May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

सवारीसहित १२ लाखको अवैध सामान बरामद

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी कार्यालयले भारतबाट भन्सार छलेर नेपाल भित्राउँदै गरेको झण्डै १२ लाख रुपैयाँ मूल्य वरावरका विभिन्न सामान र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन समेत बरामद गरेका छन् ।

Advertisement

बरामद भएका सामानमा तयारी कपडा, साडी, सूर्तिजन्य पदार्थ, सावुन, सरफ लगायतका किराना सामाग्री छन् । भन्सार छली गरेका सामान ढुवानीमा प्रयोग भएका दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि प्रहरीले बरामद गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बिभिन्न स्थानहरुबाट महिलाले लगाउने भित्री बस्त्र १ हजार ६ सय ८० थान, कुर्ता सुरुवाल १ सय ७९ थान, साडी ११ थान, चप्पल ४७ जोर, फ्रिजको ग्यास १७ थान, भेटेनरी औषधि १ सय २० थान, चिनी १ बोरा, पान मसला, सूर्ति, कमला पसन्द लगायतका सामान गरी जम्मा अन्दाजी ९ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाइपास चोकबाट साडी १३ थान, कुर्ता सुरुवाल २ थान, सर्टको कपडा २ थान र पाइन्टको कपडा ३ थान गरी करिव ५० हजार रुपैयाँ मूल्यको बरामद गरेको हो ।

प्रहरी चौकी, मैनिहवा र पाण्डेपिप्रहवाबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानबाट तन्न्ना १४ थान, साडी १२ थान, सरफ ५८ वटा, स्प्राइट र कोक ६३ बोतल, मिठाई १७ प्याकेट, साबुन, सुपारी, मेहेन्दी, कोलगेट, तरकारी लगायत किराना सामान करिब ७० हजार मूल्य बराबरको बरामद गरेको छ ।

साथै ती सामानको साथमा लु १२ प २११७ र लु ३ प ५६७९ नम्बरको मोटरसाइकल र लु ६ प ६९४४ नम्बरको स्कुटर पनि नियन्त्रणमा लिएका छन् । जसको मूल्य १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ ।

बरामद भएका सवै सामान र सवारी साधन भैरहवा भन्सार कार्यालयमा बुझाइएको रुपन्देही प्रहरी प्रबक्ता तथा डीएसपी मनोहरप्रसाद भट्टले बताए ।