April 30, 2024, Tuesday
१८ बैशाख २०८१, मंगलवार

बुद्धका कालजयी उपदेश र शिक्षालाई पाठ्यक्रममा समावेश गरौं : राष्ट्रपति

लुम्बिनी– राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक रुपमा विकास भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालयदेखि विश्वविद्यालयसम्म समावेश गर्दै समयसापेक्ष बनाउनुपर्ने बताएकी छन् । उनले बुद्धका कालजयी उपदेश र शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न नेपालका सबै विश्वविद्यालयलाई सुझाव दिइन् ।

Advertisement

बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सव तथा केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राज्ञिक विकासको पूर्व शर्त विश्वविद्यालयहरुको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता नै भएको उल्लेख गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको ऐनको प्रस्तावना बमोजिम आफ्ना लक्ष्य र उद्देश्यलाई ओझेलमा नपारी देश र विदेशका विद्यार्थी एवं अनुसनधानकर्तालाई आकर्षित गर्न ध्यान दिनुपर्ने जनाइन् ।

Advertisement

‘उच्च शिक्षाका लागि विदेशजाने परम्परा रोक्न उच्च शिक्षामा लगानी वृद्धि गरी वैज्ञानिक शिक्षा प्रणाली लगानी गर्नुुपर्ने हुन्छ’, उनले भनिन्, ‘शैक्षिक प्रतिष्ठानहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो बनिरहेका छन् भन्ने कुरालाई गलत सावित गर्न सम्बन्धित निकायले त्यसतर्फ गम्भिरतापूर्वक ध्यान पुराउन पर्छ ।’

गौतमबुद्धको ज्ञान र शिक्षाको उपयोगबाट नै विद्यमान तिव्र स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न सकिने जनाइन् । बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्न अंगको रुपमा जोडिएको पाइने बताउँदै उनले मानवताका लागि बुद्धद्वारा प्रतिपादित दर्शन र ज्ञान र विचारले सम्पूर्ण जगतकै शान्तिका लागि मार्गदर्शन गरेको बताइन् ।

गौतमबुद्धद्वारा पर्वर्तित, सामहिकता र मानवप्रेमको भावना जागृत गराउन सकेमात्र समाजमा दिगो शान्ति कायम गर्न सकिने उनको भनाई छ । साथै उनले लुम्बिनी गुरुयोजना सम्पन्न पछि लुम्बिनी सांस्कृतिक सहरको रुपमा विकास हुने र मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने बताइन् । राष्ट्रपति भण्डारीले गुरुयोजना निर्माणमा भईरहेको ढिलाईको कारण खोजी गरि त्यसको समाधान गर्न पनि आग्रह गरिन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुद्ध दर्शन नेपालकै माटोमा उब्जिएको दर्शन भएकाले नेपालीहरु बुद्धदर्शनमा जानकार हुनुपर्ने बताए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले लुम्बिनी बौद्धविश्वविद्यालयलाई अनुसन्धनात्मक विश्वविद्यालयको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले अनुसन्धान कार्यलाई शिक्षाको अभिन्न अंग बनाउनुपर्ने भन्दै त्यसका लागि सरकारले सहयोग गरिरहेको बताए ।

नेकपा एमाल उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनीको गुरुयोजनाका लागि बजेट व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । उनले आफू अर्थमन्त्री रहेकै वखत यसअघिको सरकारले ७ अर्ब ३३ करोड बजेट विनियोजन गरेको उल्लेख गर्दै पौडेलले लुम्बिनी गुरुयोजनाको बाँकी रहेको कामको लागि आवश्यक सबै बजेट उपलब्ध गराउन आग्रह गरे । संसारका गुरुयोजनाहरुमध्ये लुम्बिनी गुरुयोजना सबैभन्दा उत्कृष्ट भएको उल्लेख गर्दै गुरुयोजना सम्पन्न हुंदा लुम्बिनीको मात्र नभई मुलुकको समृद्धिका लागि साधक बन्ने बताए ।

पौडेलले लुम्बिनीमात्र नभई लुम्बिनी बुद्धसंग जोडिएका तिलौराकोट, देवदह, रामग्राम समेतलाई जोडेर वृहत लुम्बिनी गुरुयोजना निर्माण गर्नुपर्ने बताए । उनले लुम्बिनी संसारका करोडौं बौद्धमार्गिहरुको आस्थाको केन्द्र भएको उल्लेख गर्दै भारतले गर्दै आएको लुम्बिनीको बारेमा भ्रम फैलाउने कार्यप्रति आपत्ति प्रकट गरे ।

राष्ट्रपतिले भण्डारीले ९ करोड २० लाखको लागतमा विश्वविद्यालय निर्माण गरेको केन्द्रीय पुस्तकालय भवन उद्घाटन गर्नुुभएको थियो । विश्वविद्यालयका अनुसार तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ–लाइब्रेरी, पुस्तक कक्ष, आइटी कक्ष, भिडियो कन्फ्रेन्स कक्ष र पाँच सय क्षमताको सभाहल छन् । यस्तै, राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका ६ वटा पुस्तकको लोकार्पणसमेत गर्नुुभएको थियो ।