June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

बुटबल–नारायणगढ सडकको म्याद थप, थपिएको समयमा पनि निर्माण सकिनेमा आशंका

भैरहवा– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटबल–नारायणगढ खण्ड बिस्तारको म्याद एक वर्ष थप गरिएको छ । ठेकेदारले कामलाई तिब्रता नदिँदा सडकको बिजोग रहेका बेला सरकारले म्याद थप्ने निर्णय गरेको हो । सुरुवाती ठेक्का सम्झौंता अनुसार २०७८ साउन २२ मा सडक निर्माण पूरा भइसक्नु पर्ने हो ।

Advertisement

सडक बिस्तार पूरा नभएपछि यस खण्डको दोस्रोपटक म्याद थप गरिएको छ । आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक चुडा ढकालले निर्माण कम्पनीको म्याद थप गरिएको जानकारी दिए । उनका अनुसार बुटबल–नारायणगढ अन्तर्गत पश्चिम खण्डको म्याद तीन सय ५० दिन थप भएको र पूर्वी खण्डको म्याद तीन सय ३० दिन थप गर्न लागिएको हो ।

Advertisement

‘अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौं’, उनले भने, ‘हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ ।’

उनका अनुसार उक्त सडकको पश्चिम खण्डको म्याद ६ अगस्टमा सकिएको थियो । उक्त खण्डको म्याद थप भइसकेको छ । पूर्वी खण्डको म्याद २८ अगस्टमा सकिने छ । पूर्वी खण्डको म्याद थप्ने प्रक्रिया अगाडि बढाइएको छ । ‘निर्माण कम्पनीले सडक विस्तारको काम छिटो सम्पन्न गर्नका लागि ठूलो अक्स्पाल्ट प्लान्ट (कालोपत्र गर्ने उपकरण) भित्र्याउँदैछ, केही दिनमा कस्टम क्लियर (भन्सार जाँच) भएर नेपाल भित्रिन्छ’, उनले भने, ‘त्यसपछि काम छिटो हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ ।’

अहिले काम गरिरहेको ठेकेदारलाई खेदेर अर्को ठेक्का लगाउँदा सडकको काम अझै चार–पाँच वर्ष पछाडि धकेलिने भएकाले यसैको ठेक्का थप गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । निर्माण व्यवसायीले दुई वर्ष म्याद थप गर्न निवेदन दिएकोमा आफूहरुको दुई महिनासम्मको छलफलपछि करिब एक वर्ष म्याद थपको निर्णय गरिएको उनको भनाइ छ ।

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह व्यवस्थापक राकेश झाका अनुसार अहिले दुवै खण्डमा गरी करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ । एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विस्तारको काम भइरहेको एक सय १४ किलोमिटर सडकमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर र पश्चिम खण्डमा ४९ किलोमिटर सडक पर्दछ ।

उनका अनुसार पूर्वी खण्डमा हाल ४० प्रतिशत र पश्चिम खण्डमा ३६ प्रतिशत भौतिक प्रगति भएको छ । स्थानीयस्तरमा भने कामै नगर्ने ठेकेदारको म्याद थप मात्रै गरिएको भन्दै विरोध भइरहेको छ । अहिले यो खण्डमा यात्रुलाई यात्रा गर्न निकै सास्ती छ । खाल्डाखुल्डीले दुई घण्टाको यात्रा गर्न ६ घण्टा लाग्ने गरेको छ । दुबैतर्फ गरेर बल्ल ३८ प्रतिशत काम भएकाले बाँकी काम एक वर्षमा सक्न ठेकेदारलाई कठिन छ । त्यसैले म्याद मात्रै थप्नु भन्दा ठेकेदारलाई कारबाही गर्नुपर्ने स्थानीय बताउँछन् ।