पर्ने हुन्छ । त्यसैले कोषले पानी चुहिने समस्या समाधान गर्न पुरातत्व विभाग, युनेस्को लगायतको सहकार्यमा थाइल्याण्डको थाइपुङ्ग थाइ नामको संस्थासँग मन्दिरको मर्मत गर्न गत वर्ष नै सहमती गरेको थियो । तर, उक्त संस्थाले अझै काम सुरु गरेको छैन ।
‘हामीले चाहेर मात्रै भनेकाबेला मर्मतको काम गर्न सक्दैनौं । त्यसैले युनेस्को र पुरातत्व विभाग लगायतसँग सहकार्य गरिरहेका छौं’, कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) भने, ‘हामीले निर्माणको जिम्मा पाएको थाईपङु्ग थाइ संस्थासँग समन्वय गरिरहेका छौं, अब छिट्टै नै मर्मतको काम सुरु हुनेछ ।’ कोषले चाँडै नै काम सुरु हुन्छ भने पनि मर्मतको जिम्मा पाएको संस्थाले यसै समयबाट काम सुरु गर्छ भन्ने एकीन भएको छैन । कोषका एक कर्मचारी भन्छन्, ‘यति सानो काम समन्वय गर्ने निकायसँग सहकार्य गरेर कोष आफैले गरेको भए हुन्थ्यो तर विदेशी संस्थालाई दिइयो । उसले अल्मल्याएर राखेको छ । काम सुरु हुने ठेगान नै छैन ।’

ती कर्मचारीका अनुसार विकास कोषले पुरातत्व विभागका कारण मर्मतमा ढिलाइ भएको बताएको छ । पुरातत्व विभागले भने गत वर्ष नै मर्मतका लागि अनुमति दिएको थियो । विभागका महानिर्देशक दामोदर गौतम भन्छन्, ‘हामीले मर्मतका लागि स्वीकृति दिइसकेका छौं, हाम्रो कारण काम रोकिएको हैन ।’ लुम्बिनीमा बर्सेनि अर्बौं रुपैयाँ खर्चिएर पूर्वाधार विकासको काम भइरहेको छ । दश–बीस लाखमै मन्दिर मर्मतको काम गर्न सकिने अवस्था छ । तर, कोषले सानो रकममा हुने काममा पनि विदेशी दातृ संस्था गुहारेर मर्मतको काममा ढिलाई गरिरहेको पुरातत्व विभागका एक कर्मचारीले बताए ।
६ वर्ष अघि जापान सरकारको सहयोग र युनेस्कोको संयोजनमा इटालीका रसायनविद् कन्स्ट्रयांक किनो मियुसीले मायादेवी मन्दिर भित्र रहेका सम्पदा खिइँदै जान थाल्नुको कारणबारे अध्ययन–अनुसन्धान गरेका थिए । त्यसबेला मायादेवी मन्दिर रहेको स्थानको जमिनमुनिको पानीमा नुनको मात्रा भएको पाइएको थियो । त्यसपछि विकास कोषले मन्दिर परिसरमा रहेको जमिनको सतहको पानीको लेबल घटाउन मायादेवी मन्दिरको चारैतर्फ रहेका इनारहरुबाट पानी जम्मा गरेर बाहिर फाल्ने गर्दै आएको छ ।
‘यसबाट केही मात्रामा प्राचीन वस्तुहरु जोगाउन त सफल भइएको छ तर पानी चुहिँदा जोखिम भने झनै बढेको छ’, उप्रेतीले भने, ‘अब दीर्घकालीन समाधानको उपाय खोज्नैपर्छ । होइन् भने थप क्षति नहोला भन्न सकिँदैन ।’ उनका अनुसार पानी चुहिएकै कारण मन्दिरभित्र रहेका महत्वूर्ण पुरातात्विक संरचनाहरु टुक्रिएर धुलो बन्ने, खिइने, ढुसी लाग्ने गरेका छन् ।
मन्दिर चुहिएर महत्वपूर्ण संरचनाहरु नासिँदै जाँदा अहिलेसम्म के–कति क्षति भयो भन्ने बारे कसैले पनि खोजअनुसन्धान गरेका छैनन् । ‘यसबारे कुनै अनुसन्धान छैन, हामीले अब अध्ययन गर्ने तयारी गरिरहेका छौं’, महाशाखा प्रमुख उप्रेतीले भने । सरोकारवालाले भने बुद्ध जन्मिएको प्रमाणित गर्ने स्थलमै वर्षौदेखि भइरहेको क्षयिकरणले कतै लुम्बिनीमाथि नै जिम्मेवार निकायबाटै खेलाँची भएको त होइन् भन्ने प्रश्न तेर्सिएको बताएका छन् ।


लेखकको सम्वन्धमा