June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

भिडियो कल

Advertisement

अपराह्नको ४ बज्दै थियो म आफ्ना कामहरू सकेर हतार-हतार खाजा घरमा छिरें । एक घण्टा अगाडि बाटै आन्द्राले भोक लागेको सन्देश मस्तिष्कमा पठाउँदा पनि कार्य व्यस्तताले बल्ल फुर्सद पाएको थिएँ ।

Advertisement

कहिलेकाहीं साथीहरूसँग जाने होटेल थियो जुन गुरुङ प्रोप्राइटर रहेको त्यस होटेलमा सुकुटी खाजा सेट मुख्य खाजा थियो भने अन्य परिकारहरू पनि अर्डर बमोजिम लगभग सबै बन्दथे । हँसिली स्वभावकी साहुनीले खानेकुरा सर्भ गर्दा मुस्कुराउन कहिल्यै बिर्सन्न थी, मानौं उनले यति नगरिदिँदा उसको काम अपुरो नै हुन्छ ।

मैले उनै हँसिली साहुनीसँग एक हाफ् सुकुटी खाजा अर्डर गरें र मोबाइलको स्क्रीन स्क्रोलिङ गर्दै खाजाको पर्खाइमा बसें ।

करीब दश मिनेटपछि मेरो खाजा आइपुग्यो । जसै खाजा मेरो टेबलमा आइपुग्यो काउन्टरमा एउटी युवती उभिएकी देखें जसले मलाई खाजा सर्भ गर्न आएकी साहुनीलाई पर्खिएकी थिई, हामी भएतिर छड्के नजर दिएर । मैले तपाईँको कस्टमर आउनुभयो भनेर ओठले इशारा गर्दिएँ साहुनीलाई ।

मेरो भोको पेटले आफ्नो अगाडि आएको त्यो खाजा दाँतको चपाउने गतिभन्दा छिटो माग्न थालेको थियो । मस्तिष्कको इशारामा मेरो दाहिने हातले त्यसै गर्न थाल्यो । यसै त सुकुटी त्यही माथि आगोको सेकाइ कम परेको रहेछ त्यो दिन । चपाउँदा खेरि दाँत नै दुख्न र पट्टाउन थाल्यो । मैले चपाउनुको साटो एउटा मात्र विकल्प देखें निल्ने । प्लेटमा अरू धेरै सुकुटीहरू बाँकी थिए तर मेरो च्यापु थाकिसकेका थिए ।

यत्तिकैमा उनै काउन्टरमा उभिएकी युवती दुई खिल्ली चुरोट र सिग्नेचर क्वार्टरको पुरानो खाली सिसीमा बाँधिएको लाइटर लिएर मभन्दा एक टेबल अगाडि आएर बसिन् । वेटर भाइलाई ठीक आफ्नो टाउकाको सिधा माथि रहेको फ्यान अन गर्न इशारा गरिन् । अनि एउटा कोक लिएर आउन अनुरोध गरिन् ।

अघिसम्म प्लेटमा ध्यान दिइरहेका मेरा आँखाहरूले अब भने ती युवतीलाई पछ्याउन खोजे । यसरी उनलाई हेरेको थिएँ । प्रतिउत्तरमा उनले पनि मलाई त्यसरी नै हेरिन् निःसङ्कोच तर मलाई आँखा जुधाउन गाह्रो भयो । किनकि पहिलो नजर मेरो थियो कुनै अपरिचितलाई बिना कुनै काम सिधा आँखाले हेर्नु नैतिकताले राम्रो मानिंदैन । अझै यो कुरा नेपालमा त कानूनमा पनि व्याख्या गरिएको छ । मैले छिट्टै आफ्नो आँखालाई त्यही चाम्रो सुकुटीको प्लेटमा पुनः केन्द्रित गराएँ । उनलाई त्यति चासो नदिएको जस्तो नेचुरल एक्टिङ गरें । उनी निडर देखिन्थिन् । शायद उनलाई यस्तो कुराको मतलब नहोला । कसले हेर्‍यो, कसले हेर्ला, कसले हेर्छ । उनले यसलाई सामान्य लिए जस्तो गरी ।

म चाम्रो सुकुटी चपाउँदै मोबाइलको स्क्रीन स्क्रोलिङ गर्दै थिएँ । एक्कासि उनी उठेर म भएतिर आइरहेको देखें । म नर्भस भएँ र  उनीतिर केन्द्रित भएँ, “एक्सक्युज् मी, तपाईंकोमा यहाँको वाइफाइ कनेक्ट छ होला मलाई स्क्यान गर्न दिनू न !”

“पख्नु है,” भन्दै उनलाई वाइफाइ क्यु आर् स्क्यान गर्न दिएँ ! शायद म हडबडाएको थिएँ ।

कालो जिन्स, कालो टिसर्ट माथि कालै ज्याकेट लगाएकी उनको कानमा ठूलाठूला इयररिङ थिए । खाइलाग्दो देखिने जीउडाल, वास्तवमा औषत युवती भन्दा मोटी नै लाग्ने उनको शरीर अनि चब्बि अनुहार देखेर मलाई एक किसिमको तरङ्गको महसूस भयो ।

“खै लिनै मान्दैन त स्क्यान के भएको होला है छ्या,” उनले आँखिभौं खुम्च्याउँदै निराशाको भाषा बोली । मैले उनको फोन मागेर क्यामेरामा रहेको दाग न्याप्किनले पुछेर स्क्यान गरिदिएँ । यही मौकामा मैले उनको फोनमा चलिरहेको रनिङ एप्समा फेसबूक देखें । एक क्लिकमा उनको प्रोफाइल पनि हेरें शायद यो काम मैले मिलिसेकेन्डमा गर्न भ्याएको थिएँ ।

उनको फेसबूक नाम र प्रोफाइल पिक्चरको एक झल्को पाउने बित्तिकै मैले उनलाई वाइफाइ कनेक्ट भयो भनेर फोन थम्याएँ । उनले “थ्याङ्कयु” भनेर त्यही अघिकै टेबलमा बसेर चुरोट सल्काई ।

म वास्ता नगरे झैं गरी खाजा खाइरहेँ । कोकको घुट्किसँग उनले एकैछिनमा एक खिल्ली चुरोट सक्काई । एक्स्ट्रेमा फिल्टर थन्काएको देखें । तर पनि नदेखे झैँ गरेँ ।

त्यति गर्दागर्दै पनि आँखा भने जुधिहाल्यो । उनी हल्का मुस्कुराए झैं गरी ।

एकैछिनमा उनी त्यहाँबाट उठी र होटेलबाट बाहिरिई । उनी त्यहाँबाट बाहिरिए पनि मैले उनलाई अब फेसबूकमा भित्र्याउन खोजें । फेसबूक खोलेर उनको नाम सर्च गरें उही नामका धेरै एकाउन्टहरू भेटिंदै गर्दा मैले उनको प्रोफाइल हेरेर एकाउन्ट पहिल्याएँ ।

कालो मिनिस्कर्ट लगाएर ठीक अनुहार छोपिने गरी मोबाइलले मिरर सेल्फी लिएको प्रोफाइल फोटो राखेकी उनको अन्य तस्वीर नियाल्न एल्बममा क्लिक गरें । त्यही अनुहार छोपिएको एउटा प्रोफाइल फोटो मात्र हेर्न मिल्ने रहेछ उनको प्रोफाइलमा अरूले ।

मैले फ्रेन्ड रिक्वेस्ट पठाएँ केही समयपछि मेरो फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट भयो । मैले उनका एल्बममा क्लिक गरें साथी हुनुअगाडि गोपनीयता सेटिङका कारण फोटो नदेखिएको होला । अब साथी बनिसकेपछि त देखिन्छन् भन्ने हेतुले एल्बम क्लिक गरेको थिएँ तर त्यहाँ अन्य कुनै पनि फोटाहरू थिएनन् मात्र उनको सिङ्गल प्रोफाइल फोटो थियो त्यो पनि अनुहार छोपिएको मिरर सेल्फी । मैले खासै मतलब गरिनँ फोटो हाल्ने नहाल्ने नित्तान्त व्यक्तिगत कुरा हो, उनको एकाउन्ट उनको मर्जी ।

त्यही साँझ फेसबूकमा उनको एउटा स्टोरी अपडेट भएको देखें । कस्तो फोटो हालिछिन् भनेर क्लिक गरें स्टोरी खुल्यो जसमा कुनै फोटा थिएनन् तर टेक्स्ट वाला पोस्ट थियो, जसमा रङ्गिन ब्याकग्राउन्डमा लेखिएको थियो-

इट्स भि.सी. टाइम, भि.सी : १ हजार रुपियाँ । डेमो : ५ सय रुपियाँ । भिडियो : २ सय रुपियाँ । फोटो : १ सय रुपियाँ । -sahityapost