April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

‘समृद्धिको आधार’ पर्यटन क्षेत्र शिथिल

भैरहवा– यहाँका तराई–पहाडका आकर्षक गन्तव्यमा पाहुनाका लागि आवश्यक पूर्वाधार विकास गरेर पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्न सके लुम्बिनी प्रदेशले समृद्धि हासिल गर्न सक्ने धेरै आधार देखिएका छन् । प्रदेशमा विश्वस्तरीय पर्यटकीय केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी छ । यसैलाई केन्द्र मानेर प्रदेशमा पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

Advertisement

बुद्धलाई निकञ्ज तथा वनसित जोडेर यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउने विषयमा बहस भइरहेको छ । यहाँ लुम्बिनीका साथै बर्दिया, बाँके निकुञ्ज तथा ढोरपाटन शिकार आरक्ष छन् । त्यसबाहेक एक दर्जनभन्दा बढी धार्मिक गन्तव्य छन् । बाह्रैमास चहलपहल हुने यी गन्तव्य दुई वर्षयता सुनसान छन् । तत्काल बाह्य पर्यटक आउने सम्भावना देखिँदैन । कोरोना महामारीका कारण आन्तरिक पर्यटकको आवागमन समेत ठप्प छ ।

Advertisement

कोरोनाको पहिलो र दोस्रो लहरका बेला ठप्प पर्यटन क्षेत्र अहिले खुला गरिएको छ । स्वास्थ्य मापदण्ड पालना अनिवार्य गरेर खुला गरिए पनि पाहुना अभावमा होटल र रेष्टुरेन्ट सुनसान छन् । प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दिया र बाँके निकुञ्जलाई आजबाट पर्यटकका लागि खुला गरिएको छ । त्यसले दसँै, तिहारकाबेला आन्तरिक पर्यटक भ्रमणमा आउने र गन्तव्यबारे प्रचार हुने विश्वास गरिएको छ ।

लुम्बिनीमा आन्तरिक पर्यटक देखिन थालेका छन् । कोरोनाका कारण तेस्रो मुलुकबाट बौद्ध धर्मावलम्बी आएका छैनन् । मूल नाका बन्द रहेकाले भारतीय नागरिक भित्री बाटोबाट केही मात्रामा आइरहेका छन् । ‘लामो समय बन्द हुँदा पर्यटकीय स्थल शिथिल बने । अर्कातर्फ हामीले लुम्बिनीलाई केन्द्रमा राखेर सबै पर्यटकीय स्थललाई जोड्न सकेका छैनौं’, प्रस्तावित होटल एशोसियसन ठाकुरद्वाराका अध्यक्ष मोहन चौधरी भने, ‘सबै गन्तव्य जोड्न सक्यौं र विकास गर्यौ भने नागरिकको जीवनस्तर त उकासिन्छ प्रदेश समृद्ध बन्छ ।’

पर्यटकीय पूर्वाधार विकास, प्रवद्र्धन र प्रचारप्रसार गर्न नसकेको उनले बताए । ‘एकीकृतरुपमा विकास गर्न नसक्दा प्रदेशका धेरै पर्यटकीय गन्तव्यमा अझै पर्यटक पुग्न सकेका छैनन्,’ उनले भने, ‘अहिले त कोरोनाले सबै ठप्प छ ।’ लामो समयदेखि पर्यटन व्यावसायमा संलग्न चौधरीको भनाईलाई आधार मान्ने हो भने पनि प्रदेश भित्रका अधिकांश गन्तव्य पर्यटन पूर्वाधारबाट टाढा छन् । तिनको प्रचारप्रसार छैन । प्रवद्र्धनको काम ठप्प छ । लुम्बिनी सरकारले लुम्बिनी भ्रमण वर्ष–०७६ मनाएर प्रबद्र्धनका काम गरेको थियो । त्यो सोचेजस्तो प्रभावकारी हुनसकेन । नेपाल भ्रमण वर्ष २०२० कोरोना महामारीले रोकियो ।

लुम्बिनी भ्रमण वर्षमा बर्दिया निकुञ्ज लगायत प्रदेशका महत्वपूर्ण गन्तव्यको प्रबद्र्धनमा खासै चासो दिइएको थिएन । उक्त कार्यक्रम लुम्बिनी केन्द्रित थियो । हिन्दू धर्मावलम्बीको प्रमुख गन्तव्य मध्येको प्यूठानको स्वर्गद्वारीमा अहिलेसम्म न्युनतम पूर्वाधार विकास गरिएको छैन । साँघुरो र भिरालो सडकबाट हिउँदमा केही दर्शनार्थी पुगे पनि वर्खामा मुस्किल हुने गरेको छ ।

‘आवश्यक पूर्वाधार र सडक संजालले गर्दा यहाँ चाहेजति पर्यटक आउन सकेका छैनन्, सडक फराकिलो र पक्कि बनाउने हो भने दोब्बर पर्यटक भित्रिन्छन्’, मन्दिरका पुजारी बाबुराम न्यौपानेले भने, ‘कोरोना महामारीले गर्दा मन्दिर सुनसान छ ।’ कपिलवस्तुमा तिलौराकोट, रुपन्देहीमा बुद्ध मावली देवदह, पश्चिम नवलपरासीमा बुद्धको अस्तुधातु रहेको रामग्राम, कपिलवस्तुमा गोटीहवा, निग्लिहवाका साथै रुपन्देहीमा जितगढी किल्ला, मणिमुकुन्द उद्यान, गुल्मीमा रिडीधाम, रोल्पामा गुरिल्ला पदमार्ग, धारापानी र पाल्पा दरबार, गौमुखी, जगदीशपुर ताललगायत थुप्रै पवित्र धार्मिक तथा ऐतिहासिक सम्पदा छन् ।

लुम्बिनीमा पाल्पाको भैरवस्थान, गुल्मीको रिडी, अर्घाखाँचीको सुपादेउराली, चरिङ्गे दह, भोटेदह, चमेरे गुफा, बराह मन्दिर लगायतका पर्यटकीय गन्तब्य प्रशस्त छन् । यी गन्तव्यलाई लुम्बिनीसँग जोडेर यहाँ आउने पर्यटकलाई ती स्थान र त्यहाँ पुग्ने पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाउन सकेमात्रै पर्यटन क्षेत्रले फड्को मार्ने व्यवसायी बताउँछन् ।

‘सीमा नाका खोल्नुपर्छ, त्यसपछि पर्यटक लक्षित प्याकेज बनाएर प्रदेशका सबै गन्तव्यको प्रचार–प्रसारमा लाग्नुपर्छ’, सिद्धार्थ होटल एशोसिएसनका उपाध्यक्ष किशोर जोशीले भने, ‘नाका खुला नगर्दासम्म प्रचार गरेर मात्रै हुँदैन ।’ पर्यटन व्यवसायीले भारतमा अधिकांश नागरिकले खोप लगाएकाले उनीहरुको कोरोना परीक्षण रिपोर्ट र खोप कार्ड हेरेर भए पनि नेपाल प्रवेश दिनुपर्ने माग गरेका छन् । व्यवसायीले पटक–पटक नाका खोल्न आग्रह गर्दासमेत सरकारी पक्षले बेवास्ता गरेको आरोप लगाएका छन् । पर्यटन क्षेत्र चलायमान नबन्दा लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायमा गरिएको अर्बौं लगानी जोखिममा परेको छ ।

लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनी लुम्बिनी प्रदेशको मात्रै नभई मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो । बुद्ध जन्मस्थल भएकाले यहाँ धर्मावलम्बीसँगै विश्वभरिका शान्तिप्रेमी आउने गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र उत्कृष्ट स्थल मानिन्छ । गौतम बुद्धको बारेमा सबैकुरा थाहा पाउन यहाँ आएपछि सहजै सकिन्छ । लुम्बिनी सडक तथा हवाई मार्गबाट सहजै पुगिन्छ ।

विश्वभरका बौद्ध धर्मावलम्बीहरु एकपटक जसरी पनि लुम्बिनी पुग्नु पर्छ भन्ने मान्यताका साथ यहाँ घुम्न आउने गर्दछन् । कोरोना महामारी अघि यहाँ वार्षिक १६ लाखको हाराहारी आन्तरिक तथा बाह्य पर्यटक आउँथे । प्रदेश मुकाम बुटवलबाट ४० किलोमिटर दूरीमा लुम्बिनी पर्छ । यहाँ पवित्र मायादेवी मन्दिर, विभिन्न गुम्बा र बुद्ध मूर्ति देख्न सकिन्छ । पवित्र उद्यान भित्र बनेको केन्द्रिय नहरमा बोटिङको व्यवस्था छ । यहाँ आकर्षक बगैँचा समेत छ ।

बाह्रैमास बलिरहने शान्ति दीपले यहाँको वातावरणलाई झनै मनमोहक बनाएको छ । सरकारले लुम्बिनीको एकीकृत विकास गर्ने योजना अघि सारेको छ । बृहत्तर लुम्बिनीको एकीकृत विकासबाटै पर्यटक भित्र्याउने योजना बनाएको विकास कोषले जनाएको छ । लुम्बिनीको सामिप्यतामा गौतमबुद्ध विमानस्थल छ । यसले यात्रालाई अझै सहज बनाइदिएको छ । लुम्बिनी पुग्न चारैतर्फ फराकिला सडक छन् ।

स्वर्गद्वारी
धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी प्यूठान जिल्लामा पर्छ । यहाँ नपुग्ने हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुँदैन भन्ने विश्वास गरिन्छ । प्रदेश मुकाम बुटवलबाट करिब १८५ किलोमीटरको दूरी यात्रापछि पुग्न सकिन्छ । यो अग्लो लेकमा पर्छ । परापूर्वक कालमा ऋषिमुनिहरुले यसै ठाउँमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्र्वगद्वारी राखिएको किम्बदन्ती छ । यो नेपालकै पवित्र धामहरु मध्यको एक धाम पर्छ । यहाँ रहेका मठमन्दिरमा पूजाआजा गर्न श्रद्धालुको भीड लाग्छ ।

‘यहाँ आउने जो कोहीलाई स्वर्गद्वारी प्रभूका पाइला, गुफा र मठमन्दिरले मनै लोभ्याउँछ । यहाँबाट हिमशृङ्खला समेत देख्न सकिने भएकाले यो निकै महत्वपूर्ण क्षेत्र हो’, पुजारी तेजप्रसाद शर्माले भने । खासगरी यो धाम भारतीय पर्यटकको आकर्षक स्थल मानिन्छ । सडकमार्ग सहज भए यहाँ वार्षिक १० लाख पर्यटक भित्र्याउन सकिने बताइन्छ । महामारी अघि यहाँ आन्तरिक तथा बाह्य गरी करिब २ लाखको हाराहारीमा पर्यटक पुग्छन् ।

खासगरी बैशाख र कार्तिक पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्छ । यस्तै, प्यूठानमा प्रत्येक वर्ष माघ १ गते मेला लाग्ने अर्को धार्मिक स्थल गौमुखी पनि छ । यहाँ रहेको गुफामा नुहाउन धेरै पुग्छन् । यहाँ नुहाएर वर मागे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज
पर्या पर्यटन तथा जंगल सफारीका लागि महत्वपूर्ण मानिने बर्दिया निकुञ्ज लुम्बिनी प्रदेको सबैभन्दा ठूलो निकुञ्ज हो । बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको आकर्षण मानिन्छ । यहाँ कोरोना सुरु हुनु अघिल्लो वर्षमा मात्रै करिब ५० हजार पर्यटक पुगेका थिए । कर्णाली र बबई नदीको केही भाग यस निकुञ्जमा पर्छ । यहाँ ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरु भएको बताइन्छ ।

यस निकुञ्चमा पाटे बाघ, एक सिंगे गैंडा, जरायो, चित्तल, चितुवा, घोडगधा, लगुना, बाह्रसिङ्गे र जंगली हात्तीलगायत छन् । जलचरहरुमा घडियाल गोही, मगर गोही, सोंस र थरिथरीका माछा छन् । पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा सडक यातायतको प्रयोग गरेर जान सकिन्छ ।

‘जंगली जनावर हेर्न, चराचुरुङ्गीको आवाजसँग रमाउने विदेशीहरु विगतमा यहाँ बढी आउने गरेका छन्’, अध्यक्ष चौधरी भन्छन्, ‘सरकारले विशेष ध्यान दिने हो र लुम्बिनी आउने पर्यटकलाई एकपटक घुमाउन सक्ने हो भने यो निकुञ्ज नेपालकै मुख्य गन्तव्य बन्न सक्छ ।’ पर्यटकको बसाईँ लम्ब्याउन यो निकुञ्ज निकै महत्वपूर्ण मान्छि । यहाँ आउने पर्यटक कम्तिमा २ दुई दिन यतै भुल्छन् । ‘हामीले पर्यटकको बसाईँ थोरै भयो भन्छौं तर यो निकुञ्जको प्रबद्र्धनमा खासै ध्यान दिइएका छैनौं’, अध्यक्ष चौधरीले भने, ‘पर्यटकले नयाँ कुरा हेर्न खोज्छ, त्यसैअनुसारको आतिथ्यता चाहिन्छ, त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र यहाँका होटल उत्कृष्ट ठाउँ हुन् ।’

बाँके राष्ट्रिय निकुञ्ज
बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्ग किलोमीटर क्षेत्रमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा इकोसिष्टम, वनस्पति प्रजाति, विभिन्न प्रजातिका स्तनधारीहरु, विभिन्न प्रकारका चरा, माछा तथा सरीसृप तगायतका उभयचरहरु छन् । यो निकुञ्ज पर्या पर्यटन तथा एक पर्यटकीय स्थल हो । पूर्वमा शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्गमा रहेको निकुञ्जमा पाटेबाघ तथा हात्तीको बासस्थान पर्याप्त छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको यो निकुञ्जमा ठूला वन्यजन्तुहरुको बासस्थान समेत छ । यहाँ प्रचारप्रसारको अभावमा न्यून पर्यटक पुग्ने गरेका छन् । यदि सरकारले यहाँको प्रबद्र्धन गरी लुम्बिनी तथा अन्य निकुञ्ज र धार्मिक स्थलसँग जोडेर विकास गरेमा पर्यटक अधिक भित्र्याउन सकिने पर्यटन व्यवसायी बताउँछन् ।

रानीमहल
पाल्पामा रहेको रानीमहल नेपालको ताजमहल भनेर चिनिन्छ । सफा, स्वच्छ वातावरण र जताततै हरियालीले यहाँ पुग्ने जोकोहीको मनै लोभ्याउँछ । कालीगण्डकी र बराङ्दी नदीको संगमस्थलमा अवस्थित रानीमहलमा चल्ने सिरसिरे हावाले झनै आनन्द थपिदिन्छ । यहाँ खासगरी आन्तरिक पर्यटकको आकर्षण छ । पूर्वाधार अभाममा पर्यटक पुग्न सकेका छैनन् ।

चारैतिर पहाडले घेरिएको र नदीको किनारमा निर्मित यो रानीमहल भारतको ताजमहल भन्दा निकै राम्रो भएको दावी गरिन्छ । मानव निर्मित रानीमहल प्रकृतिले सजिएको सुन्दर बगैँचासरी छ । यो ठाउँमा प्रेमको प्रतीक पनि मान्छि । यसको नजिकै रहेको श्रीनगरले पनि पर्यटकको मन तान्ने गरेको छ । वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ्रे, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदि हिमालहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।