भूमिगत सिंचाई : छैन क्षेत्र विस्तार, झन खुम्चिँदै
भैरहवा- संरक्षण अभावमा रुपन्देहीमा दुई दशकमा मात्रै भूमिगत जल सिंचाई (डिप ट्यूबेल) लागि जडान गरिएका १६ वटा ट्रान्सफर्मर हराए । यसबाट मात्रै राज्यले करिब एक करोड बढी रुपैयाँ क्षति व्यहोर्नु परेको छ । यस्तै, ट्यूबेल संचालनका लागि आवश्यक प्यानल बोर्डभित्रका सामान र अन्य विद्युतीय उपकरणसमेत चोरी भएका छन् । यसबाट कति क्षति भयो तथ्यांक छैन ।
‘अधिकांश ट्यूबेल बस्तीदेखि निकै टाढा छन्, हामीले संरक्षण गर्न निकै समस्या हुन्छ । कर्मचारी पर्याप्त पुग्दैनन् । संरक्षणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । तर ट्यूबेल भएको ठाउँमा उपभोक्ता समितिले पालैपालो सुरक्षा नगर्दा धेरै ठाउँमा चोरी हुने समस्या आएको छ’, भैरहवा–लुम्बिनी भूमिगत जल सिंचाई व्यवस्थापन डिभिजन (भैलुभूज) का सूचना अधिकारी ई.मोहनकुमार नेपालले भने ।
विर्ता क्षेत्रमा रहेको ३१ नम्बर ट्युवेल २०५२ सालमा निर्माण भएको थियो । संरक्षण नहुँदा १५ वर्षमा यहाँका मात्रै दुई वटा ट्रान्सफर्मर हराइसकेका छन् । ‘उसबेला बस्तीदेखि धेरै टाढा थियो । हामी राति बस्न सक्दैन्थ्यौं । अहिले ट्यूबेल नजिक घरहरु पनि बनीसकेका छन् । त्यसैले अहिले उपभोक्त मिलेर हरेक दिन पालैपालो पहलेदारी गछौं, पछिल्लो तीन वर्षदेखि सामान हराउने समस्या छैन’, उपभोक्ता समिति कोषाध्यक्ष शंकरप्रसाद निषादले भने । खासगरी चोरी हुने समस्या लुम्बिनी क्षेत्रमा बढी छ । योसँगै, धकधई, मानपकडी, देवदह क्षेत्रमा पनि सामान चोरी हुँदै आएका छन् ।
रुपन्देहीमा ४० हजार हेक्टर जमिन सिंचित गर्ने उद्देश्यले २०३३ सालमा डिप ट्यूबेल (भूमिगत सिंचाई) निर्माण सुरु भयो । विश्व बैंकको दुई अर्ब ३९ करोड ९५ लाख रुपैयाँ ऋण अनुदानमा दुई दशक लगाएर एक सय ६९ वटा डिप ट्युवेल निर्माण गरियो । सुरुमा भूमिगत जलस्रोतबाट चालिस हजार हेक्टर जमिन सिंचाइ गर्र्ने लक्ष्य राखिए पनि आयोजना सम्पन्न हुँदा २० हजार हेक्टरमात्रै सिंचाई पुग्ने भयो ।
एक त लक्ष्यभन्दा आधा मात्रै सिंचाई भएको भूमिगत सिंचाई पछिल्ला वर्षहरुमा भने झन खस्कँदै छ । संरक्षण अभावमा सामानहरु चोरी हुने क्रमसमेत बढ्दो छ । २०३३ सालमा डिप ट्यूबेल सिंचाई आयोजना निर्माण सुरु भएको थियो । ०३३ मा सुरु भएको आयोजना २०५४ देखि ०५८ सालसम्म निर्माण सम्पन्न गरी जल उपभोक्ता समिति गठन गरेर हस्तान्तरण गरिएको ।
उपभोक्ता समितिलाई हस्तान्तरण गरेको वर्ष २०५८ मै नेपाल सरकारलाई आयोजनाले डिप ट्यूबेल हस्तान्तरण गरेको हो । निर्माण सम्पन्नपछि संरक्षण र व्यवस्थापनको जिम्मा उपभोक्ता समितिले छेर्ह भने मर्मत संहार र क्षेत्र बिस्तारको काम भैलुभूजले गर्र्दै आएको छ ।
निर्माणपछि त्यसको केही वर्ष ट्यूबेल सिंचाई राम्रै भयो । तर, क्षेत्र विस्तार र मर्मत सम्भार नहुँदा अर्बौंको सिंचाई आयोजना खुम्चिँदै गएको छ । रुपन्देहीमा ८३ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये सुरुमा २० हजार हेक्टर जमिन सिंचाई डिप ट्यूबेलले भएकामा अहिले घटेर १३ हजारमा सीमित भएको छ ।
‘मर्मतसम्भारका लागि पर्याप्त बजेट नहुँदा ट्यूबेल विग्रीएका छन् । कतिपय मर्मत गरे पनि बर्षौ अघिमा ट्यूबेल निर्माण गर्न केही कठिनाई भइरहेको छ’, भैलोभूजका सूचना अधिकारी नेपालले भने, ‘चालु आर्थिक वर्षमा त मर्मतसम्भारका लागि एक रुपैयाँ पनि बजेट आएन । यसले गर्दा पुनःनिर्माण गर्न सकिएको छैन ।’
नहर र पाइपलाइनबाट डिप ट्यूबेल सिंचाई हुँदै आएको छ । भूमिगत जलस्रोत सिंचाइ अन्य सिंचाई व्यवस्थाको तुलनामा निकै उपयुक्त मानिन्छ । ठूल्ठूला नहरकै कारण खेत ढुबान र कटान हुँदैन, यसमा अन्य सिंचाई प्रविधिमा जस्तो पानी नोक्सान हुँदैन भने अर्कातर्फ जुनसुकै सिजनमा समेत सिंचाई गर्न सकिन्छ । जसले गर्दा उत्पादन बढ्न जान्छ । यही उद्देश्यले नै आयोजना सुरु गरिएको हो । तर १ सय ६९ ट्यूबेलमध्ये अहिले पर्सा–लुम्बिनी, देवदह, मानपकडीलगायत क्षेत्रका ४४ वटा बन्द छन् । भवनहरु भत्किएका छन् । महत्वपूर्ण उपकरण कामै नलाग्ने भएका छन् ।
‘बन्द संरचनाका प्यानल बोर्ड, ट्रान्सफर्मर, भवन काम लाग्ने छैनन् । संचालन ल्याउन चाहेमा पुनः निर्माण गर्नैपर्छ’, नेपालले भने । संचालनमा नआएका अधिकांश ट्यूबेल बन्द भएको एक दशकभन्दा बढी समय भइसक्यो । क्षेत्र विस्तार त परको कुरा बन्द ट्यूबेल पुनः संचालनको योजना नै छैन ।
दक्ष जनशक्ति नहुँदा र बजेट अभावमा समयमै मर्मतसम्भार हुँदैन । बन्द ट्यूबेल लामो समय संचालन नआउँदा कृषकले सिंचाईका लागि अन्य विकल्पसमेत खोज्न थालेको कृषि सिंचाई इन्जिनियर जितेन्द्र साहनीले बताए ।
‘लामो समय ट्यूबेल संचालनमा नआएपछि कृषकहरु निरास भएर विकल्प खोज्न थालेका हुन् । मंहगोमा आफैले बोरिङ गाडीरहेका छन्, यसले कृषकको लागत र उत्पादन बराबर जस्तो हुने गरेको छ । यसलै डिप ट्यूबेल पुनर्निर्माण गर्न ढिला गर्नु हुँदैन । होइन भने भोलिका दिनमा कृषक सिंचाईका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था आउन सक्छ’, साहनीले भने ।
दशकदेखि सिंचाईका लागि बनेका ट्यूबेल बन्द हुँदा र पुनः संचालनमा नआउँदा कृषक चिन्तित छन् । ‘खेतीपातीमा सिंचाई गर्न ठप्प छ । आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । सुरुमा ट्यूबल बन्दा खुब खुशी थियौं छोटो समयमै खुशी निरासामा बदलियो । त्यसैले सरकारले तुरुन्त बन्द ट्यूबेल संचालनमा ल्याउनुपर्छ’, सिलौटियाका किसान महेश यादवले ।
सिंचाई नपाउँदा उत्पादन घटिरहेको समेत कृषकले गुनासो गर्दै आएका छन् । सामान्यता एउटा डिप ट्यूबेलकोे संचालन अवधि २० वर्ष हो । तर ४० वर्ष पुग्दासम्म चलिरहेका ट्यूबेल कुनबेला बन्द हुन्छन् भन्ने एकीन छैन । कृषकले सामान चोरी नियन्त्र गरी सरकारले अब पर्याप्त बजेट उपलब्ध गराएर बन्द डिप ट्यूबेल संचालन र पुराना पुनर्निर्माण गर्नुपर्ने कृषकको माग छ ।
खासगरी सिंचाई खुम्चिँदै जाँदा हिउँदमा र वेमौसमी खेती गर्न किसानलाई समस्या छ । जिल्लाका कयौं ठाउँमा बेमौसमी अन्नवाली र तरकारी खेती हुन्छ । तर, पर्याप्त सिंचाई नहुँदा किसानमा निराशा थपिँदै गएको यादवले जनाए । ‘वर्षामा त पानी पर्छ, खास समस्या भनेको हिउँदमा हुन्छ । यसैले सबै ट्यूबेल मर्मत गरी क्षेत्र विस्तार गर्नुपर्छ’, उनले भने ।
लेखकको सम्वन्धमा