कविताः एलिना चौहान


आफैँले किनेको जुत्ता खुट्टा दुखायो भनेर के गुनासो गर्नु रे
आफैँले किनेको भएरै त गुनासो छ
म कहाँ चुकें, जान्नु जरुरी छ
मन परेको जुत्ता दिनहुँ त्यही लाए
गर्मीमा पसिना कत्ति आयो आयो
ती मेरा सुकुमार खुट्टा छाला पोलुन्जेल धोई सुकाएँ
मन परेको जुत्ता जाडोमा पनि लगाएँ
नीला भई औँला सुन्निए तर छोडिनँ
आफैँले मन पराएर किनेको जो थियो !
अनि सोचेँ, गल्ती कहाँनेर भयो
मेरो खुट्टै बान्की नपरेको पो हो कि !
खुट्टो बान्की नपरे पनि मेरो हो कसरी त्यागौ
मेरो बाबा-आमाले बनाई दिएका खुट्टा
बाबासँग रेस खेल्दा बाबालाई जितेका खुट्टा
अति जुत्ता फेर्नुभन्दा अरु उपाय देखिनँ
जुत्ता किन्न जाँदा जाडो, गर्मी, हिँड्दा दुख्ने
कहाँ जाँच्न पाइयो र ?
जाडो भए बाक्लो मोजा लाउँला
गर्मी भए उसैगरी एक मौसम सहिदिउँला
अर्को गर्मी त खुट्टो बानी पर्ला नि !
अनि दुखाए, तुनो खुकुलो पारौँला
औँलो खाए प्लास्टर हालौँला
मन परेको जुत्तो नलाई त नछोडौँला !
तर कसै गर्दा भएन
औँलाभरि ठेउका
कहिले जाडोले भुक्क फुलेका
कहिले पसिनाले गन्हाएका
आफ्नो खुट्टो आफ्नै नरहेपछि
मेरो अस्तित्व र “म” नै खतम भएपछि
त्यो जुत्तोको के काम !
त्यो त, जाबो जुत्ता न हो !
मेरोजस्तो उदार मन कहाँ रहेछ
एकै ठाउँ पिल्सिएको पिल्स्याई गर्दोरहेछ
सहनै सकिनँ मैले अनि मिल्काई दिएँ त्यो जुत्तो
अब औँलो फैलाएर टेकेकी छु
दुख्ने डरै छैन
कहिले आफ्नै काखमा राखी मलम लाउँछु
त्यो फोहोरी जुत्तोले मलाई अब फोहोर बनाउन सक्दैन ।
-sahityapost








प्रतिकृया दिनुहोस्